सूचनाको शक्ति - The Power Of Information

        

गर्मीमा हर्ट अट्याक, ६० वर्ष उमेर कटेकाहरू सावधान !

गर्मीयाममा त्यसै पनि शरीर थकित र परेशान रहन्छ । यही समयमा मुटुको स्वास्थ्यमा पनि ज्यादा बोझ पर्छ । यूएस इन्भारमेन्टल प्रोटेक्सन एजेन्सीका अनुसार अमेरिकामा बर्सेनि हृदयाघातबाट हुने मृत्युको १ हजार ३०० भन्दा बढी मृत्युमा एक्स्ट्रिम हिट र हिट वेभ्स देखिएको छ ।

अमेरिकन हर्ट एसोसिएसनको सन् २०२३ को जर्नलमा प्रकाशित रिपोर्टले पनि त्यसैमा जोड दिन्छ । रिपोर्टअनुरा अत्यधिक गर्मी र हिट वेभले हृदयाघातको जोखिम पनि बढाउँछन् । सन् २०१५ देखि २०२० सम्म चीनमा गरिएको अध्ययन क्रममा हृदयाघातका २ लाखभन्दा बढी मृत्युको डिटेल्स केस स्टडी गरिएको थियो ।

तापमानमा अत्यधिक वृद्धि या कम, वातावरणमा अत्यधिक प्रदूषण, एकसाथ गर्मी र प्रदूषणमा बढोत्तरी त्यसका प्रमुख कारण देखिएका थिए । पुरुषहरूको तुलनामा महिलामा बढी हृदयाघात पाइएको थियो । खासगरी, ६० वर्ष उमेर कटेका र कुनै न कुनै स्वास्थ्य समस्याको सामना गरिरहेका व्यक्तिहरूले गर्मीयाममा बढी सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

कानपुरस्थित हृदय रोग संस्थानका विशेषज्ञ डा.अवधेश शर्माका अनुसार अत्यधिक गर्मीमा शरीरले आफूलाई ठण्डा राख्ने प्रयास गर्छ । र, त्यसक्रममा हृदयमा दबाब ज्यादा पर्छ । त्यसक्रममा रक्तसञ्चार तीव्र गतिमा हुन्छ । र, त्यसले हृदयाघातको जोखिम बढाउँछ । त्यसैले तापमान बढेको समयमा घरलाई ठण्डा राख्ने प्रयास गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।

र, चर्को घाममा घरबाहिर ननिस्किन सुझाउँछन् । जानै परेमा छाता या अन्य कुनै उपाय गरेर मात्र निस्किन सल्लाह दिन्छन् । गर्मी याममा हल्का, सुती या नरम टेक्स्चरका कपडा पहिरिनु आवश्यक रहेको उनीहरू बताउँछन् । गर्मीयाममा ज्यादा मसालेदार भोजनले शरीरको पाचन प्रणालीमा अति दबाब पर्ने भएकाले त्यस्ता खानेकुरा नखान चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।

गर्मीयाममा डाइरिया, हिट स्ट्रोक, पेट दुखाइ, बमिटिङजस्ता समस्याका लागि औषधिहरू घरमा राख्नु आवश्यक हुन्छ । र, धुम्रपान, मध्यपान कम गर्नु आवश्यक हुन्छ । तर, शरीर ठण्डा राख्न कोल्ड, इनर्जी र सुगरयुक्त ड्रिंक्सहरू पिउन नहुने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०५:५९

लोकप्रिय