बाँकेको राप्ती नदीस्थित सिधनिया घाट निर्माणका लागि शुक्रबार नेपालगन्जमा सर्वपक्षीय भेलामार्फत बृहत् छलफल गरिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको जिल्लाको डुडुवा गाउँपालिका ५, राप्ती नदीस्थित सिधनिया घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि सरोकारवाहरुले बृहत् छलफल गरेका हुन् ।
मलमपट्टी मर्निङ वाक ग्रुप नेपालगन्जले समन्वय गरेको छलफल कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा.धवलशमसेर राणाले सिधनिया घाट निर्माणका लागि सबै पक्ष यसरी एकजुट भई छलफलमा जुट्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि आफूले संसदीय विकास कोषबाट आगामी आर्थिक वर्षमा एक करोड ५० लाख रुपियाँ विनियोजन गर्ने र एक महिनाको तलव प्रदान गर्ने प्रतिवद्धता गर्नुभयो ।
घाट निर्माणका लागि पहिलो काम जग्गा प्राप्ति गर्नुपर्ने भन्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सर्वप्रथम कानुनी रुपले एउटा समिति गठन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले गठन गरिएको समितिमार्फत प्रशासनमा संस्था दर्ता गरी संस्थाबाट कानुन अनुसार अन्य कार्य गर्न सहज हुने बताउनुभयो । उक्त स्थानमा सार्वजनिक जग्गा भएमा समितिले प्रस्ताव बनाएर प्रजिअको नेतृत्वमा रहेको समितिमा पेश गर्न र उक्त प्रस्तावलाई सिफारिस गरी संसदमा पठाउने तथा क्याबिनेटले पास गरेमा जग्गासमेत प्राप्ति हुन सक्ने पनि उल्लेख गर्नुभयो ।
वरिष्ठ अधिवक्ता प्रल्हादबहादुर कार्कीले काम गर्दा गुरु योजना बनाएर मात्र अगाडि बढेमा सफल भइने उल्लेख गर्नुभयो । उहाँले अल्पकालिन योजना र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । गुरु योजना बनाएर बजेटको सुनिश्चितता गरेपछि तत्कालका लागि आवश्यक कामका लागि अल्पकालीन योजनामार्फत अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सम्बन्धित सरोकारवाला निकायहरुको पहिचान गर्नुपर्ने, राजनीतिक दल, स्थानीय सरकार र सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र योजना सफल हुने बताउनुभयो ।
डुडवा गाउँपालिका ५ का अध्यक्ष झङ्कबहादुर थापाले स्थानीय सरकारबाट हुनुपर्ने सम्पूर्ण सहयोग गर्ने भन्दै सबै सरोकारवा पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मलमपट्टी मर्निङ वाक ग्रुपका संरक्षक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनोडियाले आगामी एक वर्षभित्रमा तत्कालका लागि आवश्यक भौतिक संरचनाहरु दाहसंस्कार गृह, मलामी बस्नका लागि टहरा लगायतका कार्यहरु गर्नका लागि प्रयास गरिने बताउनुभयो ।
छलफल कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय बादशाह कुर्मी र आदेश अग्रवाल, जिल्लास्थित सबै राजनीतिक दलका नेता, बुद्धिजीवि, व्यवसायी, उद्योगी, जनप्रतिनिधि, समाजसेवी, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, साहित्यकार तथा कार्यालय प्रमुखहरुको सहभागिता थियो ।
सहभागीहरुले राप्ती नदीस्थित उक्त घाटमा नदीको कटानका कारण स्थायी रुपले दाहसंस्कार गर्ने स्थल बनाउन समस्या रहेको, कहिले पूर्व कहिले पश्चिमतिर दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेको, मलामीहरु बस्ने ठाउँ नहुँदा गर्मी महिना र वर्षाको महिनामा अत्यन्तै समस्या रहेकोलगायतका विषयमा छलफल गरेका थिए ।
आजैको छलफलपश्चात् संरक्षक डा. कनोडियाको संयोजकत्वमा मूल समिति गठन गरिएको ग्रुपका सदस्य तथा नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। उहाँले सम्पूर्ण सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरेर सबैपक्ष समेटिने गरी सदस्यहरु चयन गरेर समितिलाई पूर्णता दिइने बताउनुभयो ।
छलफल कार्यक्रममा ग्रुपका सदस्य डा.बद्री चापागाईले व्यवस्थित घाट निर्माणका लागि आवश्यक योजनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा व्यवसायी अशोक श्रेष्ठले घाट निर्माणका लागि आफूले पाँच लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके