सूचनाको शक्ति - The Power Of Information

        

दैवीप्रकोपको सामना

खजुरामा विपद् पूर्व तयारी, विपद् ब्यवस्थापन समिति ‘अलर्ट’

खजुरा गाउँपालिकामा स्थानीय विपद् ब्यवस्थापन समिति निर्माण गरी विपद् ब्यवस्थापनमा चुस्त दुरुस्त बनाएर ‘अलर्ट’ अवस्थामा राख्ने गरिएको छ ।

फाइल तस्वीर

खजुरा गाउँपालिका बाँके जिल्लाको दक्षिण पश्चिममा पर्छ । यस गाउँपालिकामा ८ वटा वडा रहेको खजुरा गाउँपालिकाको पश्चिममा बर्दिया जिल्ला रहेको छ, जसलाई मानखोलाले छुट्याउने गर्छ । मानखोला, किरणनाला र पेडारी नालाका कारण प्रत्येक बर्ष खजुरा वडा नं. ६ को गिजरा, पुरैनी र गौघाटले डुवान र कटानको मार खेप्दै आउनुपरेको छ ।

यी खोला किनारमा गतिलो तटबन्ध नहुनु मानिसहरुले खोलाको भागलाई साँघुरो बनाई अतिक्रमण गर्दै जाँदा सधैंजसो ती खोला किनारका बस्तीहरुले डुवान र कटानको मार खेप्दै आउनुपरेको छ । खजुरा गाउँपालिका बाँकेको यस्तो पालिका हो, जहाँ बाढी वा अन्य कुनै प्रकारको बिपद् आउन सक्छ । भूकम्पबाहेक ठुलो बिपद्को सामना गर्न नपरे पनि खजुरा गाउँपालिकाका केही स्थानमा डुबानको समस्या भने रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७९–०८० मा यस पालिकाका धेरै घरधुरी डुबानको चपेटमा परे । यसबाट वडा नं. १ र २ का केही भागहरु समेत प्रभावित हुँदै आएका छन् । वडा नं.३ र ४ मा पनि पेडारी खोलाको बाढीले हरेक बर्ष पीडा दिन्छ । बाढी र डुबानको समस्याले गर्दा काट्न बेलामा रहेको धानबाली डुबानमा परेर क्षति पुर्यायो । तराईको समथर जमिन, खोला नालाको निकाश नहुनुजस्ता समस्याले अधिकांश भाग डुबान, कटान र पटान भइरहेका छन् ।

खजुरा गाउँपालिकामा स्थानीय विपद् ब्यवस्थापन समिति निर्माण गरी विपद् ब्यवस्थापनमा चुस्त दुरुस्त बनाएर ‘अलर्ट’ अवस्थामा राख्ने गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’को अध्यक्षतामा वडाहरुको अध्यक्ष, कार्यपालिका सदस्य, रेडक्रस र स्थानीय अन्य निकाय सहभागी हुने गरी समिति गठन गरिएको छ । समितिले दैवी प्रकोपबाट हुने विपद् ब्यवस्थापनमा तुरुन्तै फिल्डमा गएर राहत तथा उद्धारको कामलाई अघि बढाउँदै आएको छ ।

बर्षायाम लागेसँगै हुने डुबान र कटानबाट ठुलो धनजनको क्षति हुन नदिन स्थानीय विपद् ब्यवस्थापन समितिले पूर्व तयारी गर्दै आएको छ । विपद् कहाँ, कहिले र कसरी आउँछ, त्यो कसैलाई थाहा हुँदैन, तर विपद्बाट बच्न गाउँपालिकाले समुदायमा सचेतना दिनुका साथै घटना भइहाल्यो भने तत्काल उद्दार र राहतमा लाग्ने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

गाउँपालिकाले विपद् ब्यवस्थापन कोष निर्माण गरी पहिलो पटक आर्थिक वर्ष २०७५–०७६ मा २५ लाख रुपैयाँ कोषमा जम्मा गरेको थियो । खजुरामा गाउँपालिकामा आर्थिक वर्ष २०७५–०७६ मा आएको हावाहुरीका कारण ८० भन्दा धेरै घरमा क्षति पुर्याएको थियो । सो समयमा गाउँपालिकाले तत्काल उद्दार र राहतसँगै पीडित परिवारलाई क्षतिपूर्ति दिएको थियो । गाउँपालिकाले आफ्नो क्षेत्रमा धनजनको क्षति हुन नदिन मातहतका सबै निकायमा छलफल, गोष्ठी तथा अन्तरक्रियासमेत गर्ने गरेको छ ।

फाइल तस्वीर

स्थानीय विपद् ब्यवस्थापन समितिले विपद् वा दैवी प्रकोपका बेला तत्काल उद्दार र राहतको कामलाई व्यवस्थित गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले बताए । उनले स्थानीय सरकारले त्यस्ता जोखिम कम गर्नका लागि बिभिन्न कार्यक्रम समेत ल्याएको बताए । जोखिमबाट पीडित बनेका त्यस्ता घरपरिवार लक्षित गरेर यस पालिकास्तरीय समितिमार्फत पीडितमैत्री कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

बिपद्बाट जोगिने योजना निर्माणका साथै पीडितलाई राहत पुर्याउनेसम्मका कार्यक्रमहरु पालिकाले गर्दै आएको छ । पालिकाका कुनै पनि व्यक्तिले दुःख पाउन नपरोस् भन्नका लागि विपद् व्यवस्थापन न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसैगरी आगलागीको जोखिम न्यूनीकरण गर्न पनि निरन्तर अनुगमन गर्दै पालिकाभित्र हुन सक्ने सम्भावित बिपद्सँग जोगिन वा जोखिमबाट बच्नका लागि आवश्यक प्रतिकार्य योजनासमेत निर्माण गरिएको छ ।

कुन प्रकारको बिपद् आउँदा के, कसरी, कसको समन्वयमा विपद्को सामना गर्ने र पीडितको उद्धार गर्ने योजनामा तयार गरिएको छ । खजुरा गाउँपालिकाले गत आव २०७९–०८० मा प्रकोप व्यवस्थापन कोषमा रहेको रु.१ करोड ५५ लाख १ हजार ९२३ मध्ये रु.२८ लाख ८३ हजार ४८३ प्रकोप व्यवस्थापनमा खर्च गरेको थियो । कोषमा अहिले पनि रु.७६ लाख ७१ हजार ४४० सञ्चित रहेको दखिन्छ । बिपद्को सामना गर्न जिल्लास्तरको बैठकमा निरन्तर सहभागी हुनुका साथै आवश्यक सहयोग समन्वय लिने कार्य पनि भइरहेको छ ।

यससँगै बिपद्का समयमा सबैभन्दा अग्रपंक्तिमा रहने नेपाल रेडक्रस सोसाइटीसँग पनि निरन्तर समन्वय सहकार्य भइरहेको पनि पालिकाका विपद् व्यवस्थापन फोकल पर्सन केशव बुढाले जानकारी दिए । उनले बिपद् आइहालेमा त्यसको सामना गर्न आफूहरु तयारी अवस्थामा रहेको पनि बताए । तराई क्षेत्रमा जाडोको समयमा अति नै जाडो हुने र खासगरी वृद्धवृद्धा, जेष्ठ नागरिक वा सहाराविहीलाई जाडो छल्न गाह्रो हुने गरेको छ ।

गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष नै खडा गरेर प्रकोप तथा विपद् न्यूनीकरणका लागि काम गर्दै आएको छ । यस्तो अवस्थामा पालिकाका विभिन्न गाउँबस्तीमा रहेका त्यस्ता सम्भावित वा जोखिम अवस्थाका व्यक्तिहरुको पहिचान गरि न्यानोका कम्बल वितरण गर्ने गरिएको छ । पालिकाले बिपद् वा अन्य समयमा कार्य गन सहज होस् भन्नका लागि विषयगत समिति गठन गरी खजुरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामगोपाल यादवलाई संयोजक तोकेर जिम्मेवारी प्रदान गरेको छ ।

‘प्राकृतिक प्रकोप जतिबेला पनि आउन सक्छ, त्यसको सामना कसरी गर्ने भन्ने विषयमा हामी तयारी अवस्थामा रहन विषयगत समिति बनाएका छौं,’ गाउँपालिका अध्यक्ष विकले भने, ‘यसले विशेषगरी बर्खायाममा हुने डुबान र कटान, गर्मीमा हुने आगलागी तथा हिउँदयाममा हुने शीतलहर र कुनै पनि समयमा फैलन सक्ने कोरोना संक्रमण, डेंगीजस्ता प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न क्रियाशिल हुन थप मदत पुग्नेछ ।’ उनले स्थानीय सरकारले अहिले नै दैवीप्रकोप तथा तत्काल आउने विपद्बाट जोगिन गाम्भीर्यतका साथ तयारी गरेर भविष्यमा हुने प्राकृतिक विपद्लाई सफलताका साथ सामना गर्ने गरी काम गरिरहेको बताए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १०:२३