बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ ।
भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागूऔषध दुर्व्यसनलगायतले कुलतको उच्च जोखिममा रहेका युवाको सचेतनासम्बन्धी अभिमुखीकरणमा उहाँले सो जानकारी दिनुभएको हो ।
नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागूऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट (चिकित्सकको प्रेप्किप्सनबिना)औषधि वितरणले लागूऔषधको जोखिम बढाएको उहाँले बताउनुभयो ।
बाँकेको ६९ किलोमिटर भारतसँग सीमासँग जोडिएको छ । प्रहरी नायब उपरीक्षक डाँगीले भन्नुभयो, “पछिल्लो समय नेपालगन्ज सहर लागूऔषध कारोबारको ‘ट्रान्जिट हब’का रूपमा विकास हुँदै गएको छ ।”
सो अवसरमा सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागूऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँले लागूऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका उपसचिव दिवाकर भण्डारीलगायतले लागूऔषध कारोबार निरुत्साहित गर्न जरुरी भएको बताउनुभयो । बाँकेमा आर्थिक वर्ष ०८०/८१ को वैशाखसम्ममा एक सय ४६ लागूऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएको छ ।
सो मुद्दा दर्ता हुँदा त्यस अवधिमा दुई सय १९ जना पक्राउ परेका छन् । उक्त आर्थिक वर्षमा आठ सय ६० दशमलव चार ९६ ग्राम ब्राउन सुगर, १६ दशमलव १२३ ग्राम चरेस, नौ दशमलव तीन सय १३ ग्राम अफिम, तीन दशमलव ३०० लिटर कोरेक्सलगायत लागूपदार्थ प्रहरीले बरामद गरेको छ ।
आर्थिक वर्ष ०७९/८० मा एक वर्षको अवधिमा एक सय ५७ मुद्दा दर्ता भएको छ । सो अवधिमा दुई सय ३६ जना पक्राउ परेका छन् । त्यस क्रममा आठ सय ८२ ग्राम ब्राउन सुगर र छ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
जिल्लामा आर्थिक वर्ष ०७८/७९ मा एक सय ३४ लागूऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । सो अवधिमा दुई सय १२ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७७/७८ मा एक सय २६ मुद्दा दर्ता भएको र एक सय ९६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै आर्थिक वर्षमा ठुलो मात्रामा प्रहरीले लागूऔषध बरामद गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके