सूचनाको शक्ति - The Power Of Information

        

नरेन्द्र र पुष्पाले जिते कर्णाली हाफ म्याराथन

प्रथम कर्णाली हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र रावल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेका छन्।

शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको म्याराथनमा नेपाली सेनाका रावत प्रथम भएका हुन्। उनले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ११ मिनेट २५ सेकेन्डमा पूरा गरे।

नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकेश राई तेस्रो भएका छन्। उनीहरूले क्रमशः १ घण्टा ११ मिनेट ४८ सेकेन्ड र १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दौड पूरा गरे।

महिलातर्फ भण्डारीले सोही दूरी १ घण्टा २८ मिनेट १७ सेकेन्ड दौड पूरा गर्दै विजेता बनेकी हुन्।

दोस्रो भएकी नेपाली सेनाकी सिर्जना पाण्डेले १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा दौड पूरा गरेकी जुम्लाकी राज्यलक्ष्मी रावल तेस्रो बनिन्।

यसैगरी, पाँच किलोमिटर छात्रातर्फ विमला कार्की प्रथम बनिन्। पूर्णिमा बूढाक्षेत्री र लक्ष्मी शाही क्रमशः दोस्रो तथा तेस्रो भए।

पाँच किलोमिटर छात्रतर्फ अजय विक प्रथम, रमेश बूढा दोस्रो र नमराज बानियाँ तेस्रो भए।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०९:१४

लोकप्रिय