सूचनाको शक्ति - The Power Of Information

        

वातावरणीय विपद्

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो, एक जनाको मृत्यु

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरा लगायत मरेका छन् ।

बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार सामुदायिक वन र चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ । सबैभन्दा धेरै कोहलपुर सव डिभिजन अन्तरगतका २२ वटा बनमा आगलागी भएको छ ।

नेपालगन्ज सव डिभिजन कार्यालय अन्तरगतका १०, नरैनापुर सव डिभिजन अन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगन्ज सव डिभिजनको एउटा चक्ला वनमा डढेलो लागेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले जानकारी दिए ।

बाँकेमा १०० को हाराहारीमा सामुदायिक वन छन् । कार्यालयका सूचना अधिकारी रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा ७०० लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिए । उनले डढेलो नियन्त्रण गर्न आठ अग्नी हेरालुसमेत परिचालन गरिएको बताए ।

डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ । सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको जनाइएको छ ।

सहायक वन अधिकृत एवं सूचना अधिकारी रोकाका अनुसार राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी २५० देखि २८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरा लगायत मरेका छन् । शम्शेरगन्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो ।

आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगन्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो । शम्शेरगन्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ । शम्शेरगन्ज सव डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको बताए ।

बाँकेमा १०५ आगलागीका घटना

बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका १०५ घटना भएका छन् । विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

ती आगलागीका घटनामा १०४ पशु चौपाया मरेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी माझीका अनुसार आगलागीका घटनाबाट रु एक करोड ७७ लाख ५९ हजार बराबरको क्षति भएको छ । जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगन्जमा आगलागीका घटना भएका हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ०९:११

लोकप्रिय