बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यो गाउँका स्थानीयले आलुखेतीबाटै जीविकोपार्जन गर्दै आएका छन् । आलु र भांगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ ।
प्रांगारिक मल प्रयोग गरेरै एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् । यो गाउँमा करिब १३० परिवार स्थायी रूपमा बसोबास गर्छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन ।
त्यसले गर्दा भांगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका तिलक घर्तीमगरले बताए । वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् ।
प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताए । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरी सम्म आलु फलाउने उनले जानकारी दिए । रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौं, चितवन लगायतका ठाउँमा पुग्छ । समुद्री सतहबाट दुई हजार २०० मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन ।
तर भौगोलिक विकटताका कारण उत्पादित सामग्री बजारसम्म पुर्याउन समस्या छ । रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको जानकारी दिए । किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषि सम्बन्धी तालिम र आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए ।
अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनको भनाइ छ । हाल सडक कच्ची भए पनि आलु बजारसम्म पु¥याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट पारे । किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए । आलुलाई ‘ब्रान्डिङ’ गर्ने पालिकाको योजना पनि उनले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बागलुङ