सूचनाको शक्ति - The Power Of Information

        

‘लु’ जोखिम न्यूनीकरण

नगरवासीलाई ‘लु’बाट जोगाउन नेपालगन्जमा ‘कुलिङ सेन्टर’

नेपालगन्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि ‘कुलिङ सेन्टर’ बनाउने उपमहानगरपालिकाको योजना छ ।

अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगन्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो । तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेको छ ।

नेपालगन्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ । अमेरिकी रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर ‘लु’ जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो ।

अत्यधिक गर्मी हुने तराईका अन्य सहरमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ‘लु’लाई प्रकोपका रूपमा लिई त्यसविरुद्ध जुध्न ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताए ।

रेडक्रस क्लाइमेट सेन्टरका सहरीक्षेत्रविज्ञ रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगन्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू हुने प्रक्रियामा रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगन्ज उपमहानगरपालिका ‘लु’ प्रतिकार्य योजना लागू गर्ने देशको एकमात्र स्थानीय सरकार हो । नेपालगन्ज देशकै अत्याधिक गर्मी हुने शहरमा पर्छ । यहाँ ४६ डिग्रीसम्म गर्मी हुने गर्दछ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १०:५०

लोकप्रिय