सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका सहकारीको अनुगमन

नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका सहकारी संस्थाहरुको अवस्थाबारे जानकारी लिने र सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना हुनबाट जोगाउने अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थहरुको अनुगमन सुरु गरेको छ ।

अनुगमन निरिक्षण मार्फत उपमहानगरको सहकारी शाखाले नगरमा सञ्चालित सहकारीहरुलाई विधिसम्मत सञ्चालन गर्न सचेत बनाउँदै आएको जनाउँदै सोही क्रममा यो वर्ष पनि अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनुभयो ।

सो क्रममा सहकारी शाखाले नेपालगन्जको वडा नम्बर १० आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ । केही त्रुटि भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको प्रमुख रानाले बताउनुभयो । तर समग्रमा उक्त सहकारीको अवस्था सुधारोन्मुख देखिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन–नियम निर्माण, खर्च कटौती लगायतका विषयमा उक्त सहकारीका प्रबन्ध सञ्चालक टि.बी थापालाई त्रुटि सच्च्याउन सुझाब दिइएको पनि उपमहानगरको सहकारी शाखाले जनाएको छ ।

सोही प्रकारले उपमहानगरभित्र रहेका सबै सहकारी संस्थाको अनुगमन गरेर उनिहरुको अवस्था बुझ्नुका साथै नागरिकको बचतको सुरक्षा बारेमा पनि ध्यान दिईने नेपालगन्जका मेयर प्रशान्त विष्टले बताउनुभयो ।

उहाँले क्रमशः नगरका सबै सहकारीको अनुगमन गरेर उनिहरुको अवस्था बारे जानकारी लिएर कमी कमजोरी र त्रुटी भएका सुधार गर्न लगाउने बताउनुभयो ।

अनुगमन टोलीमा नेपालगन्ज उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाका तुलसा पन्थी आचार्य, नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरीलगायतको सहभागिता रहेको थियो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १६:१४

लोकप्रिय