सूचनाको शक्ति - The Power Of Information

        

बाँच्नकै लागि अनुनय

राजनीतिमा जीवन बिताएका लाकुरे, ‘रोगले च्याप्दा न घरवास, न अन्नपात’

आफ्नो बाँच्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुनय विनय गर्दै लाकुरे दमाई भन्छन्, ‘पार्टी भनेर जीवनभर लागियो, अहिले सहारा चाहिएको समयमा कसैले पनि वास्ता गर्दैनन्, भेट्न पनि आउँदैनन् ।’

लाकुरे दमाईको स्वास्थ्य अवस्थाबारे जाकारी लिँदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल र वडाध्यक्ष धनीराम वली ।

बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा अस्थायी रुपमा बसोबास गर्दै आएका लाकुरे दमाईको जीवनको ऊर्जाशील समय वर्गीय मुक्ति आन्दोलन र समाज परिवर्तनको अभियानमा बित्यो । कम्युनिष्ट पार्टीमा सङ्गठित भएपछि पञ्चायतकालदेखि व्यक्तिगत सम्पत्ति जोड्नभन्दा पनि देश र जनताका लागिपरेका दमाई पछिल्लो समय गम्भीर बिरामी परेका छन् । अरुको घरमा आश्रय लिएर स–परिवार बस्दै आएका दमाईको न त बस्ने घरबास छ न त खाने अन्न नै छ । आफूलाई भेट्न आउनेलाई उनी आफ्नो बाँच्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुनय विनय गर्दै आएका छन् ।

स्याङ्जाको अधिखोलाका दमाई सानैदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भए । दमाई भन्छन्, ‘पार्टी भनेर जीवनभर लागियो, अहिले सहारा चाहिएको समयमा कसैले पनि वास्ता गर्दैनन्, भेट्न पनि आउँदैनन् ।’ उनी नेकपा एमालेको भातृ सङ्गठन नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रीय सदस्यसम्म भए । पञ्चायतकालदेखि २०६२–०६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी सो क्रममा पटक–पटक गिरप्तारमा परेका छन् । लामो समयसम्म बिताएको पार्टी र नेतृत्वले अहिले आफू थला परेको अवस्थामा नसम्झिएकोमा लाकुरेलाई रोगले भन्दा बढी सताएको छ ।

स्वास्थ्यकर्मी समेत रहेका खजुरा गाउँपालिका-२ का वडाध्यक्ष धनीराम वलीले आफूहरुको पहलमा लाकुरेको राजधानीसम्म लगेर उपचार गराएको बताए । लाकुरे कलेजो, मधुमेह, मिर्गौला र मुटु रोगबाट पीडित छन् । वडाध्यक्ष वलीले भने, ‘मधुमेहका बिरामी भएकाले अन्य रोगको उपचारमा समस्या भएको छ ।’ उनले लाकुरेको परिवार अस्थायी रुपमा बस्दै आएको भए पनि मानवीय हिसावले गाउँपालिकाले निर्माण गरेको सामूहिक आवासमा बस्न घर दिने प्रक्रिया अघि बढाइएको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले आजीवन देश र जनताको पक्षमा लागेका व्यक्तिलाई खाद्यान्न लगायतका प्रारम्भिक सहयोग गरिने बताए । उनले विपन्न घर परिवारका लागि पालिकाले सक्दो सहयोग गर्दै आएको बताए । लाकुरेले बस्दै आएको घरको एक वर्षसम्मको विद्युत् महसुल समत तिर्न नसकेको बताएपछि गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले महसुल शुल्क व्यक्तिगत रुपमा तिरिदिने बताइन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार ०८:०२

लोकप्रिय