सूचनाको शक्ति - The Power Of Information

        

गरिबीले रुस पठायो, युद्धले ज्यान लियो

बागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुगे । रुस पुगेको पाँच महिनामै घरमा मृत्युको खबर आयो । जीतबहादुरको मृत्युको खबरले सिङ्गो गाउँनै यतिबेला दुःखमा छ । सामान्य परिवारका जीतबहादुरले लामो समय गाउँमा गाडी चलाए । गाडी चलाउनेबाहेक उनसँग अन्य सीप थिएन । व्यवसाय गर्नलाई परिवारको आर्थिक अवस्था नाजुक थियो ।

गाडी चलाएर परिवार पाल्न नसकेपछि धन कमाउने आश बोकेर जीतबहादुर रुस पुगेका थिए । रुस पुगेर रुसी सेनामा भर्ती भएका विकको बाबाआमा र श्रीमतीसँग निरन्तर सम्पर्क थिए । गत माघ १५ गते जीतबहादुरको श्रीमती विष्णु विकसँग सामान्य कुरा भयो । त्यस दिन उनले श्रीमतीसँग पहिले जसरी कुरा गरे । जीतबहादुरले आफ्नो साथीको फोनबाट विष्णुलाई कल गरेको थिए । पहिले जस्तो कुरा नगरेपछि विष्णु आत्तिएर निरन्तर कल गरी राखिन् ।

अन्ततः फोन जीतबहादुरले नउठाएर उनको साथीले उठाए । फोनमा जीतबहादुर सामान्य घाइते भएको खबर विष्णुलाई आयो । विष्णु झसङ्ग भए । उनलाई कतिबेला आफ्ना पतिलाई भट्ने भन्ने भयो । तर त्यो सम्भव थिएन । घाइते जीतबहादुरको केही दिनपछि मृत्युको खबर आयो । उनको मृत्यु भएपछि छोराछोरी र श्रीमतीको विचल्ली बनेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको विक परिवारमा अहिले बज्रपात नै परेको छ ।

खेती किसानी गरेर परिवार चलाउँदै आएकी जीतबहादुरकी पत्नी विष्णुले विदेशमा गएको श्रीमान्ले कमाएर ल्याउलान र छोराछोरीले मिठो मसिनो खुवाउँला र राम्रो लुगा लगाउलान् भन्ने आशा गरेका थिए । तर अब त्यो आशा कहिल्यै पूरा नहुने भयो । बुधबार मात्रै जीतबहादुरको मृत्युको खबर आएपछि परिवारले गाउँमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । विदेश जानेबेला राम्रो कमाई हुने ठाउँमा जान्छु भन्दै श्रीमान् अब कहिल्यै फर्कन्न भन्ने सुनेपछि विष्णु मुर्छा परिन् ।

‘विदेश जाने बेलामा मेरो चिन्ता नगर, अहिलेको जस्तो दुःख गर्न पर्दैन भन्नुभएको थियो, मैले पैसा पठाए भने ऋण तिरौँला भन्नुहुन्थ्यो, रु २५ देखि ३० लाखसम्म ऋण छ, अब कसरी तिर्ने ? छोराछोरी कसरी पढाउने ?’ विष्णुले भनिन्, ‘मैले उहाँको अन्तिम बोली माघको १५ गते सुनेको हुँ, त्यतिखेर अन्य बेलाको जस्तो कुरा भएन, बोली पनि अर्कै थियो, आफ्नो साथीकोबाट फोन गरेकी थिए, छोटो बोलेर फोन काट्नुभयो, म आतालिएर फोन गरि रहेँ, पटकपटक फोन गरेपछि उहाँको साथीले फोन उठाउनुभयो, मेरो परिवारलाई घाइते भएको कुरा नभन्नु भनेर साथीलाई भन्नुभएको रहेछ, धेरैपछि मात्रै घाइते भएको उहाँको साथीबाट थाहा पाएँ ।’

जीतबहादुरकी आमा धनकुमारी विकले कात्तिक पहिलो साताको बोली नै अन्तिम भएको बताइन् । विदेश जानेबेला धेरैले त्यो देशमा जान नहुने भने पनि केही समय दुःख गरेर फर्किन्छु भन्दै गएको धनकुमारीको भनाइ छ । कात्तिकमा फोन गरेर मलाई र बुबालाई स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दै केही समयमा पैसा पठाइदिने आश्वासन दिएका जीतबहादुरले त्यसपछि न फोन गरे, न पैसा पठाए । छोरोको मृत्युले घरनै अन्धकार भएको धनकुमारी बताउँछिन् । आफू लामो समयदेखि कान्छो छोरासँग बुटवलमा बस्दै आएको सुनाउँदै घरको आर्थिक अवस्था निकै कमजोर हुँदा छोरो विदेशिन बाध्य भएको उनको भनाइ छ ।

‘धेरैले नराम्रो छ, त्यो ठाउँमा जान हुँदैन भन्थे, गाउँमा रोजगार भएन, बारीमा काम गरेर खान नपुगेपछि विदेश गयो, विदेश गएको केही दिनपछि म आए आमा मेरो पीर नगर्नु भनेर फोन गरेको थियो, उसले कमाई राम्रो छ भन्थ्यो, दुई महिनामा १० लाख दिन्छ भनेको छ, पैसा पाएँ भने पठाइदिन्छु भन्थ्यो,’ धनकुमारीले रुँदै भनिन्, ‘चाहिएजतिको सामान किन्नु होला, धेरै चिन्ता नगर्नु बूढी हुनुभयो, आफ्नो र बाबाको ख्याल गर्नु भन्थ्यो, अहिले आफैँ रहेन, गाउँमा हुन्थ्यो भने जसरी भए पनि मुख देख्न पाउँथे, अब मेरो बाबुको अनुहार कसरी हेरुँ ?’

मृतक जीतबहादुरको १० वर्षीय छोरा र १२ वर्षकी कान्छी छोरी छन् । जेठी छोरीको विवाह भइसकेको छ । विकको आर्थिक अवस्था निकै कमजोर हुँदा ताराखोला गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत तीन वर्ष अगाडि घर बनाइदिएको थियो । दुई भाइमध्ये कान्छो थमबहादुर विक भने हाल पर्चुगल छन् । विक रुस जानुभन्दा पहिले साउदी र कतारमा पनि पुगेका थिए । ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले जीतबहादुर सानैदेखि निकै मेहनती, मिलानसार र सलर स्वाभावको रहेको भन्दै गरिबीका कारण विदेशिन बाध्य भएको बताए ।

मुख्य जिम्मेवार व्यक्तिको मृत्यु भएपछि परिवारको विचल्ली भएको अध्यक्ष घर्तीको भनाइ छ । उनले जीतबहादुरको मृत्युको खबर बुधबारमात्रै आए पनि माघ २० गते नै भएको बताए । युद्धका क्रममा घाइते भएर अस्पताल उपचार गर्दै गर्दा जीतबहादुरको मृत्यु भएको विदेश पठाउने एजेन्टले जानकारी गएको घर्ती बताउँछन् । अध्यक्ष घर्तीले भने, ‘निकै दुःखद् घटना भयो, यो घटनाले सिङ्गो गाउँलाई दुःखी बनाएको छ, उहाँ निकै शालीन हुनुहुन्थ्यो, गाउँमा हुँदा पनि निकै मेहनत गर्नुहुन्थ्यो, केही वर्ष गाडी पनि चलाउनुभयो, त्यसबाट परिवार चलाउन नसकेर होला विदेश जानुभयो, विदेश गएको केही समयमै यस्तो दुःखद् खबर आयो ।’

स्रोत : रासस
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १७:५६