सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ड्युटीमा खटिएका प्रहरीलाई जुस वितरण

४० डिग्री भन्दा बढीको तापक्रम र त्यसमाथि तातो हावा ‘लु’ को कहरले अत्यधिक गर्मी हुँदा बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ।

गर्मीले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुराका अधिकांश सर्वसाधारण अत्यधिक प्रभावित भएका छन्। उनीहरू मध्ये केही बिरामी परेका छन् भने अधिकांश घरमै बस्न बाध्य छन्।

यस्तो गर्मीमा पनि नेपालगन्जका विभिन्न स्थानमा गर्मीको परवाह नगरी जनताको सुरक्षा र सहयोगका लागि ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई बागेश्वरी असल शासन क्लबले जुस र पानी वितरण गरेको छ।

क्लबका कार्यकारी निर्देशक नमस्कार शाहका अनुसार यस्तो प्रचण्ड गर्मीमा पनि निरन्तर ड्युटीमा खटिनु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उहाँहरू खटिएकै ठाउँमा पुगेर जुस तथा पानी खुवाइएको बताउनुभयो।

उहाँले त्यसका लागि उपमहानगरमा १२ जना भन्दा बढी स्वयंसेवक परिचालन गरेर सुरक्षाकर्मीलाई जुस वितरण गरिएको बताउनुभयो। नेपालगन्जको जमुनाहा नाकादेखि राँझासम्म विभिन्न चोक, बसपार्क तथा अन्य विशेष स्थानमा खटिएका प्रहरीलाई चिसो जुस वितरण गरिएको क्लबले जनाएको छ।

यस्तो अत्यधिक गर्मीमा प्रहरीले ड्युटी गरिरहेकै स्थानमा पुगेर जुस र पानी वितरण गरिएकोमा सो कार्यको चारैतिर प्रशंसा गरिएको छ।

नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले गर्मीको बेला चर्को घाम र तातो हावा लु मा पनि ड्युटी गरिरहनु भएका सुरक्षाकर्मीलाई जुस खुवाउनु निकै सराहनीय कार्य भएको बताउनुभयो।

बाँकेका विभिन्न अन्य सङ्घसंस्थाले पनि यस्ता मानवीय सेवाका काम निरन्तर गरिरहन संयोजक श्रेष्ठले अनुरोध गर्नुभयो।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १६:४५

लोकप्रिय