रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि गरेका हुन् । कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बासिन्दा विराजन पूर्व नेपाली सेनासमेत हुन् ।
विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए । गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए । नेपाल सरकारबाट भने विराजनको मृत्युको पुष्टि भएको छैन । रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई सकुशल उद्धारको पहल गर्न माग गर्दैै अभियान चलाउँदै आएकी कृतु भण्डारीले विराजनको मृत्यु युक्रेनको भूमिमा भएको जानकारी आफूले पाएको बताइन् ।
‘विराजन र निराजन दाजुभाइ सँगै रहेछन्,’ कृतुले भनिन्, ‘भाइलाई तँ बाहिर बस्, म बंकर क्लियर गरेर आउँछु भनेर भित्र छिरेको बेला विष्फोट भएर विराजनको मृत्यु भएको रहेछ । भाइ निराजनले म यो घटना भाउजूलाई सुनाउन सक्दिनँ, तिमीहरूले सुनाइदिनू भनेपछि सँगै भएका अर्का एक नातेदारले घरमा जानकारी दिएका रहेछन् ।’
आफूले भने निराजनबाटै विराजनको मृत्युको पुष्टि गरेको कृतु बताउँछिन् । उनले सुरक्षित एक अडियो रेकर्डमा एक व्यक्तिले रुँदै भाउजू सम्बोधन गर्दै विराजन यो ‘संसारमा नरहेको’ कुरा गरेका छन् । विराजनको मृत्युको जानकारी दिने व्यक्ति को हुन् भन्ने विवरण अडियोमा खुल्दैन ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने विराजनको मृत्युको विवरण आफूहरूलाई प्राप्त नभएको बताए । ‘विराजनको मृत्युको जानकारी परराष्ट्र मन्त्रालयमा छैन,’ राईले भने, ‘यसबारे मैले कन्सुलरलाई पनि सोधें, त्यहाँ पनि थाहा छैन ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि विराजनको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विराजनको मृत्यु भएको आधिकारिक जानकारी प्रशासनलाई नभएको बताए । रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी अभियन्ता भण्डारीले रुस–युक्रेन युद्धमा परेर नेपालीहरूको मृत्यु भएको खबर दिनहुँजसो आइरहेको बताउँछिन् । हालसम्म रुसी सेनामा गएका ४१ जना नेपालीको मृत्यु भइसकेको खबर आएको उनले बताइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं