सूचनाको शक्ति - The Power Of Information

        

अघि बढ्यो कारबाही

परसपुर-गौघाट सडक खण्ड निर्माणमा सुस्त, ६ महिना १२ प्रतिशत मात्रै

परसपुर-गौघाट सडक खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना सकिँदै गएको छ ।

परसपुर-गौघाट सडक खण्ड निर्माणको जिम्मेवारी पाएको कन्काई-गणपति जेभीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सम्झौता अनुसार निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले निर्माण कम्पनीहरुसँग लिखित जवाफ मागेको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभीसहित ९ वटा कम्पनीलाई सात दिनभित्र कार्य सम्पादन सन्तोषजनक नभएको बारेमा लिखित प्रतिवेदनसहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले हालसम्म १२ प्रतिशत मात्रै काम सम्पन्न भएकोले कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाउनु परेको बताए ।

उनले भने, ‘परसपुर-गौघाट सडक खण्डको निर्माण कार्य निकै सुस्त छ । निर्माणको जिम्मेवारी पाएको कम्पनीको कार्य प्रगति सन्तोष जनक नभएकोले प्रक्रिया अनुसार हामीले पहिलो चरणमा कार्य सम्पादन ढिला हुनुको कारण मागेका छौं ।’ कार्यालय प्रमुख शाक्यले परसपुर–गौघाट सडक खण्ड अब निर्धारित समयमा सम्पन्न हुन निकै कठिन भएको बताए ।

उनले भने, ‘अब करिब ६ महिना बाँकी छ । यस अवधिमा काम सम्पन्न गर्न कठिन छ । त्यसैले सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडी बढ्छ ।’ बाँके पश्चिमतर्फको सीमावर्ती क्षेत्रमा पर्ने परसपुर-गौघाट सडक खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना सकिँदै गएको छ ।

जानकी, खजुरा र बर्दिया बढैयातालका जनताहरुले नेपालगन्ज आवात जावतमा प्रयोग गर्ने सडक समयमै नबन्ने करिब पक्का देखिएको छ । संघीय सरकारको बजेटमा निर्माण हुन लागेको परसपुरदेखि गौघाटसम्म १० किलोमिटर सडक निर्माणको लागि कन्काई–गणपति जेभिले १४ करोड रुपैयाँमा ठेक्का पाएको थियो । निर्माण कार्य सम्पन्न गर्न करिब ६ महिना बाँकी रहँदा कामको प्रगति सन्तोषजनक छैन ।

ठेकेदार कम्पनीले काम गर्छु भनेर आश्वासन दिए पनि निकै सुस्त गतिमा निर्माण कार्य अघि बढिरहेको खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओलीले बताए । उनले भने, ‘स्थानीय जनतालाई निकै कठिन भैरहेको छ । अहिले धुलोले समस्या पारेको छ, वर्षातमा हिलोले जनतालाई आवतजावतमा अप्ठयारो पर्ने गर्छ ।’

उनले निर्माणको ठेक्का पाएको कम्पनीलाई बारम्बार दबाब दिए पनि कामको गति सन्तोषजनक नभएको बताए । परसपुर–गौघाट सडक खण्डको अवस्था बिग्रिएकाले दैनिक रुपमा बाँके र बर्दियाका जनताले दुःख पाइरहेका छन् । कन्काई-गणपति जेभिले २०७९ वैशाखदेखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर कन्काई–गणपति जेभिले सम्झौता भएको १६ महिनापछि मात्रै काम सुरु गरेको थियो । सम्झौता भएर पनि काम सुरु नभएपछि स्थानीय जनताले बिरोधद जनाउँदै आएका थिए । कन्काई-गणपति जेभिका प्रमुख तुलसीराम भण्डारीले निर्माण कार्य सम्झौता अवधिमै सम्पन्न गर्ने दाबी गरेका थिए ।

तर उनले भनेअनुसार उक्त सडक खण्ड सम्झौता अवधिमा सम्पन्न हुन कठिन देखिएको छ । एक दशकअघि उक्त सडकको कालोपत्रे गरिएको थियो । तर सडकको अवस्था बिग्रदै गएपछि २०७४ सालमा कालोपत्रे भत्काइएको थियो । त्यसपछि बजेट अभाव कारण उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार ०७:५८

लोकप्रिय