सूचनाको शक्ति - The Power Of Information

        

गुरुङ समुदायले धानेको पर्यटन

बागलुङको ताराखोला गाउँपालिका–१ स्थित भुस्कात गाउँ । यो गाउँ परम्परागत मौलिक ढुङगे घरले भरिएको छ । तस्वीर : डम्मर बुढामगर । रासस

लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ । पहिले रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह, युवा क्लब भएर पर्यटन प्रवद्र्धनमार्फत गाउँको विकासमा जुटेका छन् ।

क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन् । यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ । ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ । समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा पनि जोडिएको छ । यसका लागि उनीहरु समिति नै स्थापना गर्दै अघि बढिरहेका छन् । मुलुकको कठिन परिस्थिति बाबजुत पनि लमजुङको घलेगाउँबाट ग्रामीण पर्यटनको सुरुआत भएको थियो ।

विसं २०५७ मा घलेगाउँमा पहिलो पटक महोत्सवको सुरुआत गर्दै सोही वर्षबाट अघि बढेको होमस्टे कार्यक्रम सञ्चालनमा आएको छ । घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समयमा अन्य समुदायका गाउँमा समेत फैलिएको छ । घलेगाउँसहित भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मु लगायतका गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ ।

ती गाउँका स्थानीय पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक तान्न जुर्मुराएका छन् । विषेश गरी लमजुङ, डा हर्क पिक, मनास्लु हिमाललाई छर्लङ्ग देख्न तथा नियाल्न सकिने ठाउँ रहेकाले त्यहाँबाट मर्स्याङ्दी मिदिम, खुदीलगायतका नदीनाला पनि देखिन्छ । विश्वप्रख्यात चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेका छन् । ग्रामीण पर्यटनको अवधारणा पनि गुरुङहरुबाटै सुरु भएको हो । घलेगाउँ सार्क राष्ट्रकै नमूना गाउँका रुपमा प्रख्यात छ । जुन समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा अवस्थित छ । घलेगाउँमा १२५ घरधुरी छन् ।

उनीहरुले विसं २०५६ मा ग्रामीण पर्यटनको अवधारण भित्र्याएर विसं २०५७ बाट महोत्सव मनाउन सुरु गरेका हुन् । जिल्लाकै सबैभन्दा धेरै पर्यटक आउने यहाँ विदेशी तथा आन्तरिक पर्यटकको चाप छ । ग्रामीण पर्यटनबाटै स्थानीयले वार्षिक लाखौं कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, ‘पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुँदा घलेगाउँको स्वरुपसमेत बदलिएको छ । घलेगाउँमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सेवा सञ्चालन छ । पर्यटन व्यवसाय विस्तारै सफल बन्दै गएपछि केही विदेशीका युवासमेत गाउँमै फर्किएका पर्यटन व्यवसायमा लागेका छन् ।’

यहाँ सुरुवातदेखि हालसम्म वर्षेनी जस्तै महोत्सव समेत हुँदै आएको छ । घलेगाउँ गुरुङ चलचित्रको छायाँकनस्थल समेत बनेको छ । घलेगाउँ सुखी गाउँसमेत घोषणा भइसकेको छ । त्यस्तै, क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँमा करिब ५०० घरधुरी गुचमुच्च भएर रहेका छन् । भुजुङ गाउँमा विसं २०६४ बाट घरबास सञ्चालनमा आएको हो । अहिले ३२ घरवास सञ्चालनमा छन् । त्यस्तै केही होटलसमेत सञ्चालनमा छन् । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ समय समयमा यहाँ मेला तथा महोत्सव हुँदै आएका छन् । महोत्सव र पर्वले यहाँको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्दै आएको छ ।

भुजुङ गाउँबाट छिमेकी जिल्ला कास्कीका गुरुङ गाउँ सिक्लेस तथा ताङतिङ पनि जान सकिन्छ । यस्तै, मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित छ । यहाँबाट मर्स्याङ्दी नदीको नागबेली देख्न सकिन्छ । समुद्री सतहदेखि एक हजार ६८० मिटर उचाइमा रहेको भुजुङमा आमा समूह, बाबा समूहलगायत स्थानीय निकै सक्रिय छन् । पर्यटन प्रवर्द्धनका लागि विसं २०६२ यता महोत्सव गर्दै आएको छ । यस गाउँ पनि घरवास कार्यक्रम सञ्चालनमा छ ।

त्यस्तै, सिउरुङ नजिकै राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको हर्षिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ । घनपोखा गाउँ, खासुर गाउँमा समेत ग्रामीण पर्यटन प्रवर्द्धनको अवधारणा भित्रिएको छ । त्यस्तै, ग्रामीण पर्यटनले चिनिएको गाउँ हो, पसगाउँ । गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ ग्रामीण पर्यटनको विस्तार गर्ने उद्देश्यले विसं २०६० मा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष तथा पसगाउँ सामूहिक होमस्टे समितिको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद गुरुङले लमजुङमा ग्रामीण पर्यटन अवधारण भित्र्याउन गुरुङ समुदायको ठूलो भूमिका रहेको र त्यसमाथि सबैभन्दा बढी क्व्होलासोथर गाउँपालिकाका स्थानीयको योगदान रहेको बताए । ग्रामीण पर्यटनमा सबैभन्दा बढी होमस्टे रहेको र यसबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । पालिकाले पर्यटक आकर्षित गर्न पर्यटन पूर्वाधार पार्क, संरचना निर्माणदेखि पर्यटकको बसाइ लम्ब्याउने विषयमा ध्यान केन्द्रित गरेको छ ।

हाल पसगाउँमा २१ घरमा होमस्टे सञ्चालन छ । कृष्णचरित्र नृत्य, झ्याउरे नाच, सारंगी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यका लागि पसगाउँ परिचित छ । लमजुङको पर्यटकीय ठाउँमा विस्तारै पर्यटन पूर्वाधारको विकास भइरहेको छ । विषेशगरी प्राकृतिको छटा र स्थानीयको कला संस्कार संस्कृति हेर्न पर्यटक आउने गरेका छन् । पर्यटक आउँदा ग्रामीण पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीयको जीवनस्तरसमेत उकासिएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १४:५३