सूचनाको शक्ति - The Power Of Information

        

साहित्य : कविता

साथी एक यस्तो होस्

सम्बन्ध र ब्यवहारमा नयाँ उदाहरण र नौलो आयाम थप्ने होस् ।

न बोल्दा शब्दहरू रोज्नु परोस्
न बोलाउँदा बहानाहरू खोज्नु परोस्
साथी एक यस्तो होस् ।

हर भावना बुझ्ने र ब्यक्त गर्न सकिने, बिश्वासिलो र बिन्दास होस्
न भेट्दा स्थान सिमा तोक्नु परोस्
न भेटाउँदा सम्बन्ध सिमा सोंच्नु परोस्
साथी एक यस्तो होस् ।

जहाँ रहँदा पनि र जोसँग हुँदा पनि सहज र सरल होस्
न सहयोग माग्दा कर्म बताउनु परोस्
न सहयोग गर्दा धर्म जताउनु परोस्
साथी एक यस्तो होस् ।

सम्बन्ध र ब्यवहारमा नयाँ उदाहरण र नौलो आयाम थप्ने होस्
न उसँग हुँदा नाताको पावन्दी होस्
न उसँग रूँदा समयको हदबन्दी होस्
साथी एक यस्तो होस् ।

आफन्ती र प्रियजनहरूबाट स्तस्फूर्त सम्मान र आत्मियता जगाउने होस्
न आसपास रहँदा अट्टहासको कमी होस्
न आसपास नरहँदा अत्यासको नमी होस्
साथी एक यस्तो होस् ।

हरक्षण र हरबखत उल्लास र आत्मियताको आभास गराउने होस्
भलै सम्बोधनमा सधैं सम्मान नगरोस्
तर ब्यबहारमा कबै अपमान नगरोस्
साथी एक यस्तो होस् ।

पवित्र मनको होस्
खुला हृदयको होस्
निश्छल सोंचले लबालब भरिएको होस्
बस् साथी एक यस्तो होस् ।

परिवार बराबर निकट होस्
अभिभावक जस्तै आदरणीय होस्
प्रियतम जत्तिकै प्यारो होस्
सन्तान सरह प्रिय होस्
साथी एक यस्तो होस् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार ११:२६