सूचनाको शक्ति - The Power Of Information

        

पूर्वाधार विकासमा खजुरा

जनशक्ति र स्रोत अभावले पूर्वाधार निर्माणमा चुनौति

खजुरा गाउँपालिकाले अघि सारेका योजनाहरु जनप्रतिनिधि र कर्मचारीको समन्वयमा कार्यान्वयनमा लैजाँदा सफलता प्राप्त हुने गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका जुडोको हवका रुपमा देशभर परिचित छ । खजुरा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जुडोका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागीमात्रै भएका छैनन् । उनीहरुले प्रशस्त मेडलहरु पनि जितेका छन् । तर जुडोको हवका रुपमा खजुरा परिचित हुँदै गर्दा एक वर्षअघिसम्म खजुरामा जुडो खेल खेल्न वा प्रशिक्षण गर्न कुनै पनि आधिकारिक तथा स्थायी संरचना भने थिएन । कहिले खजुरा त कहिले ‘क’ गाउँमा जुडोको प्रशिक्षण गराउँदै हिँड्ने मंगोलियन जुडो डोजोका अध्यक्ष एवम् प्रशिक्षक विजयकुमार गुरुङले अहिले वडा नम्बर २ मा स्थायी संरचना पाएका छन् ।

स्थायी संरचना बनेपछि हाल दिनहुँ करिब २० जना बालबालिकाले जुडोको प्रशिक्षण लिइरहेका छन् । ‘जे होस् अहिलेको स्थानीय सरकारसँग केही आशा लागेको छ । हिजोका दिनमा हामीलाई जुडोको सामान राख्ने ठाउँसमेत थिएन । अहिले सामान राख्ने र केही बच्चाहरुलाई प्रशिक्षण गराउने ठाउँ बनेको छ,’ प्रशिक्षक गुरुङले भने । खजुराले वडा नम्बर २ मा रहेको खेलकुद ग्राममा संघीय सरकारबाट प्राप्त १८ लाख रुपैयाँ लगानी गरेर जुडोको भवन बनाएको वडा नम्बर २ का वडाध्यक्ष धनीराम ओलीले बताए ।

उनले भने, ‘अघिल्लो वर्ष हामीले भवन बनाउनका लागि संघीय सरकारसँग रकम निकासा गरेर एउटा प्रशिक्षण गर्ने भवन र सामान राख्ने कोठा बनाउन सफल भयो । अझै सरकारसँग १५ लाख रुपैयाँ माग गरेका छौं । उक्त रकमबाट जुडो भवनको रंगरोधन गर्ने, ग्रिलहरु बनाउने काम यो वर्ष गर्ने सोचमा हामी छौं ।’ खजुरामा पहिलोपटक जुडोको हल बन्दै गर्दा नवनिर्वाचित जनप्रतिनिधिले पालिकामा पूर्वाधार निर्माणमा केही उल्लेखनिय काम गर्न खोजेको उदाहरण पेस गर्दछ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ पालिकाले प्रत्येक क्षेत्र तथा वडाहरुमा समानिकरणरुपमा विकासका पूर्वाधारहरु विकास गर्दैै लगेको बताउँछन् । आर्थिक वर्ष २०७९–०८० कोभिडपछि तंग्रिन खोजेको वर्ष हो । पालिकाले बनाएका योजना अनुरुप बजेट आउन नसक्दा धेरै पूर्वाधारका कामहरु स्थानीय सरकारले सम्पन्न गर्न सकेनन् । तर पनि खजुराले एक वर्षमा पूर्वाधारको क्षेत्रमा गरेको प्रगति बाँके जिल्लाका अन्य पालिकाको भन्दा उल्लेखनिय छ । खजुराले गत बर्ष मात्रै करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ भने २१ किलोमिटर बढी बाटोलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको छ ।

पालिकाका योजना अधिकृत केशव बुढाका अनुसार पालिका पाँच किलोमिटर नयाँ ट्रयाक खोल्नेदेखि पालिकाका विभिन्न स्थानमा आठ वटा हाइमास्ट लाइटसमेत जडान गरेको छ । पालिकाका मुख्य मात्रै नभई शाखा र भित्री सडकहरु समेत कालोपत्रे भइरहेका छन् । यसले यहाँको विकासमा तीव्रता देखिएको छ । टोल–टोलमा सडक विस्तार कार्यले खजुरावासी उत्साहित छन् । खजुरा गाउँपालिकाले अघि सारेका योजनाहरु जनप्रतिनिधि र कर्मचारीको समन्वयमा कार्यान्वयनमा लैजाँदा सफलता प्राप्त हुने गरेको छ ।

विकासका योजना कार्यान्वयनका लागि शुरुदेखि नै सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक ढंगले सोचेर कुनै द्विविधा नराखी अक्षरसः पालना गर्ने गरेको गाउँपालिका अध्यक्ष विक बताउँछन् । उनले अध्यक्ष, उपाध्यक्ष तथा अन्य सबै जनप्रतिनिधि र कर्मचारीबीचको आपसी सहकार्य, तालमेल र सकारात्मक सोंचका कारण खजुराले सफलता प्राप्त गर्दै आएको बताए । ‘हामीले हरेक आर्थिक वर्षमा उपलब्धीमूलक योजना अघि सारेका छौं,’ अध्यक्ष विकले भने ।

अध्यक्ष विकका अनुसार यीनै योजना सफलतापूर्वक सम्पन्न गर्दै जाँदा खजुरा विकासमा अगाडि बढ्छ । उनले बस्ती, वडा, विषयगत समिति, कार्यपालिका हुँदै गाउँसभाबाट पास भएर लागु गरिने योजना साझा हुने भन्दै योजना अनुसार बजेट विनियोजन गरेर अगाडि बढेकाले सफलता हासिल हुन थालेको उल्लेख गरे ।

वडा १ मा ३ किलोमिटर नयाँ ट्रयाक निर्माण

खजुराको वडा नम्बर १ मा गत वर्षमात्रै ३ किलोमिटर नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भएको छ । यस्तै बाटोतर्फ ४५० मिटर बाटो कालोपत्रे र २ किलोमिटर बढी बाटोमा ग्राभेल गरिएको छ । यसका अलवा वडा नम्बर १ मा ४५ वटा विद्युत्का पोल जडान, ३ किलोमिटर सडक तार पोल विस्तार, १ वटा झोलुंगे पुल निर्माण र ३ वटा मन्दिर तथा चर्च निर्माणको काम सम्पन्न गरिएको योजना शाखाले जनाएको छ ।

वडा २ मा ६ किलोमिटर बढी बाटो ग्राभेल

पालिकाको वडा नम्बर २ मा पनि गत वर्ष प्रशस्तै पूर्वाधार विकासका कामहरु सम्पन्न भएका छन् । जसमा ६ किलोमिटर बढी बाटो ग्राभेल, १९० मिटर बाटो कालोपत्रे, २ किलोमिटर बढी नयाँ ट्रयाक निर्माण, १२१ मिटर पक्की नाला निर्माण भएका छन् भने वडा नम्बर २ मा १ वटा कृषि संकलन केन्द्र, १ वटा कवर्ड हल निर्माण, २ दशमलव ७ किलोमिटर खानेपानी पाइप विस्तार, २०० मिटर तारजाली निर्माण, २ वटा विद्यालय भवनको निर्माण, २ वटा हाइमास्ट लाइट निर्माण, १ वटा सामुदायिक भवन निर्माण, १ वटा गोदाम घर निर्माण, १ वटा रेडक्रस भवन निर्माण र १ वडा धार्मिकस्थलको मर्मत सम्पन्न गरेको योजना शाखाको तथ्यांक छ ।

वडा ३ मा २ किलोमिटर बढी पक्की नाली निर्माण

गत वर्ष वडा नम्बर ३ ले ३ किलोमिटर ग्राभेल बाटो निर्माणसँगै २ दशमलव ५ किलोमिटर बढी पक्की नाली निर्माण गरेको छ । यसका साथै वडा नम्बर २ ले ८८० मिटर बाटो कालोपत्रे, ३ किलोमिटर सडक बत्ती निर्माण, १ वटा आरसीसी कल्भर्ट निर्माण, २०० मिटर तारजाली निर्माण, वडा कार्यालयलाई रंगरोधन तथा तारबार, ३ वटा विद्यालय भवन निर्माण जस्ता कार्य गत वर्ष सम्पन्न गरेको थियो । साथै वडाले १ वटा खेलमैदान, १९० मिटर पर्खाल, १ वटा शहिद स्मारक, १ वटा सन्तकुटी, १ वटा हाइमास्ट लाइट, १ वटा कृषि संकलन केन्द्र, १ वटा कोशेली घर, ४ वटा मन्दिर तथा गुम्बा निर्माण गर्नुका साथै निर्माणाधीन ब्याटमिन्टन कभर्ड हलको थप काम सम्पन्न गरेको छ ।

वडा ४ मा ६ किलोमिटर खानेपानी पाइप विस्तार

अन्य वडाझै वडा नम्बर ४ मा पनि पूर्वाधारका क्षेत्रमा उल्लेखनिय काम भएको पालिकाले जनाएको छ । जसमा वडा नम्बर ४ ले गत वर्षमात्रै ६ किलोमिटर खानेपानीको पाइप विस्तारको काम सम्पन्न गरेको छ । यस्तै उक्त वडाले ९०० मिटर बाटो कालोपत्रे, ४ दशमलव ५ किलोमिटर बाटो ग्राभेल, ५५ मिटर कज वय निर्माण, २ वटा ट्रस निर्माण, ३ वटा विद्यालय भवन मर्मत, वडा कार्यालयको भवन निर्माण सुरु, १२० मिटर पर्खाल निर्माण, १ वटा हाइमास्ट लाइट निर्माण, १ वटा रेडक्रसको भवन निर्माण र १ वटा धार्मिक स्थल भवन निर्माणको काम सम्पन्न गरेको गाउँपालिकाको योजना शाखाको तथ्यांक छ ।

वडा ५ मा खोप केन्द्रको निर्माण

वडा नम्बर ५ मा गत वर्ष खोप केन्द्र भवनको निर्माण गर्न पालिका सफल भएको छ । यस्तै १ वटा हाइमास्ट लाइट, १ वटा कृषि संकलन केन्द्र, १ वटा इदगाह, १ वटा पोखरी निर्माण, ४ वटा मन्दिरको मर्मत कार्य सम्पन्न गरको पालिकाको योजना शाखाले जनाएको छ । यसका अलवा उक्त वडामा १२० मिटर पर्खाल, वडा कार्यालयको भवन मर्मत, २ वटा विद्यालय भवनको मर्मत, २ वटा ट्रस निर्माण, १५० मिटर आरसीसी बाटो निर्माण र करिब १ किलोमिटर बाटो ग्राभेलको काम सम्पन्न भएको योजना शाखाको तथ्यांक छ ।

वडा ६ मा १ किलोमिटर नयाँ ट्रयाक निर्माण

वडा नम्बर ६ ले गत वर्षमात्रै १ किलोमिटर नयाँ ट्रयाक निर्माण गर्न सफल भएको छ भने १ दशमलव ४ किलोमिटर बाटो ग्राभेल गरेको योजना शाखाले जनाएको छ । यस्तै उक्त वडाले १५० मिटर पीसीसी बाटो, ३ वटा ट्रस, ३०० मिटर पक्की नाला, ३५० मिटर आरसीसी बाटो १२ मिटर तटबन्धन, ३ वटा विद्यालय भवन, ३२ मिटर पर्खाल, १ वटा हाइमास्ट लाइट, १–१ वटा पोखरी र मन्दिर निर्माणको काम सम्पन्न गरेको थियो ।

वडा ७ मा डेढ किलोमिटर बढी बाटो ग्राभेल

वडा नम्बर ७ ले गत वर्ष पूर्वाधारतर्फ सडक बाटोको कामलाई प्राथमिक दिँदै १ दशमलव ७ किलोमिटर बाटो ग्राभेल गरेको थियो भने १६० मिटर बाटो कालोपत्रे गरेको योजना शाखाले जनाएको छ । यसका अलवा वडा नम्बर ७ ले ४०० मिटर बढी पीसीसी बाटो निर्माण, १ वटा हाइमास्ट लाइट निर्माण र २२ वटा विद्युतीय पोल जडानको काम सम्पन्न गरेको थियो ।

वडा ८ मा डेढ किलोमिटर विद्युत् विस्तार

गत वर्ष वडा नम्बर ८ ले विद्युत् विस्तारको काममा उल्लेखनिय काम गरेको देखियो । वडामा १ दशमलव ५ किलोमिटर सडक तार पोल विस्तारको काम सम्पन्न भएको पालिकाले जनाएको छ । यस्तै उक्त वडामा ३ सय मिटर बढी बाटो कालोपत्रे, ८०० मिटर बढी बाटो ग्राभेल, १ दशमलव ५ किलोमिटर बाटो मर्मत, १ वटा ट्रस निर्माण, ३४० मिटर पक्की नाला निर्माण, ३० वटा विद्युतीय पोल जडान, १ वटा ट्रान्सफर्मर जडान जस्ता काम सम्पन्न भएको छ । साथै यस वडामा ३५० मिटर आरसीसी बाटो निर्माण, १ कवरस्थान मर्मत, ८० मिटर तारजाली निर्माण, २ वटा विद्यालय भवन मर्मत, ९९ मिटर पर्खाल निर्माण, १ वटा हाइमास्ट लाइट जडान, १ वटा इदगहा निर्माण, १ वटा पोखरी निर्माण, २ वटा धार्मिकस्थलको मर्मत जस्ता काम भएका छन् ।

क्रमागत योजनाहरु प्राथमिकतामा

खजुरा गाउँपालिकाले हरेक वर्ष क्रमागत रुपमा सञ्चालन गरेको योजनामध्ये सबैभन्दा महत्वपूर्ण योजना भनेको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ हो । जसअन्तर्गत गत वर्षमात्रै खरको छाना विस्थापित गरी टिनको छाना छाउने कार्यक्रमका लागि कूल १५७ जना लाभग्राही छनौट गरेर १२४ जनाको घरमा टिनको छानो लगाएर भुक्तानी भइसकेको लेखा अधिकृत प्रदिप सुनारले बताए ।

खजुराले गत वर्ष वडा नम्बर १ का २५ घरधुरी, वडा नम्बर २ का १८ घरधुरी, वडा नम्बर ३ का १६ घरधुरी, वडा नम्बर ४ का १९ घरधुरी, वडा नम्बर ५ का १२ घरधुरी, वडा नम्बर ६ का २५ घरधुरी, वडा नम्बर ७ का १० घरधुरी र वडा नम्बर ८ का ९ घरधुरीबाट फुस तथा खप्टाको छनो हटाएर टिनको छानो लगाएको थियो । पालिकाले अघिल्ला वर्षमा पनि १११ वटा घरमा टिनको छानो लगाएको पालिकाले जनाएको छ । यसवर्ष पनि पालिकाले टिनको छाना लगाउने कार्यलाई निरन्तरता दिँदैछ ।

आफ्नो कार्यकालभित्र गाउँपालिकाभित्रका सम्पूर्ण फुुस तथा खप्टाका घरुहरुमा टिनको छानो लगाउने लक्ष्यका साथ काम भइरहेको पालिका अध्यक्ष डम्मरबहादुर बिक बताउँछन् । उनका अनुसार सुरक्षित आवास कार्यक्रम जस्तै अन्य योजनाहरुलाई यस वर्ष अ.ल्या. योजनामा समेटिएको छ । खजुराले क्रमागत रुपमा सञ्चालन गरेका योजनाहरुमध्ये वडा नम्बर ४ को प्रशासकीय भवनको काम ४० प्रतिशत सम्पन्न भइसकेको छ भने खजुरा बजारमा निर्माणाधीन नाली, वडा नम्बर ४ मा निर्माणाधीन ज्येष्ठ नागरिक खुसियाली घर निर्माणको काम अन्तिम चरणमा छ ।

यसैगरी वडा नम्बर ५ मा निर्माणाधीन शीत भण्डारको २५ प्रतिशत काम सम्पन्न, खजुरा गाउँपालिकाभित्र जडान गरिने हाइमास्टको काम ९० प्रतिशत सम्पन्न भएका छन् भने यसवर्ष पालिकाको प्रशासकीय भवन, १५ शै्यया अस्पताल, बहुउद्देश्यीय सभाहलको काम यसवर्ष सम्पन्न गर्ने गरी काम भइरहेको पालिकाले जनाएको छ । योजना सम्पन्न गर्न गाउँपालिकाबाट कुनै कमजोरी नभए पनि आवश्यक निर्माण सामाग्री समयमा उपलब्ध नहुनुले केही बाधा पुग्ने गरेको योजना शाखा प्रमूख बुढाले जानकारी दिए । पालिकाको विकास निर्माणका क्रममा जनशक्ति अभावका कारण सोचेजस्तो काम हुन नसकेको उनको भनाई छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०८:५६

लोकप्रिय