सूचनाको शक्ति - The Power Of Information

        

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारले भारतीय सैनिक फिर्ताको लागि १० मेसम्मको समयसीमा तोकेको थियो ।

गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो । राष्ट्रपति कार्यालयका मुख्य प्रवक्ता हिना वलीदले मालदिभ्समा तैनाथ भारतीय सेनाको अन्तिम ब्याचलाई भारत फिर्ता पठाएको बताएकी छन् ।

भारतीय सेनालाई माल्दिभ्समा दुईवटा हेलिकप्टर र डोरनियर विमानको सञ्चालन र मर्मतका लागि तैनाथ गरिएको थियो । जुन भारतले नै उपहार दिएको थियो । यसअघि माल्दिभ्स सरकारले सोमबार ५१ सैनिकलाई भारत फिर्ता पठाएको घोषणा गरेको थियो ।

माल्दिभ्स सरकारले यसअघि ८९ भारतीय सैनिक रहेको जानकारी दिएको थियो । अब प्राविधिक कर्मचारीले तीनवटा उड्डयन मञ्च सञ्चालनको जिम्मा लिनेछन् । राष्ट्रपति मुइज्जुले भारतीय सैनिक फिर्ता गर्न आग्रह गरेपछि दुई देशबीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । माल्दिभ्स हिन्द महासागरमा भारतको लागि प्रमुख समुद्री छिमेकी देशको रूपमा चिनिन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १७:१७

लोकप्रिय