सूचनाको शक्ति - The Power Of Information

        

नागरिकको सुरक्षा र जनजीविका

‘सामाजिक सुरक्षाका कार्यक्रम’हरु प्रभावकारी बनाउँदै खजुरा गाउँपालिका

खजुरा गाउँपालिकामा सामाजिक स्वास्थ्य सुरक्षासँगै सामाजिक सुरक्षा भत्ताले पनि लाभग्राही नागरिकको जीवनस्तर सहज भएको छ । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनकै लागि कष्ट व्यहोर्नुपर्दैन ।

सामाजिक सुरक्षा लोककल्याणकारी राज्य व्यवस्थाको आधार हो भने सामाजिक न्यायको अनिवार्य सर्त हो । यसबाट कुनै पनि राज्य पृथक रहन मिल्दैन । अप्ठ्यारोमा परेका आफ्ना नागरिकको सुरक्षा र जनजीविकाको व्यवस्था राज्यले गर्नुपर्छ । नेपालमा सामाजिक सुरक्षाका कार्यक्रम धेरै पहिलेदेखि सञ्चालनमा रहे पनि संघीयतापछि स्थानीय सरकारहरुले कुनै न कुनै रूपमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरेका छन् । नेपालको वर्तमान संविधानमा पनि सामाजिक सुरक्षाको अधिकारलाई मौलिक हकका रूपमा उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिक, जोखिमयुक्त जीवनयापन गरिरहेका तथा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्ने केन्द्र सरकारको नीति अनुसार स्थानीय सरकारले पनि छुट्टै र नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । स्थानीय सरकारले सामाजिक संरक्षण, सहायता, योगदानमा आधारित सामाजिक सुरक्षा, सीप विकास, रोजगारी प्रवद्र्धनजस्ता सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्दै आएका छन् । यसै अनुरुप बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षासँग सम्बन्धीत फरक र नयाँ–नयाँ कार्यक्रमहरु बढ्दै गएका छन् ।

गाउँपालिकाले नागरिकको सामाजिक सुरक्षा बढाउन प्रत्येक वडामा विभिन्न क्रियाकलाप गरिरहेको छ । खजुरा गाउँपालिकाले आठ वटै वडामा निःशुल्क नागरिक स्वास्थ्य शिविर, निःशुल्क बीमा, विपन्न तथा दीर्घरोगीलाई उपचार खर्च जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले जानकारी दिए । खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० मा गाउँपालिकाभित्रका ८० जना विपन्न घरपरिवार र १०८ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

खजुरा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य अवस्थालाई सुरक्षित गर्दै सुत्केरी प्रेषण कार्यक्रम अन्तरगत पालिकाभित्रका ४४ जना गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । त्यस्तै जेष्ठ तथा अशक्त नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तरगत गाउँपालिकाका २ हजार ४०० भन्दा बढी घरमा गएर निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको छ । जसमध्ये ८४० जनाको सुगर जाँच गरिएको खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख दीपक ढकालले जानकारी दिए । साथै उनका अनुसार खजुराका सबै वडाहरुका एक एक वटा विद्यालयका ३ हजार ६६० जना बालबालिकाको स्वास्थ्य परिक्षण पनि गरिएको छ ।

गाउँपालिकाले पालिकाका तीन स्थानमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी ५५० जनाले सेवा दिएको स्वास्थ्य शाखा प्रमूख ढकालले बताए । उनका अनुसार विपन्न तथा दिर्घरोगीप्रति पालिका उत्तरदायी कार्यक्रम अन्तरगत ४२ जना विपन्न नागरिकलाई उपचार खर्च प्रदान गरिएको छ भने पालिकाका ६ वटा स्थानबाट १८५ जनालाई निःशुल्क गर्भपतन सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–०८१ का लागि पनि धेरै कार्यक्रम सञ्चालनको तयारी गरेको छ । पालिकाले अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रमका लागि रु.२० लाख रकम विनियोजना गरेको छ भने क्यान्सर पीडितको उपचार सहयोगका लागि रु.२ लाख छुट्टयाएको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमाका लागि यस बर्ष पनि रु.१ लाख ८९ हजार रकम छुट्टयाएको छ भने सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि रु.२ लाख ५० हजार, स्त्रीरोग सम्बन्धी प्रत्येक वडामा विशेषज्ञ सेवा सञ्चालनका लागि रु.४ लाख, अध्यक्षसँग आपतकालिन सुत्केरी सेवाका लागि रु.१ लाख, उपाध्यक्षसँग गर्भवती कार्यक्रमका लागि रु.३ लाख,विपन्न दीर्घरोगीसँग पालिका उत्तरदायी कार्यक्रमका लागि रु.४ लाख विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिए । गाउँपालिकामा सामाजिक सुरक्षाका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको पनि उनले बताए ।

उनले भनिन्, ‘गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पोषिलो खानेकुरा र बच्चाका लागि कपडा पाएका छन् । गर्भवती महिलाका लागि निःशुल्क एम्वुलेन्स सेवाले धेरै गर्भवतीको ज्यान जोगिएको छ । यसले गाउँपालिकाका गर्भवती महिलाहरु खुसी भएका छन् ।’ सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरित गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष मल्लले बताइन् ।

‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि पाइने हुँदा कार्यक्रम उपलब्धिमूलक भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख ढकालले बताए । ग्रामीण भेगमा तथा मधेसी र मुस्लिम बाहुल्यता भएका क्षेत्रमा अझै महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ । यसका कारण शिशु मृत्युदर तथा पोषण सम्बन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेकोले गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका उपाध्यक्षसँग गर्भवती कार्यक्रम प्रभावकारी रहेको गाउँपलिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम, विपन्न तथा दिर्घरोगीप्रति पालिका उत्तरदायी कार्यक्रम, स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन, निःशुल्क गर्भपतन सेवा लगायतका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले जानकारी दिए । उनले भने, ‘खजुरा गाउँपालिकामा रहेका प्रत्येक नागरिकको जीवनस्तर देख्न र नाप्न सकिने पुँजीको विकास र उत्पादन सहयोगी भौतिक पूर्वाधारहरुको विकास गरिरहेका छौं । यसले पनि सामाजिक सुरक्षाको दायरलाई थप मजबुत बनाएको छ ।’ साथै उनले सामाजिक स्वास्थ्यको सुरक्षासँगै सामाजिक सुरक्षा भत्ताले पनि लाभग्राही नागरिकहरुको जीवनस्तर सहज भएको बताए ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले भने, ‘विगतमा सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिकामै पुग्नुपर्ने अवस्था थियो । जेष्ठ नागरिकलाई समस्या नहोस् भनेर अहिले बैंकमार्फत घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । अहिले पालिकाका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनकै लागि कष्ट व्यहोर्नुपर्दैन । उहाँहरुलाई पनि सजिलो महशुस भएको छ ।’ गाउँपालिकाले बैंकमार्फत सहजरुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् ।

७० बर्ष पुगेका जेष्ठ नागरिकलाई रु.४ हजार, ६० बर्ष पुगेका दलित जेष्ठ नागरिक, एकल महिला र पतिको मृत्यु भएको जुनसुकै उमेरका विधवा महिलालाई रु.२ हजार ६६०, पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रु.३ हजार ९९०, अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई रु.२ हजार १२८ र लोपोन्मुख, आदीवासी र जनजातीलाई रु.३ हजार ९९० र नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरीका दलित परिवारका पाँच बर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई रु.५३२ प्रतिमहिनाका दरले भत्ता उपलब्ध हुँदै आएको छ । गाउँपालिकामा रहेका अग्रज जेष्ठ नागरिकहरुको योगदानको पूर्ण कदर गर्दै उहाँहरुलाई सम्मान गर्दै आएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतवार ०८:२४

लोकप्रिय