सूचनाको शक्ति - The Power Of Information

        

आपूर्तिकर्ता र अस्पतालको गडबडी

क्यान्सर अस्पताल खजुरामा जोडिएको ‘लिन्याक’ मेसिन अलपत्र, बोलपत्रमै त्रुटी

‘लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिनको कन्ट्री अफ ओरिजिन र हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) फरक–फरक भएपछि बाँकी ४० प्रतिशत रकमको भुक्तानी अस्पतालले रोकेर मेसिन चलाएको छैन ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले करिब २५ करोड २४ लाख ५४ हजारमा खरिद गरेको लिन्याक मेसिनको ६० प्रतिशत भुक्तानी भइसक्यो । ४० प्रतिशत भुक्तानी पाउन मेसिनको आपूर्तिकर्ताको तर्फबाट विशाल पण्डित स्वास्थ्य मन्त्रालय र अस्पतालमा दबाब बढाइरहेका छन् । तर, बाँकी भुक्तानी जसले गर्यो, त्यो अख्तियारको अनुसन्धानमा पर्ने पक्का भएकाले मन्त्रालय अनि अस्पताल भने पन्छिरहेका छन् ।

मेसिन खरिद प्रक्रियामा भएको बदमासीका कारण सरकारको १५ करोड बढी लगानी भइसके पनि न मेसिन प्रयोगमा आएको छ न त बदमासी गर्ने मेसिन आपूर्तिकर्तामाथि नै कारबाही भएको छ । उल्टो स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बदमासी गर्ने आपूर्तिकर्तालाई उन्मुक्ति दिएर रोकिएको भुक्तानी खुलाउने उपायको खोजीमा लागेका छन् । पहिलो त मेसिन खरिद प्रक्रियामै प्रशस्त शंकाहरू छन्, त्यसमाथि खरिद सम्झौतामा उल्लेख भएभन्दा फरक ठाउँको मेसिन ल्याएको छ आपूर्तिकर्ताले ।

यसले क्यान्सर लागेका बिरामीलाई उपचारका लागि रेडियोथेरापी गर्ने मेसिन अस्पतालमा त्यतिकै थन्किएर बसेको छ । अस्पतालले मेसिन खरिद प्रक्रियामा लिन्याक मेसिनका लागि बेलायतको इलेक्टा लिमिटेडको बोलपत्र स्वीकृत गरेको थियो । अस्पतालमा यो मेसिन आएर जडान समेत भइसक्यो । तर, सञ्चालनमा भने आएको छैन ।

भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौताका अन्य प्रक्रियागत कागजातमा उल्लेख भए अनुसार ‘लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिनको कन्ट्री अफ ओरिजिन र हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) फरक–फरक भएपछि बाँकी ४० प्रतिशत रकमको भुक्तानी अस्पतालले रोकेर मेसिन चलाएको छैन । मेसिन आयातका लागि बोलपत्रमा प्रस्ताव गरेको भन्दा कन्ट्री अफ ओरिजिन र भन्सार प्रयोजनका लागि प्रयोग हुने हार्मोनाईज स्ट्याण्डर्ड (एचएस) कोड फरक देखिएपछि यो कस्तो किसिमको मेसिन हो ? कति मूल्य पर्ने मेसिन ल्याइयो अनि यसको गुणस्तर कस्तो छ भन्ने विषय नै अस्पष्ट भयो ।

बोलपत्रदाता बेलायती कम्पनी इलेक्टा लिमिटेडले पेस गरेको बोलपत्र स्वीकृत भएपछि सन् २०२१ अगष्ट २४ (२०७८, भदौ ८) मा अस्पताल र इलेक्टा लिमिटेडबीच लिनियर एक्सेलेरेटर सिस्टम मोडेल : एलेक्टा भेर्सा एचडी खरिद गर्ने सम्झौता भएको थियो । मेसिन ल्याइदिने तथा नेपालमा मेसिन जडान लगायतको कामका लागि नेपाली एजेन्ट ‘मेडिशोलुशन इन्टरनेश्नल’ले जिम्मा लिएको थियो ।

तर, इलेक्टा कम्पनीले अस्पतालसँग गरेको सम्झौतासँग उल्लेख भएभन्दा फरक ठाउँमा उत्पादन भएको मेसिन ल्याइदियो नेपाली ऐजन्टले । यसरी एक ठाउँमा उत्पादन भएको मेसिन ल्याइदिन्छु भनेर अस्पतालसँग सम्झौता गर्ने अनि अर्कै ठाउँमा उत्पादन भएको मेसिन ल्याइदिनु किर्ते काम हो । अस्पतालमा लिन्याक मेसिन ल्याइदिने ‘मेडिशोलुशन इन्टरनेश्नल’ कृष्णप्रसाद अधिकारीको नाममा देखियो । तर टेण्डर प्रक्रिया मिलाउनदेखि भुक्तानीको प्रक्रियासम्म मेडिकल व्यवसायी विशाल पण्डित संलग्न देखिन्छन् ।

अहिले उनी त्यो कम्पनी मेरो हैन भन्दै पन्छिरहेका छन् । मेडिकल व्यवसायी पण्डितले लिन्याक मेसिन ल्याउने कम्पनी आफ्नो नभएको भन्दै त्यसमा आफ्नो कुनै संलग्नता समेत नरहेको दाबी गरे । ‘मेरो कम्पनी पनि हैन । मेरो (त्यो लिन्याक मेसिन खरिदमा) संलग्नता पनि छैन,’ मेडिकल व्यवसायी पण्डितले दाबी गरे । उनले जे दाबी गरे पनि उकेराले यो मेसिनको खरिदको प्रारम्भदेखि अहिलेसम्म आपूर्तिकर्ताको तर्फबाट लबिइङमा उनै पण्डितै सक्रिय रहेको देखायो ।

समिति गठन गरेर भुक्तानी खुलाउने प्रयास

एउटा देशमा उत्पादित मेसिन ल्याउने भनेर अर्कै देशबाट मेसिन ल्याएपछि विवाद भयो । विवाद निम्तिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसिन खरिद प्रक्रियाका बारेमा छानबिनका लागि पाँच सदस्यीय समिति नै गठन गर्यो । मन्त्रालयले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक मेसिन, भक्तपुर क्यान्सर अस्पतालमा सिटी स्क्यान मेसिन, चितवनको भरतपुर अस्पताल र काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको एमआरआई मेसिनको खरिद प्रक्रियाको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा गत असार एक गते सचिवस्तरीय निर्णय भएर उपकरण खरिदमा भएको अनियमितताबारे छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । समिति गठन हुँदा त्यसका संयोजक वीर अस्पतालका वरिष्ठ मेडिकल फिजिसिष्ट डा.कन्चनप्रसाद अधिकारी थिए ।

छानबिन समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका कानुन शाखाका (प्रमुख) तत्कालिन उपसचिव रेशराज शर्मा, कर्मचारी प्रशासनका उपसचिव कृष्ण थापा, लेखा अधिकृत शालिग्राम चौधरी र स्वास्थ्य सेवा विभागका बायोमेडिकल इन्जिनियर आशीष चौहान थिए । प्रतिवेदन अनुसार असार १५ गते पाँच सदस्यीय छानबिन समितिले प्रतिवेदन तयार गरी हस्ताक्षर गरेर स्वास्थ्यमन्त्री बस्नेतलाई बुझाएको थियो ।

मन्त्री बस्नेतले प्रतिवेदन अनुसार काम गर्न असार १७ गते नै निर्देशन दिए । समितिले मेसिन सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन खरिद प्रक्रियामा त्रुटी भएको विषयलाई प्रष्टै औंल्याएको छ । छानबिन समितिले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा ‘भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौताका अन्य प्रक्रियागत कागजातमा उल्लेख भए बमोजिम लिनियर एक्सेलेरेटर (लिन्याक)को कन्ट्री अफ ओरिजिन एन्ड हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) फरक–फरक उल्लेख भएको देखिएको’ उल्लेख छ ।

प्रतिवेदनको यो बुँदाबाट नै बेलायती कम्पनी इलेक्टा लिमिटेडको ल्याउनुपर्ने निन्याक मेसिन अन्य कम्पनीको ल्याएको देखिन्छ । यसो गर्नु कम्पनीको किर्ते हो । यस्तो कम्पनी कालोसूचीमा राख्नुपर्नेमा मन्त्रालय भने उल्टो उन्मुक्ति दिनेतिर लागेको छ । प्रतिवेदनमा अस्पताल मार्फत प्राप्त लिन्याक मेसिन खरिद सम्बन्धी कागजातहरूको प्रतिलिपि अध्ययन गर्दा लिन्याक खरिद सम्बन्धी बोलपत्रमा विभिन्न त्रुटी औंल्याएको छ ।

प्रतिवेदनमा सन् २०२१ अगस्ट २४ मा खरिद सम्झौता भएकोमा बोलपत्र प्रस्ताव गरे वा सम्झौतामा उल्लेख भए भन्दा फरक हुने गरी (टेक्निकल स्पेशिफिकेशन, प्राइज सेड्युल, परफर्मा इन्भ्वाईस तथा प्रज्ञापन पत्र) आपूर्ति गरिने उपकरणको उत्पादक देश, ‘एचएस कोड’ लगायतको विवरण फरक परेको’ प्रतिविदेनमा उल्लेख छ । त्यसैगरी सो लिन्याक मेसिन खरिद प्रक्रियासँग सम्बन्धित कर्मचारी–प्राविधिक र अस्पताल प्रमुख (निमित्त कार्यकारी निर्देशक) सहित भएको छलफल तथा लिन्याक मेसिन जडान भइरहेको अवस्थाको अवलोकन गरेको प्रतिवेदनमा उल्लेख छ ।

मेसिन ल्याउने ठाउँ परिवर्तन गरेको गर्यै

बोलपत्रदाता बेलायतको इलेक्टा लिमिटेडले बोलपत्रसाथ पेस गरेको प्राइज सेड्युलमा ‘कन्ट्री अफ ओरिजिन’ ‘यूके–यूएसए–चाइना’ उल्लेख गरेको थियो । यसबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आपूर्ति गरिने लिन्याक मेसिन उत्पादक देश ‘यूके–यूएसए–चाइना’ गरी तीन मुलुकमध्ये जहाँबाट पनि ल्याउन सक्नेगरी टेण्डर प्रस्ताव पेश भएको देखिन्छ । कम्पनीको मेसिनका पाटपूर्जा र विभिन्न मूलुकमा उत्पादन हुन सक्छन् । तर लिन्याक मेसिन कुनै यि तीनमध्ये कुनै एक देशले निर्यात गर्ने हो ।

जडान भए पनि अलपत्र परेको मेसिन ।

तर, मेसिन उत्पादक कम्पनी तथा नेपाली एजेन्टले त्यसो गरेन । मेसिनको कन्ट्री अफ ओरिजिन सिधै बेलायत लेखियो । तर पछि ‘कन्ट्री अफ ओरिजिन’ ‘यूके–यूएसए–चाइना’ राखियो । यहीँबाट गडबडी शुरू गरियो । बैंक ग्यारेन्टी (प्रोफर्मा इन्भ्वाइस) सम्बन्धी कागजातमा इलेक्टा लिमिटेडले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आपूर्ति गरिने लिन्याक मेसिनको उत्पादक देश (कन्ट्री अफ ओरिजिन)को नाम (यूके–यूएसए–चाइना) परिवर्तन गर्दै बोलपत्रमा पेस गरेको प्राइज सेड्युलभन्दा फरक उल्लेख गरेको देखिन्छ ।

‘२२ मार्च २०२२ मा जारी भएको प्रोफर्मा इन्भ्वाइस (इएमएसआईपिएल–१०५–२०२१–२२) तथा ट्रम्स एण्ड कन्डिशन्स् फर इस्युइङ लेटर अफ क्रेडिट सम्बन्धमा इलेक्टा लिमिटेड, युनाइटेड किङडमको पत्रमा कन्ट्री अफ ओरिजिन : युनाइटेड किङडम एण्ड–अर चाइना एण्ड – अर युरोप एण्ड – अर यूएसए एण्ड–अर क्यानडा उल्लेख छ । साथै एचएसएन कोड ९०२२१४०००० उल्लेख भएको प्राप्त गरेको प्रमाणहरूले देखाउँछ ।

यसरी हेर्दा मेसिन खरिदको प्रताव र सम्झौतापछि समेत (प्रोफर्मा इन्भ्वाइस) सम्बन्धी कागजातमा कम्पनीले अस्पतालमा आपूर्ति गरिने लिन्याक मेसिनको उत्पादक देश (कन्ट्री अफ ओरिजिन) को नाम परिवर्तन गर्दै ‘कन्ट्री अफ ओरिजिन : युनाइटेड किङडम एण्ड–अर चाइना एण्ड– अर युरोप एण्ड–अर यूएसए एण्ड–अर क्यानडा’ राखिएको देखिन्छ ।

यो तथ्यबाट नै अस्पतालसँग लिन्याक मेसिन खरिदको लागि सम्झौता भएपछि समेत मेसिन उत्पादक कम्पनी (लिन्याक) र नेपाली एजेन्टले आफू अनुकुल हुनेगरी आपूर्ति गरिने लिन्याक मेसिनको उत्पादक देश (कन्ट्री अफ ओरिजिन) मा ‘युरोप र क्यानडा’ थपेको देखिन्छ । यसको अर्थ इलेक्टा लिमिटेडले लिन्याक मेसिन खरिदका लागि अस्पताल समक्ष प्रस्ताव गरेको बोलपत्रमा ‘यूके–यूएसए–चाइना’ गरी तीन देशमध्ये जहाँबाट पनि उत्पादन भएको मेसिन ल्याइदिनेगरी बोलपत्र प्रस्ताव गरेको देखिन्छ ।

तर, लिन्याक मेसिन खरिदका लागि अस्पतालमा टेण्डर पाएपछि भने इलेक्टा लिमिटेड र नेपाली एजेन्टले मेसिन उत्पादक मुलुकको नाम थप्दै ‘यूके–यूएसए–चाइना’बाट मात्रै हैन ‘युरोप र क्यानडा’बाट समेत अस्पतालमा लिन्याक मेसिन ल्याइदिनसक्ने कागजातमा थप गर्यो । यसरी आफू अनुकुल हुँनेगरी कागजातमा कम्पनीले मेसिन उत्पादक मूलुकको नाम थप्नु आफैंमा गम्भीर प्रश्नको विषय हो । मेसिनको लागत मूल्य कति पर्ने भन्ने विषय मेसिन उत्पादन हुने मुलुकमा समेत भर पर्छ ।

यसरी हेर्दा कम्पनीले जहाँबाट सस्तो पर्छ त्यहीँबाट अस्पतालमा मेसिन ल्याउन मेसिन उत्पादन हुने मुलुकको नाम थपेको देखिन्छ । यो नै मेसिन खरिदमै गडबड भएको मुख्य आधार हो । यो त एउटा कमिशनको खेल भयो नै । त्यसपछि समेत कम्पनीले अस्पतालमा बोलपत्र पेश गर्दा उल्लेख गरेको र (प्रोफर्मा इन्भ्वाइस) सम्बन्धी काजगातमा उल्लेख भएको आपूर्ति गरिने लिन्याक मेसिनको उत्पादक देश (कन्ट्री अफ ओरिजिन : युनाइटेड किङडम एण्ड – अर चाइना एण्ड – अर युरोप एण्ड – अर यूएसए एण्ड – अर क्यानडा) भन्दा फरक मुलुकबाट समेत मेसिनको पाटपूर्जा ल्याएको देखिन्छ ।

‘कन्ट्री अफ ओरिजिन : (यूके–यूएसए–चाइना)’ उल्लेख भएभन्दा फरक ठाउँबाट समेत लिन्याक मेसिनका पाटपूर्जा ल्याएको कागजातमा उल्लेख गरेको देखिन्छ । बैंक ग्यारेन्टी (प्रोफर्मा इन्भ्वाइस) सम्बन्धी काजगातमा कम्पनीले अस्पतालमा आपूर्ति गरिने लिन्याक मेसिनको उत्पादक देश (कन्ट्री अफ ओरिजिन) को नाम परिवर्तन गर्दै ‘कन्ट्री अफ ओरिजिन : युनाइटेड किङडम एण्ड – अर चाइना एण्ड – अर युरोप एण्ड – अर यूएसए एण्ड – अर क्यानडा’ राखिएको देखिन्छ ।

भन्सारबाट मेसिन ल्याइदेउ भनेर अस्पतालमा एजेन्टले दिएको कागजातमा भने मेसिन स्वीडेनबाट आएको खुल्यो । ‘प्रज्ञापन पत्रमा स्वीडेन छ । भन्सारमा आएको डकुमेन्टमा स्वीडेन छ,’ विश्वस्त स्रोतले उकेरालाई भन्यो, ‘अनि सम्झौतामा यूके छ । फेरि टेक्निकल स्पेसिफिकेशनमा यूके, यूएसए अर चाइना छ । यसरी फरक–फरक कागजातमा फरक–फरक छ । पाँच वटा कागजमा पाँच वटा कन्ट्री अफ ओरिजिन देखियो ।’

०००

‘१० मे २०२२ मा सिद्धार्थ बैंकबाट जारी भएको स्वीकृति प्रतिपत्र (०१५ आइएलएसएफ २२१९४०००१) सम्बन्धी कागजातको बुँदा नं. ४४इ मा सामान लोड हुने बन्दरगाह एनिपोर्ट अफ युनाइटेड किङडम अर चाइना अर हल्याण्ड उल्लेख भएको र एचएसएन कोड ः ९०२२१४०००० उल्लेख भएको देखिएको’प्रतिवेदनमा औंल्याइएको छ । यो टेण्डर सम्झौतामा उल्लेख भएको एचएस कोड भएको स्रोतले जानकारी दियो ।

‘भन्सारबाट आएको कोड अटोमेडिक छुट हुनेवाला कोड राखेर आएको छ । एचएस कोडः ९०२२१४०००० टेण्डर गरेको छ, खरिद सम्झौतामा यो कोड छ,’ स्रोतले भन्यो, ‘मेसिन आइसकेपछि एचएस कोड त ९०२२१४०००० लाई छोडेको हो । प्रज्ञापन पत्रमा अर्कै कोड छ ।’ प्रज्ञापन पत्रमा कन्ट्री अफ ओरिजिन पनि गडबढ छ । बैंकले नै एचएसकोड मिलेको छैन भनेको छ । प्रतिवेदनमा उल्लेख भएको तथ्यबाट नै मेसिन खरिदका लागि भएको प्रस्ताव तथा सम्झौतामा उल्लेख भए भन्दा भिन्न ठाउँबाट अस्पतालमा लिन्याक मेसिन तथा मेसिनका पाटपूर्जा ल्याएको पुष्टी हुन्छ ।

‘टेक्निकल स्पेशिफिकेशन फर सप्लाई, टेस्टिङ एन्ड कमिशियोनिङ अफ एडभान्स डिजिटल प्लेटफर्म ट्रिपल हाई इनर्जी लिनियर एक्सेलेरेटर–१ सेट कागजातमा कन्ट्री अफ ओरिजिन : युनाइटेड किङडम उल्लेख भएको र अमेरिकी डलर २१ लाख ३१ हजार ५०० रकम बराबरको खरिद सम्झौता भएको देखिएको’ प्रतिवेदनमा प्रष्टै उल्लेख छ । तर, कम्पनीले बदमासी गर्दै आफू अनुकुलले अस्पताललाई गुमराहमा राखेर मेसिनको उत्पादक देश (कन्ट्री अफ ओरिजिन) नै पटक–पटक परिवर्तन गर्दै तथा थप्दै आफूले मेसिन खरिदका लागि प्रस्ताव गरेको भन्दा फरक मुलुकबाट ल्याएको पुष्टि हुन्छ । यसले मेसिन कहाँबाट आयो भन्ने समेत एकिन हुने सकेको छैन ।

०००

मेसिनको आयात गर्दा बोलपत्रमा प्रस्ताव गरेको भन्दा कन्ट्री अफ ओरिजिन त फरक भएको मेसिन त ल्याइयो नै । मेसिन खरिदका लागि भन्सार प्रयोजनका लागि प्रयोग हुने हार्मोनाईज स्ट्याण्डर्ड (एचएस) कोड सम्झौतामा उल्लेख भए अनुसार आएन । ‘सम्झौतामा उल्लेख भए अनुसार एचएस कोड आएन,’ स्रोतले भन्यो, ‘एचएस कोड नमिलेको त हामीलाई पहिल्यै थाहा छ । नमिलेकोलाई मन्त्रालयले समन्वय गरेर निर्णय गरेको हो नी त! पछि सम्झौतामा उल्लेख भएभन्दा अर्कै कोड आयो ।’

प्रतिवेदनमा उपकरण आयात–निर्यात गर्दा बोलपत्रमा प्रस्ताव गरेको भन्दा कन्ट्री अफ ओरिजिन र भन्सार प्रयोजनका लागि प्रयोग हुने हार्मोनाईज स्ट्याण्डर्ड (एचएस) फरक फरक देखिएकाले उपकरण पूर्ण रूपमा इन्स्टलेशन भएपछि एसेप्टेन्स टेस्टिङ कमिसिओनिङ गरी सो परीक्षणबाट मात्र स्वीकृत स्पेशिफिकेशन बमोजिम उपकरण रहे–नरहेको निश्चित गर्न सकिने’ उल्लेख गरियो । अध्ययन प्रतिवेदनमा अहिलेको अवस्थामा उपकरणको गुणस्तर एकिन गर्न नसकिने उल्लेख गरेको थियो । ‘एसेप्टेन्स टेस्टिङ एन्ड कमिसिओनिङ’ भनेको मेसिन चलाएर हेरेपछि थाहा हुने गुणस्तर लगायतको नतिजा हो । सबै प्रमाणले सामान आपूर्तीकर्ताले बदमासी गरेको प्रष्ट देखिन्छ ।

तर स्वास्थ्यका केही अधिकारी भने जसरी पनि मेसिन सञ्चालन गरेर आपूर्तीकर्ताको रोकिएको बाँकी रकम भुक्तानी गराउन लागेको देखियो । त्यसका लागि मेसिनको ‘एसेप्टेन्स टेस्टिङ एन्ड कमिसिओनिङ परिक्षण गराएर यही मेसिन पास गराउने तयारी भइरहेको खुल्यो । त्यसका लागि प्रतिवेदनमा मेसिनको नतिजा सन्तोषजनक आएपश्चात मात्र सम्झौता र प्रतितपत्रको शर्त अनुसारको बाँकि रकम (डेलिभरी टु साइट–२० प्रतिशत एण्ड एसेप्टेन्स–२० प्रतिशत) भुक्तानीको प्रक्रिया अगाडी बढाउन (इन्स्टलेशन अफ इक्वीप्मेन्ट इज अलमष्ट कम्प्लेट एण्ड एसेप्टेन्स टेस्टिङ सुड बी डन एज सुन एज पोसिबल एण्ड देन प्रोसिड वीथ पेमेन्ट) उपयुक्त हुने देखिएको’ उल्लेख गराइयो ।

प्रतिवेदनमा प्रयोग गरिएको भाषाबाट भने मेसिन खरिदमा बदमासी पुष्टि हुन्छ । प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको अवस्थामा नै उपकरणको गुणस्तर एकिन गर्न नसकिने भएकोले उक्ति उपकरण पूर्ण रूपमा इन्स्टलेशन भएपश्चात एसेप्टेन्स टेस्टिङ एण्ड कमिसिओनिङ गरी मात्र गुणस्तर निश्चित गर्न सकिने देखिन्छ ।’ मन्त्रालयका नेतृत्व मेसिन जडान गराएर पास गराइ बाँकी भुक्तानी खुलाउने प्रक्रियामा देखियो । तर सम्झौता विपरित आएको मेसिन स्विकार गर्दै रकम भुक्तानी गर्दा अख्तियारीको दुरुपयोग ठहरिने भन्दै अस्पतालका कर्मचारीहरुले हस्ताक्षर गर्न नमान्दा बाँकी रकम भुक्तानी भएको छैन ।

उकेराको खोजमा पहिलो ६० प्रतिशत रकम पनि हतारहतारमा भुक्तानी दिइएको देखिन्छ । अस्पतालका तत्कालिन निर्देशकमा डा.कृष्ण आचार्यको सरुवा भयो । मेसिन खरिदको प्रक्रिया उनकै कार्यकालमा भएको थियो । खरिद प्रक्रिया पारदर्शी भएको भए उनले हतारमा भुक्तानी गरेर हिँड्नुपर्ने कारण थिएन । नयाँ आउनेले पनि गरिहाल्थे । खरिद प्रक्रियामै गडबड भएकाले उनले आफ्नो सरुवा भइसकेपछि ब्याकडेटमा रकम भुक्तानी गराएर हिँडे । जब अस्पतालमा कार्यकारी निर्देशक भएर डा. निरज भट्टराई आए उनले कागजपत्र अनुसार आयात नभएको मेसिनको भुक्तानी खुलाउन अस्विकार गरे ।

अहिलेसम्म भट्टराइको अडानका कारण भुक्तानी रोकिएको देखियो । भट्टराइले मेसिनको खरिद प्रक्रियाबारे डिटेलमा कुरा गर्न चाहेनन् । उनले आफू अस्पतालमा हाजिर हुन पुग्नुभन्दा अगाडी नै सो मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको भने पुष्टी गरे । ४० प्रतिशत रकम भुक्तानी गर्न बाँकी रहे पनि मेसिनको विषयमा विवाद निम्तिएकाले स्वास्थ्य मन्त्रालयले भुक्तानी दिने वा नदिने भन्ने विषयमा निर्णय गरेर निर्देशन दिए अनुसार आफू अगाडि बढ्ने भट्टराईले बताए ।

विचरा ! स्वास्थ्य सचिवलाई केही थाहा छैन

अध्ययन समिति गठन गर्नेदेखि लिएर मेसिनको भुक्तानी खुलाउने प्रयाससम्ममा मन्त्रालय प्रत्यक्ष संलग्न देखिन्छ । मन्त्रीकै निर्णय अनुसार समिति गठन भएर प्रतिवेदन समेत बुझाइसकेको छ । तर स्वास्थ्य सचिव डा.रोशन पोख्रेल सिधै ‘यो विषय थाहा छैन’ भनेर पन्छिन्छन् । लिन्याक मेसिनको विषयमा मन्त्रालयले के गरिरहेको छ ? भन्ने उकेराको प्रश्नमा सचिव डा. पोख्रेलले भने,‘मलाई केही पनि थाहा छैन ।’

डा पोखरेल बदनियतपूर्ण रूपमा भएका खरिदहरुमा पटक–पटक जोडिँदै आएका पात्र हुन् । त्यो बेला चार वटा अस्पतालका स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन गर्न गठित समितिले निश्चित कम्पनीले दायर गरेको टेन्डरमा भएको बदमासी लुकाउँदै दुई वटा टेन्डरबारे मात्र प्रश्न उठाएको थियो । त्यो बेला भरतपुर र ट्रमाको गरेर करिब ६० करोडको एमआरआई मेसिन खरिद प्रक्रिया र भक्तपुरको करिब १८ करोडको सिटी स्क्यानसँगै सुशील कोइरालाको लिन्याक मेसिन खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो ।

स्रोत : ukeraa.com
प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ०८:००