सूचनाको शक्ति - The Power Of Information

        

सम्भावित महामारी नियन्त्रण र रोकथाम गर्न परियोजना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले परियोजना अन्तर्गत विभिन्न रोगको सतर्कता र प्रारम्भिक चेतावनी, जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधार लगायत क्षेत्रमा खर्च गरिने बताए ।

‘कुनै महामारी आयो भने तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको छ,’ उनले भने, ‘कोरोना भाइरसजस्तो महामारी फेरि नआउला भन्न सकिन्न । त्यसैले सम्भावित महामारीको क्षति कम गर्न, निदान र उपचारको तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको हो ।’ सङ्घ, प्रदेश तहमा पनि परियोजना लागु गरिने छ ।

कुल एक करोड ८८ लाख अमेरिकी डलरमा सुरु भएको उक्त परियोजना विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र खाद्य तथा कृषि सङ्गठनको संलग्नतामा तीन वर्षसम्म सञ्चालन हुनेछ । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध रहेका देशले कोरोना भाइरसको बेला बनाएको कोषबाट नेपाललाई उक्त रकम प्राप्त भएको हो ।

महामारी कोषबाट परियोजना सञ्चालन गर्नका लागि विश्वभरिका १३३ देशबाट १७९ आवेदनमध्ये नेपालको प्रस्ताव छनोट भएको हो । नेपालमा २०७६ सालमा कोरोना भाइरस महामारी देखिएको थियो । कोरोना भाइरसको कारणले करिब १२ हजार मानिसको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १७:१९

लोकप्रिय