सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषधको दुर्व्यसन

सामाजिक जीवनमा फर्किदै लागुऔषध प्रयोगकर्ता

युवती तथा महिलालाई अभिभावकले पुनःस्थापना केन्द्रमा राख्ने समय कम भएका कारण व्यवहार परिवर्तनमा समस्या आएको छ ।

नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षक समेत बनेका छन् । ‘अहिले बल्ल वास्तविक जीवनमा फर्केको महसुस हुन्छ,’ एक पूर्व लागुऔषध प्रयोगकर्ता युवतीले भनिन् ।

पुनःस्थापना केन्द्रमा पहिलो, दोस्रो र अन्तिम उपचारमा संलग्न भएपछि वास्तविक जीवनलाई बुझेको उल्लेख गर्दै उनले लागुऔषधको सेवन गलत रहेछ भन्ने कुरा बुझेको अनुभव सुनाइन् । ‘मैले लागुऔषध प्रयोग गर्दा परिवारको माया लाग्दैनथ्यो, तर अहिले मेरो व्यवहार परिवर्तन भएपछि परिवारको र समाजको माया लाग्छ,’ स्नातक तहमा अध्ययन गर्दै आएकी ती युवतीले भनिन् । करिब ११ महिनादेखि यस संस्थामा रहेकी उनले लागुऔषध प्रयोग गर्दा खानाको वास्ता नभएको तर अहिले नशा छाडेपछि आफ्नो स्वास्थ्य अवस्था पनि राम्रो भएको बताइन् ।

‘मैले लागुऔषध प्रयोग गर्दा केही पनि सोच्न सक्दैनथे तर अहिले मेरो मानसिक स्वास्थ्य पनि राम्रो भएको छ,’ उनले भनिन् । उनले लागुऔषध प्रयोगकर्तासँग अहिले म आफैँले जानकारी लिएर ‘इनपुट र शेयरिङ’ गरिरहेकी बताउँदै उनले भनिन्, ‘मलाई के लाग्छ भने शेयरिङ सबैभन्दा उत्कृष्ट औषधि हो ।’ पाँच वर्षदेखि सञ्चालनमा आएको नवदृष्टी पुनःस्थापना केन्द्रकी संस्थापक सिमरन राजभण्डारीले आफू पनि कुनै न कुनै रुपमा लागुऔषधमा फसेको र पछि व्यवहार परिवर्तन भएपछि यस क्षेत्रमै काम गर्नुपर्छ भन्ने सोचको विकास भइ महिला पुनःस्थापना केन्द्र सुरु गरिएको बताइन् ।

साथीहरुको लहलहैमा लागेर आफू पनि लामो समय लागुऔषधको दुर्व्यसनमा फसेको बताउँदै उनले आवासीय रुपमा पुनःस्थापना केन्द्रमा बसेकी महिला तथा युवतीलाई व्यवहार परिवर्तनका विषयमा सिकाइने जानकारी दिइन् । लागुऔषध प्रयोगकर्ताको व्यवहार परिवर्तन गर्न प्रत्येक विहान नियमित अभ्यास, ध्यान, आदर तथा सत्कार लगायत व्यवहारका विषयमा सिकाइनुका साथै चिकित्सकमार्फत उपचार पनि गरिने राजभण्डारीले बताइन् । ‘उहाँहरुलाई महसुस हुने गरी परामर्श गरेर लागुऔषध प्रयोगकर्ता युवती तथा महिलाको व्यवहार परिवर्तन गर्न सकिन्छ,’ उनले भनिन् ।

सो संस्थामा फिजिसियन चिकित्सक, मनोपरामर्शदातासहित सात जनाको जनशक्ति कार्यरत छ । २५ जनाको क्षमता रहेको पुनःस्थापना केन्द्रमा अहिले विभिन्न जिल्लाबाट आएका १९ जना युवती तथा महिला रहेका छन् । तीमध्ये सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका लागुऔषध प्रयोगकर्ता रहेका छन् । पुनःस्थापना केन्द्रमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कपिलवस्तु र रुपन्देहीका लागुऔषध प्रयोगकर्ता युवती तथा महिला छन् ।

१५ देखि २५ वर्ष उमेर समूहका युवतीले ब्राउन सुगरको प्रयोग गरेको र २५ देखि ५५ वर्ष उमेर समूहका महिलाले धेरैजसो मदिरा सेवन गरेको पाइएको संस्थापक राजभण्डारीले बताइन् । उनले पुनःस्थापना केन्द्रमा अवासका लागि विभिन्न प्याकेज रहेको जानकारी दिँदै तीन महिनामा खासै परिवर्तन नभए पनि छदेखि नौ महिनामा व्यवहार परिवर्तन भएको पाइएको बताइन् । ‘कतिपय अभिभावकले यहाँ ल्याएर छोड्नुहुन्छ र सम्पर्कविहीन भइदिनुहुन्छ त्यसले हामीलाई कहिलेकाहीँ अप्ठयारो पार्छ,’ उनले भनिन् ।

उनका अनुसार लागुऔषध प्रयोगकर्ताहरुलाई संस्थामा भित्र्याएर चिकित्सकमार्फत उपचार सुरु हुन्छ र त्यो बेला उहाँहरुको शारीरिक अवस्था कमजोर हुन्छ, त्यसबेला उहाँहरुमा बेहोसजस्तो हुने र चिच्याउने, कराउने लगायतका व्यवहार देखिन्छ ।’ पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक राशी रावलले युवती तथा महिलालाई अभिभावकले पुनःस्थापना केन्द्रमा राख्ने समय कम भएका कारण व्यवहार परिवर्तनमा समस्या आएको उल्लेख गरिन् ।

उनले मानसिक स्वास्थ्यको अवस्था राम्रो हुन कम्तीमा एक वर्षको समय लाग्ने भन्दै लागुऔषध प्रयोगकर्तालाई विगतका कुरा बिर्साउने विषयलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । नेपालगन्जमा महिला पुनःस्थापना केन्द्र एउटा मात्रै छ । केन्द्रमा उपचार गरी पाँच वर्षमा करिब २०० महिला तथा युवती घर फर्किएका छन् भने ६० प्रतिशतको व्यवहार परिवर्तन भइ सामान्य जीवन बिताएको संस्थाको भनाइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ०९:५४