सूचनाको शक्ति - The Power Of Information

        

अत्यधिक गर्मी

सावधान ! पश्चिम तराईमा तीन दिन तातो हावा ‘लू’को जोखिम

‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो ।

पश्चिम नेपालको तराई-मधेशमा आगामी तीन दिनसम्म तातो हावा र तातो लहर (लू) को जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष बुलेटिन जारी गरी चितवनभन्दा पश्चिमका तराईका जिल्लामा जेठ ४ देखि ६ गतेसम्म तातो हावा तथा तातो लहर चल्न सक्ने जनाएको छ ।

यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाएको छ । देशका अन्य क्षेत्रका तराई र भित्री मधेशमा पनि तातो हावा र लहर चल्न सक्ने भएकाले यसका लागि पूर्व सचेतना अपनाउन विभागले आग्रह गरेको छ ।

पछिल्ला दिनमा तराई क्षेत्रको अधिकतम र न्यूनतम तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगिसकेको विभागले जनाएको छ ।

तातो लहर र हावाबाट कमजोरी हुने, थकाइ लाग्ने, बेहोश हुने, बान्ता हुने जस्ता लक्षण देखिन सक्छन् । तातो हावा र लहरबाट बच्न गर्मीमा चिसो स्थानमा बस्ने, पानी र झोल पदार्थ पर्याप्त पिउने, हल्का कपडा लगाउने, घाममा नजाने लगायत उपाय अपनाउन सुझाइएको छ । यस वर्षको वर्षा याममा गर्मी र वर्षा बढ्ने अनुमान विभागले यसअघि नै गरिसकेको छ ।

‘लू’ कसरी लाग्छ ?

मानव शरीरको संरचना अनौठो छ । बाहिरको तापक्रम जति सुकै परिवर्तित भए तापनि शरीर भित्रको तापक्रम सधैं ३७ डिग्री सेन्टिग्रेड नै भइरहन्छ । गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ । जसका कारण हामी ‘लू’को चपेटामा आउँछौं ।

अत्यधिक गर्मीका कारण रक्तनलीहर” फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई ‘लू’ लाग्नु भनिन्छ । ‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो ।

पसिनाको रुपमा नुन र पानीको ठूलो मात्रा शरीरबाट निस्कन्छ र रगतको तापक्रम बढाइदिन्छ । टाउको भारी भएको महसुस हुनु, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र हुन थाल्नु यसका लक्षणहरू हुन् । त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै–कसैको यही कारण मृत्यु पनि हुन्छ ।

‘लू’का लक्षणहरू

  • बारम्बार प्यास लागिरहनु ।
  • अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु ।
  • अत्याधिक तापक्रमका कारण बेहोस हुनु ।
  • नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।
  • बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।

‘लू’ लागेमा के गर्ने ?

  • लूको प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।
  • यदि तपाईंलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।
  • ‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि घोल (नुन,चिनी,कागती र पानी) समय–समयमा पिइरहनुपर्छ ।
  • ‘लू’ लागेपछि स्पञ्जलाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ ।
  • ‘लू’ लागेमा पाकेको तित्री (इमली) को गुदीलाई हत्केला र खुट्टाको पैतालामा लगाउनाले ‘लू’को असर कम हुन्छ । इमली पानी पिउनाले ‘लू’बाट तुरुन्तै राहत प्राप्त हुन्छ ।
  • दही र मौसमी फलफुलजस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।
  • पुदिनाको सर्बत पिउनाले पनि लूबाट राहत प्राप्त हुन्छ । लूका बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ ।
  • लू लागेमा प्याजलाई पकाएर त्यसमा जिरा, चिनी र गाईको घिउ मिसाएर बिरामीलाई खान दिनुपर्छ । यसो गर्दा बिरामीलाई धेरै आराम प्राप्त हुन्छ ।

‘लू’बाट बच्ने उपाय

  • काँक्रोको सेवन गर्नुपर्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन ।
  • बेल, आँप, कागतीको सर्बतको सेवन गर्नुपर्छ । गर्मीमा बेल, आँप तथा कागतीको सर्बतले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ । जसले निकै हदसम्म लूबाट बचाउन पनि सहयोग पुर्याउँछ ।
  • गर्मीको मौसममा कहिलेकाहीँ टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउनाले पनि लूको असर कम हुन्छ ।
  • घाममा खाली पेट निस्कनुहुँदैन, कागतीको सर्बत भए पनि खाएर निस्कनुपर्छ ।
  • सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।
  • घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनुहोला ।

के खाने, के नखाने ?

कागती पानी प्रचुरमात्रामा खानुपर्छ । नुन, चिनी तथा कागतीको रस (भिटामिन–सी) लाई जीवन रक्षक तरल पदार्थ पनि भनिन्छ । साँझको बेला तारिएका खानेकुराहरु तथा चिल्लो–पिरो खानेकुरा खानुहुँदैन । प्रायः हल्का खाना खानुपर्छ । तर, धेरै व्रत बस्नुहुँदैन । मदिरापान नगर्नु नै उत्तम हुन्छ । भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरू

थोरैमात्र लापरवाहीले पनि तपाईंलाई लुले आफ्नो शिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं एसी अथवा कुलरको अगाडि बस्नु भएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानुहोला । एसीमा बस्दा रक्तनलीहरू संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्तनलीहरू अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ ।

यो स्थितिमा कुनै पनि व्यक्ति लूको शिकार बन्न सक्छ । यसबाट बच्नका लागि एउटा सरल तरिका के छ भने एसीबाट बाहिर आएको केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ । कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनुहुँदैन । क्रिम तैलीय पदार्थ भएकाले त्यसलाई लगाउनाले छालाको रौं छिद्र बन्द हुन्छ। जसबाट पसिना नआउनाले शरीरको तापमान नै असन्तुलित हुनपुग्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १९:२८