जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको छ । छुमचौर जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ थालिएको होे । कृषि विकास कार्यालयको आयोजनामा छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो ।
समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा छुमचौरमा धानखेती भएपछि जिल्लामा विविधरुपमा रोपाइँ सुरु भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन रोपाइँ महोत्सव गरिएको उनको भनाइ छ ।
सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरोकारवाला निकायलगायत यसको संरक्षणमा लागेका हुन् । बर्सेनि खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती छोड्न थालेका छन् । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।
मार्सी धानको खेती गर्दा रोग कीरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका प्रमुख देवकोटाले बताए । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जुम्ला