सूचनाको शक्ति - The Power Of Information

        

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’

हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई…’ बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै थिए । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का अध्यक्षसहितको राससको टोली विद्यालय परिसर पुग्दा दैनिक कक्षा प्रारम्भसँगै भइसकेको छ ।

विद्यालयमा नेपालीसहित जापानी र अन्य देशका विद्यार्थीहरु नेपाली राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली…’ सम्मानपूर्वक उच्चारण गरिरहेका थिए । नेपालको राष्ट्रिय गान र मौलिक गीतले गुञ्जायमान सो वातावरणले टोकियोको व्यस्त सहरमा सानो नेपाल महसुस गर्न सकिन्थ्यो । एभरेष्ट इन्टरनेशनल स्कुल नेपालबाहिर नेपाली पाठ्यक्रम र परीक्षा प्रणालीका आधारमा सञ्चालन हुने एक मात्र विद्यालय हो ।

स्थापनाकालमा १६ जना विद्यार्थीबाट शुरु भएको यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म चार ५० विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा वेशभूषा, रहनसहन, गीत सङ्गीत जापान लगायत अन्तर्राष्ट्रिय समुदायमा पुर्याउने काम गर्दै आएको छ । जापानमा रहेका नेपाली समुदायको पहलमा सन् २०१३ मा शुरु भएको विद्यालयले हालसम्म तीन पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा एकपटक कक्षा १२ को परीक्षामा सामेल भइसकेको छ ।

ती सबै परीक्षामा विद्यालयको नतिजा अब्बल छ । तर पछिल्लो समय विद्यालयको भविष्यलाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले नेपालमा प्रस्तावित विद्यालय शिक्षा विधेयकले विदेशमा सञ्चालित नेपाली विद्यालयलाई समेट्न नसकेको विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले गुनासो गरे । विद्यालय र यहाँका नेपाली विद्यार्थीहरुका लागि भए पनि विधेयकमा यसप्रकारका विद्यालयबारे उल्लेख गर्नुपर्ने उनको भनाइ छ । ‘विधेयकले विदेशमा नेपाली पठ्यक्रमअनुरुप चल्ने विद्यालय कुन मातहत रहने भन्ने ठूलो प्रश्न खडा गरेको छ । विदेशमा रहेका विद्यालय कुन मातहत भन्ने स्पष्ट छैन,’ उनले भने ।

उक्त विधेयक बनाउने सन्दर्भमा सामाजिक शिक्षा अङ्ग्रेजी भाषामा पढाइका लागि स्वीकृति, स्थानीय भाषामा एक विषयको पढाइ र विदेशी विद्यार्थी भर्ना रजिष्ट्रेशनमा सहजीकरण लगायतका विषय उठान गरेको छ । विधेयकमा विदेशमा रहने त्यस्ता विद्यालयका लागि विशेष व्यवस्था मिलाउने तथा समन्वय र सहजीकरण गर्ने निकायको आवश्यकता रहेको उनको तर्क छ । मुलुकको एक तिहाइ अर्थात झण्डै ८० लाख भन्दाबढी सङ्ख्यामा जनता देश बाहिर रहेको अवस्थामा नयाँ ऐन निर्माण भइरहँदा सो विषयमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

उनले नेपाल सरकारसमक्ष विदेशमा सञ्चालनमा रहेका विद्यालयलाई परेको नीतिगत समस्या सुल्झाउन आग्रह गरे । देशबाहिर रहेका नेपालीलाई शिक्षाको माध्यमबाट आफ्नो देशसँग जोड्न सकिने छ भने विद्यालयमा पढने विद्यार्थीका नाताले अरु देशका नागरिकलाई नेपाल राष्ट्र, कला र संस्कृतिबारे जानकारी दिलाउन महत्वपूर्ण अवसर मिल्ने उनको धारणा छ । एभरेष्ट इन्टरनेशनल विद्यालयका संस्थापक सदस्य भूषण घिमिरे नेपाल र जापानको शिक्षण पद्धतिमा केही फरक देख्छन् ।

उनका शब्दमा नेपालका विद्यालयमा पढाउने शैली छ भने जापानमा सिकाउने शैली छ । ‘नेपालको शिक्षा पद्धतिमा पढाइन्छ मात्रै । एकोहोरो पढाएर सिकाइ प्रभावकारी हुँदैन । जापानको शिक्षा पद्धति भने अलिक फरक छ । यहाँ सिकाइन्छ । वास्तवमा पढाइ र सिकाइबीचको भिन्नता ठूलो छ । हामीले यो अन्तर बुझ्न जरुरी छ । नेपालको शिक्षण पद्धतिमा सिकाइ सुरु गर्नुपर्छ,’ उनले भने । अध्ययनमा सिकाइ प्रभावकारी भएन भने जीवनमा लागू गर्न गाह्रो हुन्छ । सिकेको कुरा पढेको कुराभन्दा लामो समयसम्म स्मरण भइरहन्छ ।

नेपाली पाठ्यक्रममा आधारित जापानी विद्यालय : नेपाली पाठ्यक्रम अनुसार पढाइ भइरहेको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्ट लगायत विद्यालयका पदाधिकारी नेपालबाट जापान आएका पत्रकारसँग कुरा गर्दै । तस्वीर : नारायण न्यौपाने । रासस

जापानमा घर र शिशु कक्षामा सिकाइ भनेको अनुशासन पनि मानिन्छ । सो विद्यालय सञ्चालक समिति सदस्य समेत रहेका उनी भन्छन्, ‘सिकाइ नभएको पढाइको अर्थ छैन । जापानमा बच्चालाई घर वा नर्सरी कक्षा होस सिकाउने पहिलो विषय अनुशासन हो । मैले अरुलाई नकारात्मक असर पुर्याउने कुनै काम गर्नु हुन्न भन्ने सिकाइ पहिलो हो ।’ नेपालमा भ्रष्टाचार लामो समयदेखि समस्याका रुपमा छ । भ्रष्टाचारले राष्ट्र र समाजलाई हानी पुर्याउँछ त्यसमा संलग्न हुन हुँदैन भन्ने ज्ञान पनि विद्यालय तहमै सिकाइने उनले सुनाए ।

त्यति मात्र होइन, तपाईंले कसैलाई झुक्किएर ठक्कर दिए पनि ठक्कर खाने व्यक्तिले कतै मैले नै त गल्ती गरेको होइन भनेर माफी माफी माग्ने संस्कार पनि छ । ‘नेपालमा अहिले धेरै समयपछि विद्यालय शिक्षासम्बन्धी नयाँ कानुन बन्न लागेको छ । त्यस ऐनमा अनुशासन र कर्तव्यका विषयलाई समेट्नुपर्छ । कसैले अर्काेलाई नराम्रो हुने काम नगरिदिए समाज राम्रो हुन समय लाग्दैन । त्यो खाले शिक्षा बालबालिकालाई सिकाउनुपर्छ,’ उनले भने । अनुशासनले गल्ती र हारलाई सहजरुपमा स्वीकार्य बनाउने भन्दै उनले कानुन र संस्कार छुट्याउन कठिन हुने धारणा राखे ।

त्यसखालको संस्कार हाम्रो देश नेपालमा पनि उत्तिकै आवश्यकता रहेको उनले बताए । १२ वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेशा व्यवसायसँग जोडिएर पुग्ने क्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छोड्न नपरोस् भनी गैरनाफामूलक संस्थाकारुपमा त्यहाँको नेपाली समाजको अगुवाईमा विद्यालय स्थापना गरिएको थियो । विद्यालयको अध्यक्षमा गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्ट छन् । उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यालयको मान्यता प्रदान गरेको छ ।

जापानमा विद्यालय सञ्चालन गर्न त्यहाँको सम्पूर्ण नीति नियमको कडाइका साथ पालना गर्नुपर्छ । त्यो सबै पालना गरेकै कारण जापानी समुदायबीचमा पनि विद्यालय आकर्षणको केन्द्र बन्दै आएको छ । हाल उक्त विद्यालयका ६१ मध्ये नौ जना जापानी शिक्षक तथा कर्मचारी छन् भने छ जना जापानी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका भाइस प्रिन्सिपल राजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार विद्यालयमा दुई घण्टा टाढादेखि रेल चढेर आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य छ ।

टोकियोमा रहेका अन्य विद्यालयको तुलनामा सुलभ शुल्कमा गुणस्तरीय शिक्षा भएकै कारण विद्यालयमा विद्यार्थी भर्ना चाप चुनौतीपूर्ण रहेको विद्यालय सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपाल बताउँछन् । विद्यार्थीको चाप र भौतिक पूर्वाधारका कारण नर्सरी कक्षा एक ठाँउमा छ भने १ देखि ३ सम्मका कक्षा बेग्लै ठाउँमा पढाइ हुन्छ । उक्त विद्यालयमा भर्नाका लागि हालको भन्दा दोब्बर विद्यार्थीका लागि माग रहेको उनले बताए । टोकियोमा धेरै नेपालीहरुको पेशा व्यवसाय भएकाले अनयन्त्र सारिएको खण्डमा उनीहरुलाई मर्का पर्ने सञ्चालकको बुझाइ छ ।

अध्ययनसहित विभिन्न पेशा व्यवसाय गरी हाल जापानमा एक लाख ६३ हजारभन्दा बढी सङ्ख्यामा नेपाली बस्दै आएका छन् । जापानमा विद्यार्थीलाई होस्टेलमा राख्न नमिल्ने व्यवस्था छ । नेपालमा जस्तो विद्यार्थीको क्षमता र नतिजा हेरेर विद्यार्थी भर्ना गर्ने सुविधा पनि छैन । तोकिएको समयमा जो आयो उसले भर्ना पाउँछ । परीक्षाको अनुगमन र अन्य कानूनी एवं नीतिगतरुपमा विद्यालयलाई परेको समस्या टोकियोस्थित नेपाली दूतावासले सम्बोधन गर्दै आएको छ । जापानको नेपाली समाज तुलनात्मकरुपमा सुसङ्गठित, सुविचारित र समृद्ध हुुँदै गएको जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी बताउँछन् ।

‘नेपालीपन र नेपाली मन बचाउने कर्ममा यहाँको नेपाली समाज लागि परेको उदाहरणका रुपमा एभरेष्ट स्कुल रहेको छ । नेपालको परिचय, भाषा, नेपाली कला, संस्कृति, रहनसहन, गीत सङ्गीत वेशभूषा प्रवद्र्धनमा विद्यालयले योगदान पुर्याएको छ,’ राजदूत डा सुवेदी भन्छन् । नेपालको पर्यटन प्रवर्द्धनमा प्रचारका माध्यमबाट सहयोग पुगोस भन्ने हेतुले विश्वको चुचुरो सगरमाथाको उचाइसँग जोडेर बसको नम्बर ८८४८ राखिएको छ । त्यसो त सन् १९०२ मै राणाकालीन समयमै आठ जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न भान्सेसहितको व्यवस्थामा जापान पठाइएको थियो । जापान नेपालको विकासको ठूलो सहयोगी र साझेदार मुलुक हो । पछिल्लो समय जापानी समाजमा नेपाली नागरिकले बनाएको परिचय, पहिचान र प्रतिष्ठा उदाहरणीय र आदरणीय रहेको दूतावासको ठम्याइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १३:२७

लोकप्रिय