सूचनाको शक्ति - The Power Of Information

        

१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । बिस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्ष अघिदेखि सहरमान अरूको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए ।

श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गरे । उनको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो ।

वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उनका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो । नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा.दिवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो । दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्न सक्ने भएका छन् ।

शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गरे । गुमेको आँखाको दृष्टि पुनः फर्किएपछि उनीमा खुसीको सीमा छैन । ‘अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ,’ उनले खुसी हुँदै भने । शल्यक्रियापछि पुनः संसार हेर्न पाएकाले अरूले पनि यसरी संसार देख्न सकुन् भन्दै आशीर्वाद दिए । आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए ।

‘मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपाईंहरु सबै जना परमेश्वर हुनुहुन्छ,’ सहरमानले भने । नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूका अनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा १४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । ३७३ जनालाई निःशुल्क चस्मा तथा ६५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिए । सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १४:२१

लोकप्रिय