सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रमा सरुवा

सरुवा नीति कार्यान्वयन भताभुंग बनाएर लत्याउँदै सशस्त्रका एआइजी

सशस्त्र प्रहरी प्रमुख आइजीपी राजु अर्यालले मेरिट बेशका आधारमा सरुवा नीति बनाई कार्यान्वयन गराइराखेको बेला उनले त्यसलाई भताभुंग बनाएका छन् ।

अनुगमनका नाममा केही पुराना सारथी र घुमुवा लिएर सशस्त्र प्रहरीका युनिट पुगेर आएका सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रकाश गौतम (सीपी) आफ्नो अनुकुल चल्न थालेका छन् । घुम्दैफिर्दै संगठनको महत्वपूर्ण विभाग मानव स्रोतमा प्रवेश गरेका एआइजी गौतमले युनिट सरुवादेखि प्रहरी कर्मचारीको व्यक्तिगत सरुवामा समेत आफ्नो अनुकुल कार्य गर्न थालेका हुन् ।

दुई दिनअघि मात्रै काठमाडौ आइपुगेका उनले सरुवा नीतिलाई उल्लंघन गरेर सशस्त्र प्रहरीलाई नेपाल प्रहरीको सरुवा नीतिभन्दा पनि तल्लो तहमा पुर्याएका छन् । सशस्त्र प्रहरी प्रमुख आइजीपी राजु अर्यालले मेरिट बेशका आधारमा सरुवा नीति बनाई कार्यान्वयन गराइराखेको बेला उनले त्यसलाई भताभुंग बनाएका छन् ।

सशस्त्र प्रहरीले दुई महिनाअघिदेखि मात्र थालेको युनिट सरुवा नीतिलाई एआईजी गौतमले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न थालेपछि थप विवादमा परेको हो । मानव स्रोत विभागमा सरुवा भएर आएपछि गौतमले युनिट सरुवालाई तीव्रता मात्र दिएका छैनन्, आफू अनुकुलका घुमुवा प्रहरीलाई पनि सात वटै प्रदेश कार्यालयमा परिचालन गरेका छन् ।

यतिबेला सशस्त्र प्रहरीमा बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेको छ । मधेशप्रदेशमा रहेका प्लाटुन तहमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको विषयलाई लिएर गुनासा बढ्न थालेपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्लाटुन तहसम्म मात्रै युनिट सरुवाका लागि अनुमति दिएका थिए ।

तर, उनले रोक्दै गुल्म तहसम्मकै गरी १२ वटा युनिटको एकआपसमा परस्पर सरुवा गरिसकेका छन् । यति मात्र नभई भविष्यमा गण तहका इकाइको समेत सरुवा गरिने योजना रहेको भन्दै कार्यक्षेत्रमा रहेका तल्लो तहका कर्मचारीको मनोबल गिराउने काम गरिरहेका छन् । ‘यसै त भर्नामा कम दरखास्त परिरहेको बेला एआइजी गौतमले वृत्ति विकासमा असर पर्ने गरी सरुवा र बढुवा गर्दा असर परेको छ,’ सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो ।

सशस्त्र प्रहरी बलले हालसम्म नम्बर ६ छिन्ताङ गुल्म धनकुटा र प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, नम्बर १८ गुल्म दोलखा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर धनुषा, नम्बर २३ मनकामना गण भानु तनहुँ मातहत आश्रित गुल्म लमजुङ र प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रूपन्देहीको एकआपसमा परस्पर सरुवा भइसकेको छ ।

त्यस्तै, नम्बर ३३ गण जुम्ला मातहत आश्रित गुल्म दैलेख र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँके, नम्बर ५१ गुल्म बैतडी र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरको समेत परस्पर सरुवा भएको छ । यसअघि नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेसनमा सरुवा गरिएको थियो ।

उनी सेनाबाट सशस्त्र प्रहरीमा प्रवेश गरेकाले त्यही अनुसार अघि बढाउदा अर्धसैन्य संरचना पनि विग्रन गएको सशस्त्र प्रहरी बल स्थापना भएपछि भर्ना भएका एक एसपीले भने । ‘सकेसम्म घरपायक, घरपायक नभएको अवस्थामा नजिकको युनिटमा । श्रीमान् श्रीमती नै सशस्त्र प्रहरीमा कार्यरत रहेको अवस्थामा सकेसम्म एकै ठाउँमा राख्ने,’ सशस्त्र प्रहरीको सरुवा नीतिमा उल्लेख छ ।

यो नीति बिल्लादार जवान र तल्लो तहका अधिकृतमैत्री थियो । त्यसैले उनीहरूको हितलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी मुख्यालयले सरुवा सम्बन्धी नियममा उनीहरूलाई एउटा फर्म भर्न लगाइथ्यो । जसमा तीनवटा युनिट छनोट गर्न भनिन्थ्यो । र, सकेसम्म फर्ममा उल्लेख भएअनुसार सरुवा गरिन्थ्यो । यो नियमले धेरै बिल्लादार जवान र जुनियर अधिकृतले राहतको स्वास फेरेका थिए ।

युनिट सरुवाका नाममा अहिले धेरैको परिवारमा समस्या आएको छ । बिनाजानकारी र समय नदिई युनिट सरुवा गरिएकाले उनीहरूका सन्तानको पठनपाठनमा समस्या आएको छ । पारिवारिक रूपमा आर्थिक भार पनि बढेको छ । सबैभन्दा अचम्मको कुरा त, एआईजी गौतमको लहडले उनी नेतृत्वको मानवस्रोत विभागले जसरी युनिट सरुवा गरिरहेको छ, सो शीर्षकमा बजेट नै छैन ।

एउटा युनिटबाट अर्काे युनिटमा जाँदा लाग्ने खर्चको रकम अर्काे शीर्षकको रकमबाट मिलाउनुपर्ने अवस्थाले सशस्त्र प्रहरीको आर्थिक प्रशासन महाशाखामा कार्यरत लेखा अधिकृतलाई नै भ्रष्टचारको आरोप लाग्न सक्ने खतरा रहेको छ । उनलाई यसो गर्न सल्लाह दिनेमा हालका प्रवक्ता एसएसपी राजेन्द्र खड्का, कानुनका एसएसपी युवराज अर्याल र अर्का एसएसपी होम ज्ञवाली रहेका छन् ।

तर, ज्ञवालीकी बहिनीलाई पनि यही मेसोमा सरुवा गरेपछि भने उनी अलि टाढा भएका छन् । ज्ञवालीकी बहिनीलाई सरुवा गर्दा अपायक परेको मात्र होइन उनी यूनिटमा पुगेको केही सयममा गौतमनिकट रहेका एक इन्स्पेक्टरलाई ल्याउन खोजेपछि ज्ञवाली चिढिएका थिए । पछि त्यो सरुवा बदर गर्नुपरेको थियो ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ०८:११

लोकप्रिय