सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनीक बिदामा सरकारी गाडीको दुरुपयोग

सरकारी गाडी दुरुपयोग गर्दै ढकेरीमा विद्युतका कर्मचारीको मोजमस्ती

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन) लुम्बिनी प्रदेशले आयोजना गरिएको बनभोजमा मोजमस्तीका लागि ती गाडीहरु दुरुपयोग गरिएका थिए ।

हिजो फागुन २८ गते अर्थात् सोमबार । शेर्पा समुदायको महत्वपूर्ण चाड, ग्याल्पो ल्होसार । सरकारले देशभर सार्वजनीक बिदासमेत दिएको थियो । बिदाको दिन सरकारी तथा गैरसरकारी कार्यालयहरु पूर्णरुपमा बन्द हुन्छन् । सरकारी कार्यालयका सवारी साधनहरु अनुमति नलिएर गुडाउनै मिल्दैन ।

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउँन पाइन्छ । तर बाँकेमा भने यसको पालना भएको पाइँदैन । सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणका एक दर्जन गाडीहरु सोमबार सार्वजनीक बिदाका दिन होटल र रेष्टुरेन्टतिर कुदिरहेका थिए ।

सार्वजनीक बिदाका दिन नेपाल विद्युत प्राधिकरणका एक दर्जन गाडी बाँकेको राप्तीसोनारी–९, ढकेरीमा रहेका होटलहरुमा पार्किङ्ग गरिएका थिए । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन) लुम्बिनी प्रदेशले आयोजना गरिएको बनभोजमा मोजमस्तीका लागि ती गाडीहरु दुरुपयोग गरिएका थिए ।

ढकेरी पार्कमा आयोजना गरेको बनभोज कार्यक्रममा मोजमस्तीका लागि पुगेका विद्युत प्राधिकरणका कर्मचारी तथा ट्रेड युनियनका नेताहरुले पहेंलो नम्बर प्लेटका ती गाडीहरुको चरम दुरुपयोग गरेको पाइएको छ । उनीहरुले सरकारी स्वामित्वमा रहेको संस्थानका गाडीहरु दुरुपयोग गरेर सरकारी नियमकै धज्जी उडाएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन) लुम्बिनी प्रदेश अन्तर्गतका कर्मचारी सामेल थिए । प्राधिकरणका कर्मचारीहरु पहेँलो नम्बर प्लेटको गाडीमा त्यहाँ सवार भएका थिए । तीनले सरकारी गाडी दुरुपयोग गरेका थिए । त्यो पनि एउटा–दुइटा होइन, करिब दुई दर्जन वटा । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।

अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर प्राधिकरणका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर वनभोज खान पुगेका थिए । होटलमा पार्किङ्ग गरिएको गाडी कुरिरहेका चालकले प्रायः गाडीको पास रहेको दाबी गरे । तर ती गाडी चालकले पास हेर्न खोज्दा देखाउन सकेनन् ।

सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणका बा १ ञ २२९५, बा १ ञ २३०४, बा १ ञ २४३८, बा १ ञ २४४०, प्र ३–०१–००१ ञ २५६५, बागमती प्रदेश ०१–००१ ञ २७८५, बागमती प्रदेश ०१–००१ ञ २७८७, बागमती बी एबी ८१६८, बागमती बी एबी ८५४२ नम्बरका जीप तथा कार र लु १ म २७४ नम्बरको मोटरसाइकल दुरुपयोग गरिएको हो ।

बाँकेमा नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन बनभोजको निहुँ पारेर दर्जन बढी सवारीको दुरुपयोग भएको पाइएको हो । यसले सरकारी नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । बाँकेमा प्राय कर्मचारी कार्यालय प्रमुखसम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।

बिदाको समयमा सरकारी गाडी चलाउन पाँइदैन यदि चलाए पनि पास लिनुपर्नेमा प्राधिकरणका कर्मचारी तथा ट्रेड युनियनका नेताहरुले स्थानीय प्रशासनको अनुमति नै नलिएर सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ । यस विषयमा नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालय बुटवलका प्रमुख हरिप्रसाद पाण्डेसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १४:२७

लोकप्रिय