सूचनाको शक्ति - The Power Of Information

        

छत्तिसगढमा सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध १२ माओवादीको मृत्यु

माओवादी प्रभावित छत्तिसगढको बस्तरमा भएको सुरक्षा बलसँगको भिडन्तमा १२ सन्दिग्ध माओवादी मारिएको दाबी गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । शुक्रबार बिहानै गंगालुरको पेडिया जंगलमा माओवादी भएको खबर पाएपछि सेनाको टोली अपरेसनका लागि गएको प्रहरी अधिकारीले बताए ।

बिहान सन्दिग्ध माओवादीहरूसँग भिडन्त सुरु हुँदा बिजापुरबाहेक दन्तेवाडा र सुकमा जिल्लाबाट पनि ठुलो सङ्ख्यामा जिल्ला रिजर्भ गार्ड र कोबरा बटालियनका जवानहरू पठाइएको थियो । साँझसम्म मुठभेड स्थलबाट १२ माओवादीको शव फेला परेको छ । घटनास्थलबाट ठुलो सङ्ख्यामा हतियार पनि बरामद भएको छ । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस वर्षको जनवरीदेखि माओवादीविरुद्ध सुरक्षा बलले ठुलो अपरेसन सुरु गरेको छ । त्यसमा ठुलो सङ्ख्यामा माओवादी मारिएका छन् । गत महिनाको १६ गते सुरक्षा बलले भिडन्तमा २९ माओवादी मारिएको दाबी गरेको थियो । एउटै भिडन्तमा यति ठुलो सङ्ख्यामा माओवादी मारिएको माओवादी इतिहासमा पहिलोपटक थियो ।

यसअघि अप्रिल २ मा प्रहरीले बस्तरमा नै १३ सन्दिग्ध माओवादी मारेको दाबी गरेको थियो । ३० अप्रिलमा पनि प्रहरीले मुठभेडमा १० सन्दिग्ध माओवादी मारिएको बताइएको थियो । अप्रिल महिनामा प्रहरीले बस्तरमा ५९ माओवादी मारेको दाबी गरेको थियो । यता राज्यका गृहमन्त्री विजय शर्माले माओवादीलाई शान्ति वार्ताका लागि अगाडि आउन आग्रह गरिरहेका छन् । तर माओवादी यसका लागि तयार छैनन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०६:४५

लोकप्रिय