सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आजदेखि तीन दिन तातो हावा चल्ने, घरबाहिर ननिस्कन आग्रह

आवश्यक सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन तातो हावा चल्ने जनाएको छ । आजदेखि आइतबारसम्म तापक्रम बढ्ने र तातो हावा चल्ने विभागको भनाइ छ ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागको भनाइ छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दामाथि मापन गरिएको विभागले जनाएको छ ।

“कम्तीमा आजदेखि तीन दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन हामीले आग्रह गरेका छौँ,” मौसमविद् शान्ति कँडेल भन्छिन्, “त्यसैले तराईका भू–भागहरूमा आजदेखि ६ गतेसम्म तातो हावा तथा तातो लहर चल्ने भएकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”

हिजो भैरहवामा अधिकतम ४१.४, नेपालगन्जमा ४०.५, धनगढीमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

“विशेषगरी सुदूरपश्चिम र लुम्बिनीका तराईका भू–भागमा गर्मी धेरै बढ्नेछ । यी स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि नै तापक्रम रहनेछ,” मौसमविद् कँडेल भन्छिन्, “अन्य प्रदेशका तराईका क्षेत्रमा पनि ४० डिग्री सेल्सियसकै हाराहारीमा तापक्रम रहन्छ ।”

पश्चिमी वायु सक्रिय नहुनु र जलवास्पयुक्त वायु विकास गर्ने अन्य कुनै प्रणाली नरहेकाले गर्मी बढेको हाे । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले कताएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्न वा टोपी लगाउन विभागको आग्रह छ ।

नियमित पानी तथा झोल पदार्थ प्रशस्त पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागको आग्रह छ ।

download-1715905410.png

यसैबीच, आज बिहान कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १०:२४

लोकप्रिय