सूचनाको शक्ति - The Power Of Information

        

भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् । आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । ट्र्याक्टर सडकदेखि १५० मिटर तल भेरी नदीमा खसेको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १६:५६

लोकप्रिय