सूचनाको शक्ति - The Power Of Information

        

विकासमा समृद्धि

खजुरामा गौरवका योजना, पूर्वाधार विकास प्राथमिकतामा

खजुरा गाउँपालिकाले अघि सारेका गौरवका योजना मात्र नभई सबै योजना जनप्रतिनिधि र कर्मचारीको समन्वयले कार्यान्वयनमा सफलता प्राप्त हुने गरेको छ ।

बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० मा सडक कालोपत्रे, बसपार्क जग्गा खरीद तथा निर्माण, सहिद पार्क निर्माण, डम्पिङ्ग साइड निर्माण, घिया तालको डिपिआर तथा निर्माण, भूमी व्यवस्थापन, प्रशासनीक भवन कम्पाण्ड वाल, पार्किङ्ग, गार्डेन निर्माण जस्ता केही गौरवका योजना अघि सा¥यो । ती योजनामध्ये तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । वडा नं. १, २, ३, ४, ७ र ८ सम्मका सडक कालोपत्रे भएका छन् ।

यही सडक कालोपत्रेको काम यस आर्थिक वर्षमा २०८०–०८१ मा पनि यही अनुपातमै हुनेछ । ‘गौरबका योजनाले नै खजुराको समुन्नत विकासमा टेवा पुग्नेछ,’ खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ भन्छन्, ‘हाम्रो नीति नै गौरवका योजना सञ्चालन गरेर खजुराको विकास गर्नु हो ।’ अध्यक्ष विक खजुराको विकासका लागि हिजो गरिएका बाचा पूरा गर्न पनि गौरवका योजनाले मद्दत गरिरहेको बताउँछन् ।

उनले आर्थिक वर्ष २०७९–०८० मा अघि सारेका गौरवका योजना क्रमिकरुपमा काम अघि बढेको बताउँदै खजुरालाई नमूनाको रुपमा विकास गर्नमा पनि यी योजना महत्वपूर्ण कडीकोे रुपमा रहेको बताए । खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले चालु आर्थिक वर्षमा अघि सारेको गौरवका तर, बहुवर्षिय योजनालाई निरन्तरता दिन बजेट विनियोजन गरेको बताइन् । यस्ता आयोजनाहरुका लागि क्रमागतरुपमा बजेट विनियोजन गर्दै लैजाने उनको भनाई छ ।

उनले गाउँपालिकाको प्रशासनीक भवन कम्पाण्ड वाल, पार्किङ्ग, गार्डेन निर्माणका लागि ५० लाख, घिया तालको डिपिआर तथा निर्माणका लागि २८ लाख, सहिद पार्क निर्माणका लागि ५५ लाख, बसपार्क जग्गा खरीद तथा निर्माणका लागि १ करोड, डम्पिङ्ग साइड निर्माणका लागि १६ लाख र भूमी व्यवस्थापनका लागि २५ लाख रुपैयाँ विनियोजन गरी काम अघि बढाइएको छ भने शीतभण्डार निर्माणको काम सकिएको बताइन् ।

खजुरा गाउँपालिकाले अघि सारेका गौरवका योजना मात्र नभई सबै योजना जनप्रतिनिधि र कर्मचारीको समन्वयले कार्यान्वयनमा सफलता प्राप्त हुने गरेको छ । विकासका योजना कार्यान्वयनका लागि शुरुदेखि नै सबैले आफ्नो आफ्नो क्षेत्रबाट सकारात्मक ढंगले सोचेर कुनै द्विविधा नराखी अक्षरसः पालना गर्ने गरेको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना बताउँछन् ।

उनले अध्यक्ष, उपाध्यक्ष तथा अन्य सबै जनप्रतिनिधि र कर्मचारीबीचको आपसी सहकार्य, तालमेल र सकारात्मक सोंचका कारण खजुराले सफलता प्राप्त गर्दै आएको बताए । ‘हामीले हरेक आर्थिक वर्षमा ठूला र उपलब्धीमूलक योजना अघि सारेका छौं,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनारले भने, ‘यिनै योजना सफलतापूर्वक सम्पन्न गर्दै जाँदा खजुरा विकासमा अगाडि बढ्छ ।’

पालिकाका योजना अधिकृत केशव बुढाले बस्ती, वडा, विषयगत समिति, कार्यपालिका हुँदै गाउँसभाबाट पास भएर लागु गरिने योजना साझा हुने भन्दै योजना अनुसार बजेट विनियोजन गरेर अगाडि बढेकाले सफलता हासिल हुन थालेको उल्लेख गरे । उनले भने, ‘योजना सम्पन्न गर्न गाउँपालिकाबाट कुनै कमजोरी नभए पनि आवश्यक निर्माण सामाग्री समयमा उपलब्ध नहुनुले केही वाधा पुग्ने गरेको छ ।’

गाउँपालिकाले अघि सारेका योजनाका लागि प्राविधिक पक्ष पनि महत्वपूर्ण भएकाले पालिकाको टीम अहोरात्र खटिएको उनले बताए । गाउँपालिकाले अघि सारेका गौरव लगायतका अन्य योजना समयमा सम्पन्न गर्न आफुहरु खटिएको इन्जिनियर सोनु शाह बताउँछिन् । उनले समयमा योजना सम्पन्न गर्नका लागि समपुरक र केन्द्रबाट प्राप्त हुने रकम ढिलो विनियोजना हुँदा ढिला गरी टेण्डर आह्वान हुनु र खोलाजन्य पदार्थ तथा अन्य निर्माण सामाग्रीका कारण चुनौती हुने गरेको बताइन् ।

खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले विकासमा खजुराबासी उत्साहित भएको बताउँदै जनशक्ति अभावका कारण सोचेजस्तो काम हुन नसकेकोले यसतर्फ ध्यान दिन जरुरी रहेको औल्याइन् । खजुराले अंगिकार गरेको ‘हामी आफैं बनाऔं हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नारालाई साकार पार्न खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्दै गौरवका आयोजनामा जोड दिनुले खजुराले विकासमा सजिलै फड्को मार्ने उपाध्यक्ष मल्ल बताउँछिन् ।

त्यसो त नयाँ जनप्रतिनिधि आएको एक बर्षमै सुरुवाती केही काम देखेर खजुराबासी प्रभावित भएका छन् । ‘ठाउँठाउँमा बाटो, पुल–पुलेसा, भवनहरु बनेका छन्, यसले गर्दा गाउँपालिकाले समृद्धिको यात्रा पुरा गर्ने विश्वास लागेको छ,’ गाउँपालिकाबासीको भनाई छ । गाउँपालिकाबासीको अपेक्षा नै पूर्वाधार विकास भएकाले गाउँपालिकाले पनि सोही क्षेत्रमा बढी बजेट विनियोजन गरेको देखिन्छ । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि आएका हुन् ।

नयाँ जनप्रतिनिधिको प्राथमिकतामा सबैभन्दा बढी पूर्वाधार विकास नै रहेको छ । त्यसपछि कृषि, शिक्षा, स्वास्थ्य, खेलकूद जस्ता विषयहरुलाई प्राथमीकिकरण गरिएको छ । गाउँपालिकाभित्र सडक कालोपत्रे, कल्भर्ट, पक्की पुल, सामुदायिक भवन, पक्की नाला, सडक ग्राभेल, विद्यालय भवन जस्ता पूर्वाधारहरु प्राथमिकतामा परेका छन् । खजुरा गाउँपालिकाको गाउँसभाले आर्थिक बर्ष २०७९–०८० का लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेर पूर्वाधार विकासको कामलाई प्राथमिकता दिँदै निर्माण सम्पन्न गरेको छ ।

पूर्वाधार विकास अन्तरगत गाउँपालिकाले सडक कालोपत्रे, कल्भर्ट, पक्की पुल, सामुदायिक भवन, पक्की नाला, सडक ग्राभेल, विद्यालय भवन जस्ता पूर्वाधारहरु लगायतमा करोडौ बजेट खर्च गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९–०८० मा रु.८७ करोड ६४ लाख ९४ हजार १५९ रकम विनियोजन भएकोमा रु.६४ करोड ९३ लाख ६ हजार ८१३ रकम भएको देखिन्छ । जसमा रु.१३ करोड ३५ लाख ५७ हजार १६८ अर्थात् कूल बजेटको २१ प्रतिशत रकम पूर्वाधार विकासमा मात्रै खर्च भएको देखिन्छ ।

मुलुकमा संघीयताअघि विकासमा पछाडी परेको खजुरामा अहिले विजुली, सडक कालोपत्रे, कल्भर्ट, पक्की पुल, सामुदायिक भवन, पक्की नाला, सडक ग्राभेल, विद्यालय भवन जस्ता पूर्वाधार विकासका कामहरु खजुराबासीको रोजाइँमा पर्दै आएका छन् । पूर्वाधार विकासमै जनताको अपेक्षा बढी भएकाले स्थानीय सरकारले सोही क्षेत्रमा बढी रकम खर्च गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लको भनाई छ । उनले जनताबाट आएको माग र प्राप्त सुझावका आधारमा पूर्वाधार विकासलाई जोड दिएको बताइन् ।

‘जनताले प्रत्यक्ष देख्ने खालका कामहरु गरेका छौं, खजुराको समृद्धिका लागि जनप्रतिनिधिले सक्रियतापूर्वक सबैखालका जिम्मेवारी निभाएका छौं । हाम्रो कार्यकालमा धुलोरहित सडकमा नागरिकहरु हिँड्न पाउन भनने नीति लिएर सोही अनुसार कार्ययोजना बनाएर अघि बढेका छौं,’ उपाध्यक्ष मल्ल भनिन्, ‘पूर्वाधार विकासका काममा हामी निरन्तर अनुगमन गर्छौ, जहाँ कमजोरी देखिन्छ, त्यहाँ सुधार्न सुझाव दिन्छौं, जहाँ राम्रो काम देख्छौं, त्यहाँ निर्माण गर्ने उपभोक्ता र ठेकेदारलाई धन्यवाद पनि दिन्छौं ।’

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले पूर्वाधार विकासबाट खजुराबासी नागरिकले पनि सकारात्मक प्रतिक्रिया दिने गरेको बताए । गाउँपालिकालाई समृद्ध बनाउन आफूहरु जनताको सेवक भएर दिनरात काममा खटिएको उनी बताउँछन् । उनी भन्छन्, ‘जनतालाई सेवा दिन पाउँदा अत्यन्त खुशी लागेको छ, स्थानीय सरकारलाई सुशासनमा हिँडाएर जवाफदेही र जिम्मेवार बनाउन पाउँदा हामी जनप्रतिनिधिहरुलाई गौरवको अनुभूति भइरहेको छ ।’ विकासका पक्षमा बर्षौंदेखि रोकिएका पूर्वाधार विकासका कामहरु सम्पन्न गरेको अध्यक्ष विकको भनाई छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ०८:५४

लोकप्रिय