सूचनाको शक्ति - The Power Of Information

        

अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको ध्यानाकर्षण

कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अतिक्रमित जग्गा खाली गराउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मङ्गलबार काठमाडौँस्थित मन्त्रालयमा पुगेर मन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभएको हो ।

अतिक्रमित संरचना हटाउने वातावरण निर्माणका लागि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराइएको कोहलपुर नगरपालिका प्रमुख आचार्यले बताउनुभयो ।

उहाँले ठिक यही बेला बाँके प्रमुख जिल्ला अधिकारीविहीन भएकाले गृहमन्त्रीलाई भेटेर तत्कालै प्रमुख जिल्ला अधिकारी पठाइदिएर अतिक्रमित संरचना हटाउन कडा निर्देशन दिन गृहमन्त्री लामिछानेको ध्यानाकर्षणगराइएको बताउनुभयो ।

उहाँले समितिको स्वामित्वमा रहेको अतिक्रमित संरचना खाली गराउन गृहमन्त्री पनि सकारात्मक देखिनु भएकाले छिट्टै खाली हुने विश्वास व्यक्त गर्नुभयो । कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित संरचना खाली गर्न नगर विकास समितिले दिएको एक हप्ताको समय सकिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ११:०६

लोकप्रिय