सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको चितवन कार्यालयका सीईओ बरालले दिए राजीनामा

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् ।

उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए । उनले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । तर पछिल्लो समय उनलाई रास्वपाले चितवन छाडेर केन्द्रीय कार्यालय काठमाडौंमा काम गर्न भनेको एक नेताले बताए ।

बरालले मासिक एक लाख ५० हजार रुपैयाँ तलब लिने गरी काम सुरु गरेका थिए । गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए ।

उनलाई एक वर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिनामै सम्झौता रद्द गरिएको रास्वपाका एक नेताले जानकारी दिए । लामिछानेले निर्वाचन क्षेत्रमा सञ्चालन गरेका ब्लू बस र ब्लू एम्वुलेन्स सेवा पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

रास्वपाका एक नेताले दिएको जानकारी अनुसार पुरानो मेडिकल कलेजसँगको समन्वयमा थालिएको स्वास्थ्य शिविर कार्यक्रम केही समयदेखि लगभग बन्दको अवस्थामा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १७:३५

लोकप्रिय