२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday
साहित्य

कविता : चनाखो बनिरहनु

सत्यपाटीसत्यपाटी । साहित्यकार । २०८१ जेठ ५ गते शनिबार

फकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु,
बहकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु,

जननीको त्याग तपस्यालाई जीउनीसँग दाँजेर हेर्नेले,
सिकाउँछन् धृष्टता अरूलाई पनि चनाखो बनिरहनु,

आदर्शको शब्दजालले सञ्जाल रंगिन बनाउन जान्नेले,
बनाउँछन् मजाक कसैलाई पनि चनाखो बनिरहनु,

स्वाभिमानलाई गिराएर कर्तब्यको दिनहुँ हत्या गर्नेले,
भजाउँछन् आत्मीय सम्बन्धलाई पनि चनाखो बनिरहनु,

पराईको सल्लाह मागी आफ्नैलाई तोड्न तम्सिनेले,
फुटाउँछन् एकदिन तिम्रालाई पनि चनाखो बनिरहनु,

साक्षी बनाई बिपक्षीको तिमीलाई राख्न खोज्नेले,
जुटाउँछन् तिम्रै विरूद्धमा पनि चनाखो बनिरहनु,

स्वबिवेकको प्रयोग बेगर कौवाको पछि दौडनेले,
कुदाउलान् बेअर्थमा तिमीलाई पनि चनाखो बनिरहनु ।

फकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु,
बहकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु ।

प्रकाशित मिति : २०८१ जेठ ५ गते शनिबार