सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीलाई गोली हान्ने शिक्षक निलम्बित

बङ्गलादेशमा मेडिकल कलेजका एक जना शिक्षकलाई निलम्बन गरिएको छ । कक्षामा पढाई भइरहेको समयमा भनाभन भएपछि शिक्षकले बन्दुक निकालेर आफ्नै विद्यार्थीको घुँडामा गोली हानेका थिए ।

राइहान शरिफ उत्तर–पश्चिम बंगलादेशको सिराजगञ्जस्थित एक मेडिकल कलेजका लेक्चरर हुन् । कक्षाकोठामा विद्यार्थीमाथि गोली हानेको दुई दिनपछि उनलाई निलम्बित गरिएको समाचारमा जनाइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार यो घटना गएको सोमबारको हो । त्यतिबेला डा. शरिफले विद्यार्थीहरूको मौखिक परीक्षा लिइरहेका थिए । अरफात अमिन तोमाल नाम गरेका २३ वर्षका एक विद्यार्थीसँग उनको चर्काचर्की भयो ।

रिसको झोका उनले बन्दुक निकालेर विद्यार्थीको दाहिने घुँडामा बन्दुक हाने । तर सौभाग्यले गोलीले उनलाई गम्भीर चोट लागेन । यो घटना भएको समयमा कक्षामा ४५ जना विद्यार्थी थिए । प्रहरी नआइपुग्दासम्म विद्यार्थीहरुले नै शरिफलाई कक्षा कोठामा थुनेर राखे । अनि आफ्नो सहपाठीको मद्दत पनि गरे ।

प्रहरीले खनतलासीको क्रममा शरिफको झोलाबाट  एउटा बन्दुक, एक थान पेस्तोल, ८१ ओटा गोली र चार ओटा म्याजिन, २ ओटा चक्कु र १० ओटा ड्र्यागर भेटेका थिए । शरिफले अरु बेलामा पनि विद्यालय आउँदा बन्दुक ल्याउने गरेका थिए ।

उनले बेला बेलामा साथमा भएका हतियारहरु देखाउने गरेको प्रहरीले विज्ञप्तिमा भनेको छ । शरिफलाई तत्कालै बर्खास्त गर्नु पर्ने भन्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन पनि  गरेका थिए ।

शरिफ अझै पनि प्रहरी हिरासतमै छन् । कक्षा कोठामा गोली चलाएको घटनाबारे उनीमाथि छानबिन भइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतवार १५:०७