२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

‘पुजार सार्की’को मन छुने गीत ‘जाऊँ माया’ सार्वजनिक

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ जेठ २ गते बुधबार

जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ।

मङ्गलवार सार्वजनिक गरिएको गीतमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ।

गीतमा बि. पाण्डेले शब्द रचना, सुवास भुसालको सङ्गीत र केतन क्षेत्रीको स्वर रहेको छ। चलचित्र ‘पुजार सार्की’का यसअघि सार्वजनिक ट्रेलर, टिजर, पोस्टर र गीतहरू अत्यधिक रुचाइएको छ।

चलचित्रमा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा परेको छ।

ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार