सूचनाको शक्ति - The Power Of Information

        

जेष्ठ नागरिकलाई घरमै निःशुल्क सेवा

खजुरा गाउँपालिकामा ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ बरदान सावित

खजुराले सञ्चालन गरेको अर्को सफल कार्यक्रम हो सुत्केरी तथा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम ।

खजुरा गाउँपालिका वडा नम्बर ५ का ७५ वर्षिय दिलकुमारी रेग्मी घरमै स्वास्थ्य सेवा पाउँदा हर्सित छिन् । सामान्य उपचार गर्नका लागि दिलकुमारीलाई अस्पतालसम्म जान अप्ठेरो छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै बुझन र चेकजाँच गर्न स्वास्थ्यकर्मी आएपछि उनले सरकार आँगनमै आएको महसुस गरिन् । वडा नम्बर ६ का ७८ वर्षिय सन्तबहादुर सुनारले स्वास्थ्यकर्मीहरु घरमै आएर सेवा गर्छन् भन्ने सोचेका थिएनन् ।

‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’मार्फत सुनारको घरमै स्वास्थ्यकर्मीको टोली पुगेर उनको सुगर, प्रेसर तथा अन्य चेकजाँचका साथै औषधिसमेत दिएपछि उनी दंग परे । निर्वाचनका बेला मात्र सुनेका आश्वासनका ती शव्दहरु अहिले पुरा भइरहेको सुनारले बताए । खजुरा गाउँपालिकाले सुरुमा यो कार्यक्रम ल्याउँदा कतिपयले यो अनावश्यक हो भन्न भ्याए । वडैपिच्छे स्वास्थ्य चौकी छन् ।

त्यहि जेष्ठ नागरिकलाई सेवा दिए हुन्न ? जसले अनावश्यक भन्दै आएका थिए, उनीहरुकै घरमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको हेरचार र उपचारमा सहयोग गरेपछि कार्यक्रमको प्रभावकारीताको प्रसंशा हुन थालेको छ । घरबाट स्वास्थ्य कार्यालयसम्म स्वास्थ्य चेकजाँच गर्न जान पनि मुस्किल पर्ने जेष्ठ नागरिकहरुका लागि स्थानीय सरकारले ल्याएको ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ बरदान सावित बनेको छ ।

घर–घरमै स्वास्थ्य सेवा पुर्याउँछौं भन्ने बाचा जनप्रतिनिधिहरुले पुरा गर्दैछन् । खजुरा गाउँपालिकाले ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ सुरु गरेपछि निर्वाचनका बेला आशा व्यक्त गरिएका कुराहरु पुरा हुँदै गएको पालिकामा रहेका जेष्ठ नागरिकहरु बताउँछन् । जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तरगत झण्डै दुई हजार जेष्ठ नागरिक तथा अशक्त असहायहरुको सेवा तथा उपचार गरिएको स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख दिपक ढकालले जानकारी दिए ।

पालिकाभर दुई हजार ३०० जनालाई सेवा दिइने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । कुनै पनि जेष्ठ नागरिकहरु उपचारबाट बञ्चित नहुन र प्रत्येक जेष्ठ नागरिकको घरदैलोमा जसरी भए पनि पुग्न कर्मचारीलाई दिइएको निर्देशन अनुसार काम भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जनाए । खजुरामा स्थानीय तहको निर्वाचनपछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ ल्याएको थियो ।

स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको पाइएको छ । पालिकाले स्वास्थ्यकर्मीसहित प्रत्येक घरघरमा पुगेर ज्येष्ठ नागरिकहरुको सुगर, प्रेसर लगायत स्वास्थ्य परिक्षण गर्दै उनीहरुलाई आवश्यक परामर्शसहित निःशुल्क औषधी वितरण गर्दै आएको छ । आफ्नै घरमा निशुल्क सेवासहितको औषधी उपचार पाएपश्चात घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जेष्ठ नागरिकहरु बताउँछन् ।

घरआँगनमै स्वास्थ्य उपचार पाएपछि जेष्ठ नागरिकहरुले अहिले स्थानीय सरकार भएको महसुस गरिरहेका छन् । नागरिकहरुको मन जित्न अझै यी र यस्ता प्रकारका नयाँ अभ्यासहरु स्थानीय तहले गर्न सके नागरिकले सिंहदरवारको अधिकार गाउँमै आएको महसुस हुने जेष्ठ नागरिकको भनाई छ । स्थानीय सरकारले ६८ वर्ष पुगेका जेष्ठ नागरिक तथा अशक्त नागरिकको घरमै गएर स्वास्थ्यकर्मीहरुले नियमितरुपमा मासिक एकपटक स्वास्थ्य परिक्षणसहित यो कार्यक्रमको सुरुवात भएको हो ।

यसका लागि खजुरा गाउँपालिकाले चार जना स्वास्थ्यकर्मीलाई छुट्टै व्यवस्था गरि खटाइएको छ । आठ वटा वडा रहेको खजुरामा प्रत्येक स्वास्थ्यकर्मीलाई दुई वटा वडा हेर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मीले नियमित रुपमा सुगर, रक्तचाप, रक्तचापको परिक्षण तथा चेकजाँच, कान तथा आँखाको परिक्षण लगायत सुगर तथा प्रेसरको औषधि पनि निःशुल्क वितरण गर्दै आइरहेका छन् ।

यसका साथै भिटामिन लगायत आँखामा हाल्ने औषधि पनि निःशुल्क प्रदान गरिएको छ । अस्पतालसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि यो कार्यक्रम अतिउपयोगी र प्रभावकारी मानिएको खजुरा गाउँपालिका अध्यक्ष विकले बताए । उनले जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम बनेकोमा आफुसँगे स्थानीय जेष्ठ नागरिक खुसी बनेको बताए । त्यसो त ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ मात्र नभएर खजुरा गाउँपालिका प्राकृतिक श्रोत साधनले सम्पन्न नभए पनि स्वास्थ्य क्षेत्रमा भने फड्को मार्दैछ ।

खजुरा आफ्ना स्वर्णीम पाइलाहरु अघि बढाउँदै स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ । नगरोन्मुख पालिकाका रुपमा रहेको खजुराले एकपछि अर्को गर्दै आफ्ना पाइलाहरुलाई अघि बढाएको छ । स्थानीय तहको निर्वाचनपछि खजुराले अन्य क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण र संवेदनशील भएर विभिन्न कामहरु अघि बढाएको छ । स्वास्थ्यजस्तो संवेदनशील विषयलाई मध्यनजर गर्दै स्थानीय सरकार गठनपछि खजुरा गाउँपालिकाले पनि जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन भरपुर कोशिष गरिरहेको छ ।

गाउँपालिकाका अध्यक्ष विकले गाउँपालिकालाई स्वास्थ्यको हव बनाएर अघि बढ्ने गरी काम भइरहेको बताए । उनले गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुलाई ब्यवस्थित र सेवामुखी बनाउन पनि बिशेष पहल भइरहेको बताए । अध्यक्ष विकले खजुराका जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुनेगरी स्वास्थ्य चौकीबाट दिइने सेवालाई आधुनिक र सेवामैत्री बनाउने बताए । नागरिकको स्वास्थ्य नै मुल धन रहेको महसुस गर्दै पालिकाले स्वास्थ्य क्षेत्रको विकासलाई विशेष जोड दिएको उनको भनाई छ ।

खजुराले स्वास्थ्य शाखा मार्फत आफ्ना कार्यक्रमहरु जनतामाझ लगेर नागरिकमैत्री सेवा प्रदान गरिरहेको गाउँपालिकाका अध्यक्ष विकले जानकारी दिए । वडा स्तरमा रहेका स्वास्थ्य संस्थाबाट स्थानीयलाई सेवा दिन सकिएको स्वास्थ्य शाखा प्रमुख ढकालले जानकारी दिए । खजुरा गाउँपालिकाले सञ्चालन गरेको अर्को सफल कार्यक्रम हो सुत्केरी तथा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम । यो कार्यक्रमले खजुराभित्रको ८ वटा स्वास्थ्य संस्थाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई क्याल्सियम वितरण गरिएको थियो ।

यसबाट गर्भवती तथा सुत्केरीलाई सहज सेवा दिन कार्यक्रम सञ्चालन गरिएको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिइन् । चालु आर्थिक वर्षमै खजुराले पालिकाभित्रका वडा नम्बर ४, ६ र ८ मा स्त्रीरोग विशेषज्ञ शिविर सञ्चालन गरी ५५५ जनाको स्वास्थ्य गरिएको थियो । स्वास्थ्य शाखाका अनुसार गाँउपालिकाका ८ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको औषधिको वितरण कार्य सुरु गरिएको छ । पालिकाको ६ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ ।

पालिकाभित्र गर्भवतीहरुलाई निशुल्क हुने गरी भिडियो एक्स रे सेवा पनि सुरुवात गरिएको स्वास्थ्य शाखाले जनाएको छ । सुत्केरी महिलालाई पोषिलो खानेकुरा वितरणदेखि निशुल्क एम्बुलेन्सको व्यवस्था पनि पालिकाले गरेको छ भने दुई पटकसम्म घरमै पुगेर सुत्केरीको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । यसबाट एक हजार बढी आमाहरुले सेवा पाएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले खजुरामा निःशुल्क रुपमै गर्भपतन सेवालाई थप गरेको छ ।

विगतमा वडा नम्बर ३, ५, ७ र ८ मा यो सेवा रहे पनि हाल वडा नम्बर १ र २ बाट पनि उक्त सेवा दिइन सुरु गरिएको छ । क्षयरोगका विरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले क्षयरोगको उपचार केन्द्र थप गरिएको छ । विगतमा ६ वटा स्वास्थ्य संस्थाबाट यो सेवा दिँदै आए पनि अहिले दुई वटा वडामा थप गरि ८ वटै स्वास्थ्य संस्थामा सेवा विस्तार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारले जानकारी दिए । पालिकाभित्र पाँच ठाउँमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जसबाट एक हजार ४०० महिलाहरुले सेवा लिएका छन् ।

खजुराले समय समयमा स्वास्थ्य शिविरको आयोजना गरी जनतालाई स्वास्थ्यको पहुँचसम्म पु¥याउन काम गरिरहेको छ । पालिकाले नेपालगन्जमा रहेको फत्तेवाल आँखा अस्पतालको प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ केन्द्रहरुमा शिविर सञ्चालन गरिसकेको छ । जसबाट एक हजार २०० भन्दा बढीले सेवा लिनु भएको थियो । खजुरामा विभिन्न सस्थासंगको सहकार्यमा विशेषज्ञ सेवा सहितको शिविर संचालन गरिने गरिएको छ । जसले गर्दा खजुरामा स्वास्थ्य सेवा नपुगेको स्थानमा पनि सहजै सेवा दिन सकिएको छ ।

माघ महिनामा फैलिएको दादुराको महामारीलाई समयमै २० हजारभन्दा बढी बालबच्चाहरुलाई खोप लगाएर समयमै नियन्त्रण गर्न सकिएको थियो । आँखा पाक्ने रोग तथा डेंगीको रोगको नियन्त्रणका लागि प्रचारप्रसार तथा आवश्यक निशुल्क जाँच तथा औषधी उपचारको ब्यवस्था मिलाइएको शाखा प्रमुख ढकालले बताए । खजुराले स्वास्थ्यमा संवेदनशील हुँदै कोही पनि विरामीलाई औषधि उपचार नपाएर ज्यान गुमाउन नपरोस् भनेर आर्थिक सहायता समेत गर्दै आएको छ । विरामिलाई गरिने आर्थिक सहायता पर्याप्त नभएको र त्यसलाई थप गर्दै लैजाने पालिकाको रहेको अध्यक्ष विकले बताए ।

आर्थिकरुपमा विपन्न रोगीहरुलाई उपचारका लागि ५० जनाभन्दा बढीलाई आर्थिक सहयोग गरिएको स्वास्थ्य शाखाले जनाएको छ । खजुरा गाउँपालिकाभित्र सबै वडामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका परिचारलन गरी बालबालिकाका लागि स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । नागरिकका लागि स्वास्थ्य सेवा सर्वसुलभ रुपमा प्रदान गर्नु नै पालिकाको कर्तव्य भएको अध्यक्ष विकले बताए । उनले स्वास्थ्य सेवा गुणस्तरीय रुपमा सञ्चालन गर्न पालिका हरदम प्रयासरत रहेको बताए । अध्यक्ष विकले स्वास्थ्य उपचारबाट कोही नागरिक बञ्चित नहुने गरी काम गर्ने प्रतिवद्धता जाहेर गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ०९:५९

लोकप्रिय