सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा खेल संस्कार

माटोमा खेलेर राष्ट्रिय खेलाडी जन्माउँदै ‘खजुरा’, खेल पर्यटनको सम्भावना

खजुरा ग्रामीण परिवेशमा माटोमा खेलेर राष्ट्रिय खेलाडी जन्माउने ठाउँ बनेको छ ।

बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागि समेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । केही बर्षअघि भएको आठौं राष्ट्रिय खेलकुदमा महत्वपूर्ण चार वटा विधाका खेल खजुरामा हुँदा यसले देशभरी खजुरालाई चिनाउने अवसर मात्रै दिएन, खेलाडी, अफिसियल, पत्रकार, खेलप्रेमी ठूलो संख्यामा त्यस क्षेत्रमा पुगे । आठौंको इभेन्टले खजुरालाई देशभरी चिनाएन मात्र खेल पर्यटनको सम्भावना पनि उजागर गर्यो । खेलकुद स्वास्थ्यसँग जोडिएको विषय मात्रै रहेन । अब खेलकुद आर्थिक र पर्यटकीय सम्भावनाको क्षेत्रसमेत बनिसकेको छ ।

खेलका लागि राम्रा पूर्वाधार हुने हो भने राम्रा प्रतियोगिता आयोजना हुन सक्छन् । त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई खजुरामा भित्र्याउन मद्दत पुग्छ । खजुरामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबलको खेल, बक्सिङ्ग खेल, महिला तथा पुरुष भलिबल, महिला हक्की खेल आयोजना गरिएको थियो । डि गाउँमा फुटबल, ज्ञानोदयको खेल मैदानमा बक्सिङ्ग, सितापुरको भलिबल स्टेडियममा महिला तथा पुरुष भलिबल, शुक्र माविको खेल मैदानमा हक्की प्रतियोगिता आयोजना हुँदा यसले खजुरालाई देशमै राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश दिएको थियो ।

फुटबलको अन्तर्राष्ट्रियस्तरको रंगशाला नेपालगन्जमा छ । तर, एउटा रंगशालाले मात्रै फुटबलको ठूलो प्रतियोगिता आयोजना सम्भव हुँदैन । किनभने प्रतियोगिता आयोजना गर्दा अभ्यासका लागि अन्य मैदानहरु पनि आवश्यक पर्छ । आठौं अन्तरगत फुटबलका केही खेलहरु खजुराको ‘डी’ गाउँ खेल मैदानमा आयोजना गरेर खजुराले त्यसो सम्भावना देखाइसकेको छ । ‘नेपालगन्जपछिको फुटबल खेल मैदान खजुरामा छ,’ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ भन्छन् । प्याराफिटसहित बनाइएको डी गाउँको खेल मैदान मिनी रंगशालाका रुपमा रहेको छ ।

खजुरामा पहिलो राष्ट्रिय प्रतियोगिता २०६७ सालमा आयोजना भएको थियो । राष्ट्रिय भलिबल संघले दोस्रो राष्ट्रिय पुरुष बीच भलिबल आयोजना खजुरामा आयोजना भएको हो । खजुरामा बीच भलिबल मात्रै नभएर बीच फुटबल लगायतका प्रतियोगिताको सम्भावना पनि उत्तिकै रहेको खेल विश्लेषक टिएस ठकुरी बताउँछन् । खजुरामा गतबर्ष नेपाल एथ्लेटिक्स संघको खेलकुदले राष्ट्रिय युथ एथलेक्टिस प्रतियोगिता आयोजना गरिसकेको छ । राष्ट्रिय प्रतियोगिताले आन्तरिक पर्यटकलाई बढावा दिने खेल विश्लेषक ठकुरी बताउँछन् ।

खजुरामा खेल पर्यटनको प्रशस्त सम्भावना औंल्याउँदै ठकुरी भन्छन्, ‘विगतमा भएका साना, ठूलो प्रतियोगिताले त्यसलाई पुष्टि गरिसकेको छ ।’ खजुरामा वडा स्तरीय होस् वा जिल्ला वा राष्ट्रिय खेल । दर्शकहरुको घुइँचो हुने गरेको छ । ‘खेल संस्कार भएको ठाउँ हो खजुरा’, खेल विश्लेषक ठकुरी भन्छन्, ‘खेल पूर्वाधार थप्दै जाने र प्रतियोगिता आयोजना गर्ने हो भने खेल पर्यटनको प्रशस्त सम्भावना छ ।’ उहाँ एउटा राष्ट्रिय प्रतियोगितामा आउने आगन्तुकका कारण स्थानीय व्यापार, व्यवसायसमेत बढ्ने पछिल्लो आठौं राष्ट्रिय खेलकुदले देखाइसकेको बताउँछन् ।

‘स्थानीय सरकारले खेल पर्यटनको सम्भावनालाई बुझेर पूर्वाधार र प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गर्नुपर्छ,’ ठकुरी भन्छन् । खजुरा ग्रामीण परिवेशमा माटोमा खेलेर राष्ट्रिय खेलाडी जन्माउने ठाउँ बनेको खेल विश्लेषक ठकुरीको भनाइ छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरुमा खजुरा अब्बल रहने गरेको उल्लेख गर्दै ठकुरी भन्छन्, ‘खेललाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्छ ।’ खेल्नका लागि मैदान चाहिन्छ । खजुराका धेरै विद्यालयसँग आफ्ना ठूला मैदानहरु छन् । मैदानहरुकै कारण खेल्ने वातावरण तयार हुन्छ ।’

पालिकाका सबै वडामा कभर्ड हल, रंगशाला र प्रशिक्षण केन्द्र निर्माण कार्यका लागि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिकाका अध्यक्ष विक बताउँछन् । खजुरामा स्थानीयस्तरका प्रतियोगिताहरु पनि आयोजना भइरहन्छन् । स्थानीय सरकार आएसँगै पालिकास्तरीय मेयर कपको आयोजना हुँदै आएको छ । गाउँपालिका अध्यक्ष विक मेयर कपलाई निरन्तरता दिइरहेको बताउँछन् । गाउँपालिकाले खेललाई विशेष महत्वमा राखेको उनको भनाई छ । अध्यक्ष विकले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेललाई महत्व दिएको बताए ।

गाउँपालिका मात्रै नभएर खजुराका वडापालिकाले समेत खेलकुद प्रतियोगिताका बजेट छुट्याउने गरेका छन् । निजी विद्यालयहरुको संगठन, इशाकाले प्रत्येक बर्ष इशाका स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबहरुले पनि ठूला प्रतियोगिता आयोजना गर्दै आएका छन् । न्यू डाँफे स्पोर्टस्ले प्रत्येक बर्ष ठूलो धनराशी पुरस्कार रहेको खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरु समेत खेल्ने गरेका छन् । ‘खेलका लागि राम्रो सम्भावना भएको क्षेत्र हो खजुरा,’ अध्यक्ष विक भन्छन्, ‘खेल क्षेत्रको विकासमार्फत खेल पर्यटनको प्रशस्त सम्भावना छ ।’

अध्यक्ष विकले हरेक आवमा युवा तथा खेलकुद कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको जानकारी दिए । उनले खेलकुदको विकासका लागि खजुरा गाउँपालिकाभित्र दर्ता भएका क्लवहरुलाई खेल सामाग्रीसमेत उपलब्ध गराउँदै आएको बताए । ‘गाउँपालिकाका वडाहरुमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न उत्प्रेरित गरिनेछ, साथै खजुरा गाउँपालिका अन्तरगत राष्ट्रिय, अन्तर्राट्रिय खेलाडीहरुलाई सम्मान गर्दै आएका छौं,’ अध्यक्ष विक भन्छन् । उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिने खेलाडीहरुको हौसला बढाउन विभिन्न क्रियाकलापमा सहयोग गर्ने गाउँपालिकाको नीति रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०७:०८

लोकप्रिय