सूचनाको शक्ति - The Power Of Information

        

पिकनिकमा गएका प्राध्यापकहरुले रक्सी खाएर कुटाकुट गरेपछि…

कैलालीको खानीडाँडामा पिकनिक गएका प्राध्यापकहरुको लफडा भएपछि कुरो प्रहरीसम्मै पुगेको छ । जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरु हिजो (शनिबार) खानीडाँडा पिकनिकमा गएका थिए । सोही क्रममा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा चार जनाविरुद्ध उजुरी गरेका छन् ।

त्यहाँका डीएसपी दिपेन्द्र पालका अनुसार उनीहरू सबैलाई आज बिहान १० बजे प्रहरी कार्यालयमा बोलाइएको छ । पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको बताइएको छ । घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाइरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए । बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बढुवा तथा करारमा रहेकाहरू स्थायी भएको खुसियालीमा उनीहरू पिकनिक गएका थिए ।

सोही कार्यक्रममा प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपसमा विवाद भएको हो । बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार ०८:५६

लोकप्रिय