सूचनाको शक्ति - The Power Of Information

        

पालिका उज्यालो कार्यक्रम

हाइमाष्ट र ट्रान्सफर्मर जोडिएपछि उज्यालिँदै खजुराका बस्तीहरु

हाइमाष्ट लाइट जडानपछि रात्रीकालिन समयमा पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधन र पैदल यात्रुलाई रातीको समयमा ढुक्क भएर हिँडडुल गर्न सहज भएको छ ।

खजुरा गाउँपालिकाले ग्रामीण, शहरोन्मुख बस्तीहरुलाई उज्यालो बनाउने विभिन्न कार्यक्रमहरु अघि सारेको छ । अघि सारेका कार्यक्रमहरु केही सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनको तयारीमा छन् । पालिकालाई उज्यालो बनाउने कार्यक्रम अन्तरगत पालिकाले ल्याएको पहिलो कार्यक्रम हो, ‘हाइमाष्ट लाइट’ जडान । कार्यक्रम अन्तरगत गाउँपालिकाका मुख्यमुख्य चोक–चोकलाई खजुरा गाउँपालिकाले ग्रामीण, शहरोन्मुख बस्तीका मुख्यमुख्य चोक चोकमा उच्च क्षमतायुक्त ‘हाइमाष्ट लाइट’ जडान गरिएको छ ।

ग्रामीण बस्तीका चोक–चोकमा उच्च गतिको प्रकाश दिने ‘हाइमाष्ट लाइट’ जडान गरेपछि ग्रामीण बस्तीहरु झिलिमिली भएका छन् । २०८० साउन १२ गते खजुरा गाउँपालिका वडा नम्बर ५ को उढरापुरस्थित भट्टी चोकमा हाइमास्ट लाइटको औपचारिक शुभारम्भ गरेर अभियानकै रुपमा ल्याइएको ‘हाइमाष्ट लाइट’ जडान कार्यक्रम तीव्ररुपमा विस्तार भएसँगै हालसम्म पालिकाका विभिन्न वडाका चोक चोकमा जडान भइसकेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ले जानकारी दिए ।

हालसम्म खजुरा गाउँपालिका वडा नं. २ को सीतापुर चोक र रिमझिम चोक, वडा नं. ३ को खजुरा बजारस्थित पृथ्वी चोक, वडा नं. ३ र ४ को सीमा एक नम्बर प्रहरी बिट, वडा नं. ५ उढरापुर भट्टीटोल, वडा नं. ६ को सिमलघारी चोक, वडा नं. ८ को रनियापुरको रिहार चोक र क्यान्सर अस्पताल परिसरमा हाइमास्ट लाइट जडान गरिसकिएको छ । अन्य महत्वपूर्ण र संवेदनशील स्थानमा पनि हाइमास्ट लाइट जडानका लागि चालु आर्थिक वर्ष २०८०–०८१ मा पनि हाइमाष्ट लाइट थप ठेक्कातर्फ १४ लाख ५५ हजार ३३४ र हाइमाष्ट लाइट जडानतर्फ ३१ लाख रु.३९ हजार गरी कुल रु.४६ लाख १४ हजार ३३४ रकम विनियोजन गरेको छ ।

पालिकालाई उज्यालो बनाउने कार्यक्रम अन्तरगत पालिकाले ल्याएको दोस्रो कार्यक्रम हो, ‘विद्युत ट्रान्सफर्मर’ जडान । विद्युत भोल्टेजको समस्या समाधानका लागि गाउँपालिकाले विद्युत ट्रान्सफर्मर जडान गर्ने भएको छ । यसबाट विद्युत भोल्टेजको समस्यमा झेल्दै आएका गाउँपालिकाका ग्रामीण बस्तीका नागरिकहरु उक्त समस्याबाट मुक्त हुनेछन् । ‘विद्युत भोल्टेज न्यून हुँदा निकै समस्या छ, ट्रान्सफर्मर राखेको भए भोल्टेज तलमाथि हुँदैन्थ्यो,’ खजुरा–७ का सन्तोष बर्माले भने, ‘भोल्टेजकै कारण विद्युतीय उपकरण विग्रिने समस्या हटेको छ । ट्रान्सफर्मर राखेपछि भोल्टेजको समस्या हट्ने विश्वास छ ।’

‘सबै वडामा विजुली पुर्याइसकेका छौं,’ गाउँपालिकाका अध्यक्ष विकले भने, ‘केही वडाहरुमा विद्युत भोल्टेज न्यून हुने समस्या देखिएको छ । ट्रान्सफर्मर जडान गरेपछि त्यो समस्या समाधान हुन्छ ।’ गाउँपालिकाले आठ वटा वडाका विभिन्न स्थानमा भोल्टेज न्यून हुने समस्या देखिएकोले ती स्थानमा ट्रान्सफर्मर जडान गरेपछि पुरै गाउँपालिकामा विद्युतको समस्या समाधान हुने उहाँको दावी छ । गत वर्ष विद्युत प्रधिकरणसँगको समन्वयमा ट्रान्सफर्मर जडान गरेको गाउँपालिकाले यस बर्ष आफै ट्रान्सफर्मर खरीद गर्ने अध्यक्ष विकले बताए । उनले भने, ‘गाउँपालिकाको आफै खरीद गर्नेछ । ट्रान्सफर्मर जडानका लागि विद्युत प्राधिकरणसँग प्राविधिक सहयोग लिनछौं ।’

हाइमाष्ट लाइट र ट्रान्सफर्मर जडान गरेसँगै खजुराका गाउँबस्ती र शहर बजारहरुको सौन्दर्यकरणसँगै, सवारी दुर्घटना न्यूनीकरण, चोरीका घटनामा कमी आउने अध्यक्ष विकले बताए । हाइमाष्ट लाइट जडानपछि रात्रीकालिन समयमा पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधन र पैदल यात्रुलाई रातीको समयमा ढुक्क भएर हिँडडुल गर्न सहज भएको छ । गाउँपालिकाका अध्यक्ष विकका अनुसार उच्च क्षमतायुक्त हाइमास्ट बत्ती जडान गरेपछि राती हिँड्ने पैदल यात्रु र विहानै झिसमिसेमा कलेज जाने विद्यार्थीलाई समेत आवतजावतमा सहजता मिलेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:२०

लोकप्रिय