सूचनाको शक्ति - The Power Of Information

        

नेपालमै पहिलो

खजुरामा अपाङ्ग तथा जेष्ठ नागरिकलाई डिजिटल कार्ड, ‘नेपालमै पहिलो’

बाँकेको खजुरा गाउँपालिकाका सबै वडाबाट व्यक्तिगत तथा सामाजिक सुरक्षालाई पनि अनलाइन प्रणालीसँग जोडेको छ ।

अपाङ्गता भएका व्यक्तिलाई डिजिटल कार्ड वितरण गरिँदै ।

नेपाल सरकारले हरेक सरकारी कार्यालय, विभाग वा मन्त्रालयसमेत पेपरलेस (डिजिटल प्रविधिमा) जाने भनेर त्यसतर्फ जाँदै गरेको अवस्थामा स्थानीय तहले समेत आफुलाई प्रविधियुक्त बनाउनैपर्ने हुन्छ । सरकारले नागरिक एपमार्फत संघीय सरकारले दिने सेवा सुविधालाई एकत्रित गरेर सोको माध्यमबाट मोवाइल नम्बरकै आधारमा सेवाग्राहीको सम्पूर्ण विवरण निकाल्ने र सोही एपको तथ्यांकलाई आधार मानेर कार्य सम्पादक गर्दै आएको छ । जसले गर्दा सेवाग्राहीलाई सहजतासँगै सरकारको हातमा सम्पूर्ण सूचना, राजस्व र कार्य सम्पादनमा समेत सहजता आएको छ ।

यस्तो अवस्थामा स्थानीय तहले प्रदान गर्ने सम्पूर्ण सेवाहरु, तिर्नुपर्ने राजस्व र कयौं किसिमका सिफारिसलाई अनलाइनमार्फत नै गराउँदा पालिकाको कर्मचारी र जनप्रतिनिधिहरुको ठूलो समय समेत बचत हुने गर्छ । देशका केही स्थानीय तहले सुरु गरेका डिजिटल पालिकाको अवधारणाले सफलता हासिल गरेको छ । भरतपुर महानगर, धरान उपमहानगर लगायतका केहि पालिकामा डिजिटल कार्यमा कयौं कामहरु हुने गरेका छन् । खजुरा गाउँपालिकाले पालिकाबासीलाई छिटोछरितो सेवा प्रदान गर्न र पालिकालाई प्रविधिमैत्री बनाउन आव २०८०–०८१ को बजेटमै आवश्यक रकम बिनियोजन गरेको पालिका अध्यक्ष डम्बरबहादुर विक तुफान बताउँछन् ।

गाउँपालिकाको डिजिटल प्रोफाइल तयार गरी सेवा प्रवाहलाई विद्युतिय सेवासँग आवद्ध गर्दै गाउँपालिकालाई डिजिटल गाउँपालिकाको रुपमा विकास गर्न रु.२५ लाख ६० हजार रकम विनियोजन गरेको अध्यक्ष विकले बताए । ‘हामी गाउँपालिकालाई पूर्णतः डिजिटल गाउँपालिकामा रुपान्तरण गर्दैछौं र सोका लागि बजेट व्यवस्थापनदेखि कर्मचारीको प्रशिक्षण वा तालिमको कार्यमा अग्रसर छौं,’ उनले भने । उनले बिस्तारै खजुरा गाउँपालिका केही बर्षमै डिजिटल गाउँपालिकाको रुपमा रुपान्तरण भई सबै पालिकाबासीले सहज र छिटोछरितो रुपमा इन्टरनेटको माध्यमबाटै कयौं सुविधाहरु प्राप्त गर्ने वातावरण तयार र त्यसका लागि जनप्रतिनिधिहरु कटिबद्ध भएर लागेको बताए ।

सम्भवतः बाँके जिल्लामै पालिकालाई डिजिटल गाउँपालिकाको रुपमा विकास गर्न ठूलो रकम विनियोजन गर्ने पहिलो पालिका नै खजुरा गाउँपालिका हो । गाउँपालिकाको डिजिटल प्रोफाइल तयार गरी राजस्व संकलन, विभिन्न किसिमका सिफारिस, अनुदान र सोको तथ्यांक, सुचना तथा पालिकाको संदेश, किसानको तथ्यांक, घरनक्सा पास जस्ता धेरै कार्यहरु डिजिटल र एप वा ईन्टरनेटको माध्यमबाट कार्य सम्पादन गर्ने गरी योजना बनाएर गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको हो । हाल गाउँपालिकाले पालिकाको हरेक सूचना तथा जानकारीहरु पालिकाबासीको सहजताका लागि पालिकाको आधिकारिक फेसबुक पेज, ट्वीटर (एक्स) तथा जानकारीमूलक सूचना भिडियो भएमा युट्युबमा र वेबसाइटमा राख्ने गरेको खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश साहु बताउँछन् ।

‘हामीले पालिकाको हरेक सुचना पालिकाले जारी गरेको कुनै पनि जानकारीहरु वा आवश्यक सुचनाहरु पालिकाको फेसबुक पेज, ट्वीटर (एक्स), युट्युब र वेबसाइटमा राख्छौं । यसमा हामी हरेक दिन अपडेट छौं । गाउँपालिकाको फेसबुक पेजमार्फत स्थानीयबासीले सजिलै जानकारी प्राप्त गर्नुभएको छ,’ सूचना प्रविधि अधिकृत साहुले भने । सूचना प्रविधि अधिकृत साहुका अनुसार १४८ जना अपाङ्ग तथा जेष्ठ नागरिकलाई डिजिटल कार्ड वितरण गरिएको छ । सिम्स सफ्टवेयर प्रणाली लागु गरी अपाङ्गता भएका तथा जेष्ठ नागरिकलाई डिजिटल कार्ड वितरण गरिएको हो ।

‘खजुरा गाउँपालिकाले नेपालमै पहिलो पटक डिजिटल कार्डको शुभारम्भ गरेका हौं, यो प्रणालीलाई अझै परिस्कृत गर्दै सबै नागरिकको पहुँचसम्म पुर्याउन हामीहरु लागिपरेका छौं । छिट्टै यो प्रणाली सबैको पहँचमा पुग्ने गरी विस्तार हुनेछ,’ गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले दावी गरे । खजुरा गाउँपालिकाले सबै वडा तथा सामुदायिक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरेको छ । एकीकृत प्रणालिमा आधारित ५८ वटा ई–हाजिरी मेसिनको व्यवस्था गरिएको सूचना प्रविधि अधिकृत साहुले बताए । जसबाट पालिकाबाटै सबै सामुदायिक विद्यालय र वडाका कर्मचारीहरुको हाजिर मोनिटरिङ्ग गर्न सकिन्छ भने पालिकामा डिजिटल हेल्प डेस्क समेत राखिएको छ ।

खजुरा गाउँपालिका शिक्षा तथा प्रविधिको प्रयोगका हिसाबले पनि अग्रस्थानमा रहेको छ । त्यस्तै गाउँपालिकाले पालिकाभित्रका विभिन्न चोकहरुमा फ्री वाइफाई जडान गरेर पालिकाका नागरिकलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्दै आएको छ भने गाउँपालिकाका सबै वडाबाट व्यक्तिगत तथा सामाजिक सुरक्षालाई पनि अनलाइन प्रणालीसँग जोडेको छ । पालिकाले राजस्व तथा कर संकलनलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमै जोडेको छ । सूचना प्रविधिलाई थप परिस्कृत गर्न स्मार्ट गाउँपालिका बनाउन रु.२५ लाख ६० हजार रुपैयाँ समेत विनियोजन गरेको अध्यक्ष विकले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १२:२७

लोकप्रिय