सूचनाको शक्ति - The Power Of Information

        

सिमानाका एसपीमाथि ‘हेडक्वार्टर’को निगरानी

राजश्व उठ्न छाडेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले देशभरका एसपीहरूलाई निगरानीमा राखेको छ । सरकारले भन्सार कार्यालयबाट राजश्व कम उठेको भन्दै सशस्त्र प्रहरीलाई दबाबमा राखेपछि प्रधान कार्यालयले सीमानामा कमाण्डरलाई निगरानीमा राखेको हो ।

खासगरी मधेशका आठ जिल्ला, कोशीको झापा, मोरङ, सुनसरी र इलाम, लुम्बिनीका रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा खटिएका एसपीलाई निगरानीमा राखिएको छ । सीमा नाकामा तस्करी बढाएको र तस्करहरू सँगको मिलेमतो देखिएमा तथा राजश्वमा गिरावट आएको खण्डमा सशस्त्र प्रहरीको दोष देखिने भन्दै निगरानी बढाइएको छ ।

त्यही क्रममा १३ गण, हेडक्वार्टर पर्साका गणपति प्रहरी उपरीक्षक किसन कर्माचार्य काठमाडौं तानिएका छन् । सशस्त्र प्रहरीले पछिल्लो समसय नेपालतर्फ भारतबाट आउने धानलाई रोकेको तर अन्य सामानलाई सेटिङमा छाडेको उजुरी हेडक्वार्टरमा परेको थियो ।

त्यसपछि हेडक्वार्टले कर्माचार्य र उनको टिमले निष्ठापूर्वक जिम्मेवारी बहन गर्न नसकेको, वीरगञ्ज भन्सार र पर्साको सीमावर्ती क्षेत्रबाट हुने अवैध र संस्थागत तस्करी नियन्त्रणमा समेत प्रभावकारी भूमिका नखेलेको भन्दै हेडक्वार्टर तानिएको हो । दुई महिना अघि मात्रै पर्सा पुगेका डिएसपी सुरज रिजाल पनि अहिले सेटिङमा लागेको स्रोतको दाबी छ ।

भारतबाट आएको सामानमा उनले केही साताअघि सीमा क्षेत्रमै रोकेका थिए । डिएसपी रिजालले सामान रोकेको थाहा पाएपछि स्थानीय पत्रकार व्यवसायीले समेत विरोध गरेपछि उनले रोकेको सामान पछि भन्सार विभाग बुझाइएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य सात महिनादेखि नं. १३ गण, हेडक्वाटर पर्सामा थिए । समयावधि नपुग्दै तानिएका एसपी कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट राधेश्याम धिताललाई पठाइएको छ । भक्तपुरे धितात तत्कालीन गृहसचिव महेश्वर न्यौपानेनिकट रहेका छन् ।

तत्कालीन एआइजी पुष्पराम केसीको पक्षमा मिडियाबाजी गरेपछि धिताललाई पर्सा पठाइएको हो । उनी संगठनका भित्री कुरा बाहिर ल्याउने अनुशासनहीन प्रहरी अधिकारीको रुपमा चिनिए पनि आइजीपी राजु अर्यालले शक्तिको दबाबलाई थेग्न नसक्दा बाध्य भएर पर्सा पठाएको हल्चोक मुख्यालय स्रोतले जनाएको छ ।

केही दिनअघि मात्र वीरगञ्ज भन्सारस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्ममा कार्यरत सशस्त्र प्रहरीका असईसहित तीन जनालाई निलम्बनको सिफारिससहित छिन्नमस्ता बाहिनी मुख्यालयमा पठाइएको थियो ।

खासगरी, नेपाल प्रहरीले तस्करीका सामान बरामद गर्न थालेपछि सशस्त्र प्रहरीलाई दबाब परेको थियो । पर्सामा रहेका सशस्त्र प्रहरीले सेटिङमा सामान छिराउन दिने गरेको गुनासोसमेत बढेको बेला भन्सार एरिया छलेर ल्याइएका करोडौँ रुपैयाँ बराबरका सामानहरू नेपाल प्रहरीले बरामद गरेको थियो ।

त्यसपछि सशस्त्र प्रहरी मुख्यालयले बारा, पर्सा, रौतहट, सिराह, सप्तरी, महोत्तरी, सर्लाही लगायतका जिल्लाका एसपीहरूको निगरानी बढाएको स्रोतले जनाएको छ । ‘नाकाबाट तस्करी भए सबैलाई एक साथ हेडक्वार्टर तान्छ,’ आइजीपी अर्यालले सबैलाई यसैगरी थ्रेट दिइरहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १७:१९

लोकप्रिय