नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । प्रकाशित समाचारको आधारमा भन्ने हो भने अपराध र घृणा फैलाउने काम भएको कारण टिकटक बन्द गर्ने निर्णय गरेको हो । निश्चय नै अपराध र घृणा फैलाउने काम क्षमायोग्य काम हैनन् । तर यो प्रविधिले नभएर प्रविधि प्रयोगकर्ताले गरेका काम हुन् । तसर्थ प्रयोगकर्ताको सट्टा प्रविधि तथा उपकरण बन्द गरेर सरकार उल्टो बाटो हिँडेको छ ।
कुनै पनि प्रविधिको सबल र दुर्बल पक्ष हुन्छन् । यसलाई मध्यनजर गर्दै प्रयोगकर्ताले सधैँ अधिकत्तम मानव हितमा काम गर्नुपर्छ । तर, जहाँ बेथिति, भ्रष्टाचार र त्योसँग जोडिएर नागरिकमा नैराश्यता व्याप्त हुन्छ, त्यहाँ कुनै पनि प्रविधि तथा उपकरणको दुरुपयोग हुने सम्भावना बढी हुन्छ । टिकटकको प्रसङ्गमा भएको पनि यही हो । अन्य सामाजिक सञ्जाल पनि यसमा अछुतो छैनन् ।
तसर्थ सरकारले प्रतिबन्धभन्दा पनि नियमनको पाटोलाई मजबुत बनाउनुपर्छ । सरकार भने यतातिर लागेन । किनभने सामाजिक सञ्जालको दुरुपयोगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाम्रो सिङ्गो राजनीतिक संस्कार र नेताहरूको अकर्मण्यता जोडिएको छ । कसरी त ? यससँग जोडिएको अपराध र घृणा भावलाई नेताको व्यवहार र बोलीले पारेको प्रभावमा जोडेर हेरौँ । अराजकतावादी सिद्धान्तका प्रतिपादकहरु मानिस आफैँमा असल गुणले युक्त हुन्छ, भन्छन् ।
उनीहरु राज्यको नियन्त्रणकारी चरित्रलाई रुचाउँदैनन् । तर हामीजस्तो तेस्रो विश्वको राज्य र राजनीति नियन्त्रकारी मात्र छैन । सत्ता र शक्तिको अधिकत्तम दुरुपयोग गर्ने नेता तथा राजनीतिक दलहरु छन् । नेताहरूको भनाई र गराईमा एकरूपता छैन । आवधिक निर्वाचनमा नागरिकले तीनै दल र नेतालाई मत दिन्छन् । तर, यो उनीहरु प्रतिको विश्वास नभएर आफ्नो राजनीतिक सहभागिताको कर्मकाण्ड मात्र हो । आफूले मत दिएको नेताले देश विकास गर्छन् भन्नेमा नागरिकलाई विश्वास छैनन् ।
अविश्वासबाट पैदा हुने सोंच र योजनाहरु नकारात्मक नै हुन्छन् । यस्तोमा राजनीति मार्फत कमाऊ धन्दामा लागेका नेताहरूबाट जसरी पनि धन कमाउन नागरिक प्रेरित हुनु अस्वाभाविक होइन । बढ्दो बेथिति, भ्रष्टाचार र महँगीमा पैसाको महत्व अझ बढी हुन्छ । यस्तोमा जसरी पनि कमाउनु पर्छ भन्ने सोंच नागरिकमा हुन्छ । यी सोच भएका मध्ये कतिले अपराधको सहारा लिन्छन् । सायद नेताहरू नैतिकवान् हुन्थे अनि सरकारमा पुगेर नीति र प्रणालीमा देश चलाउँथे भने नागरिकमा नैराश्यता कम हुन्थ्यो ।
आत्मविश्वास र सकारात्मक सोच भएको मान्छेले व्यक्तिको मात्र नभएर समग्र समाजको हित सोच्छ । समग्र समाजको हित सोच्नेले व्यक्तिगत हितको लागि कुनै पनि प्रविधि र उपकरणको दुरुपयोग गर्दैन । त्यो अर्थमा टिकटक प्रयोग गरेर आपराधिक गतिविधि हुनु भनेको हाम्रो नेताको व्यवहारले जनतामा कस्तो मनोविज्ञान निर्माण गर्यो भन्ने हो । सरकारको अर्को आरोप भनेको टिकटकमार्फत् घृणा फैलाएर सामाजिक सद्भाव खलबल्याउने काम भयो । घृणा फैलाउने काम मानिसको अभिव्यक्ति र व्यवहारले हो ।
भलै यसलाई द्रुत गति दिने काम टिकटकले गर्यो । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा हामी कति संस्कारयुक्त छौं भन्ने हो । मानिस सामाजिक प्राणी हो । समाजमा कुनै न कुनै धर्म, संस्कार अनि दर्शनबाट प्रभावित हुन्छ । त्यो अर्थमा प्राय सबै कुनै न कुनै धर्म, दर्शन र संस्कारको अनुयायी छौं । तर, हामी आफूले अँगालेको बाहेक अन्य धर्म, संस्कार अनि दर्शनप्रति कति फराकिलो सोच र दृष्टिकोण राख्छौं ? निश्चय नै हामी मध्ये धेरैले राख्दैनौं । यो फरक विचार र सोच भएको व्यक्तिप्रतिको असहिष्णु व्यवहारको परिणाम हो ।
फरक सोंच र विचारप्रति राणा शासन र पञ्चायत त सहिष्णु हुन सकेन नै, प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका नेता तथा राजनीतिक दलले पनि सभ्य र सौम्य तरिकाले अभिव्यक्ति संस्कारको विकास गर्न सकेनन् । नेताहरू आफ्नो जमात र कार्यकर्तालाई उत्तेजक बनाएर ताली बनाउने अभिव्यक्ति दिनमै रमाए । एक पक्षले उत्तेजक अभिव्यक्ति दिएपछि बदलामा अर्कोले त्यही गर्ने भयो । हाम्रो समाज सहिष्णु त थिएन नै । राजनीतिक दल तथा नेताहरुको व्यवहारले नागरिक पनि फरक विचार र दृष्टिकोणप्रति असहिष्णु तरिकाले अझ मुखरित हुन थाले ।
यस्ता घृणा भावहरु सामाजिक सञ्जालमा पनि छताछुल्न छन् । जसमा कति अभिव्यक्ति ठूला भनिएका नेताकै हुन्छन् । हाम्रो नेताले सिद्धान्त, नीति र दर्शनको आधारमा सही र गलतको पैरवी गरेनन् । राजनीतिको द्वन्द्व र अर्को नेतासँगको परिस्थितिजन्य सम्बन्धको आधारमा अभिव्यक्ति दिए । यसले आफ्नो योजनाको आधारभन्दा बढी अरुको आलोचना गरेर अघि बढ्ने प्रवृत्तिको विकास भयो । यसले नागरिकमा आफ्नो सीमा हेर्ने भन्दा अरुको खोट देखाउने प्रवृत्तिको विकास भयो । यस्तो सोचलाई प्रविधि वा उपकरणमाथि प्रतिबन्ध लगाएर नियन्त्रण हुँदैन ।
आम मानिसको व्यवहार र सोच निर्माणमा देशको राजनीतिक दलले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका खेलेको हुन्छ । त्यो अर्थमा सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरेर घृणा फैलाउने तथा अपराध गर्ने काम बढी छ भने त्यो देशको राजनीतिक दल तथा सरकारको असफलता पनि हो । त्यसैले सरकारले टिकटक बन्द गर्ने गरेको निर्णय सर्वथा गलत छ । यो लोकतान्त्रिक मूल्यमान्यता तथा सिद्धान्तको विरुद्ध हो । सरकारले टिकटक बन्द गर्ने निर्णयको पक्ष र विपक्षमा मत जाहेर भएका छन् । भलै सरकारको पक्षमा सुनिने आवाज मिहिन छन् ।
उनीहरूको तर्कमध्ये एक अन्य देशमा पनि टिकटक बन्द रहेको कुरा छ । त्यसमध्ये एक हो भारत तर भारतले टिकटक चीनसँग सीमा विवाद र लडाइँसँगको कारण बन्द गरेको कुरा घामझैँ छर्लङ्ग छ । टिकटक बन्द गर्ने मध्ये अफगानिस्तानको चर्चा गर्नु खासै औचित्य छैन, किन भने यो देश अहिले पनि एउटा बन्द समाजको निर्माण गरेर शासन गर्न खोजिरहेको छ । अधिकांश युरोपेली देश तथा अमेरिकामा बन्द हुनुको कारण सूचनाको चुनौती चोरी हुने जोखिमसँग मात्र जोडिएको छैन । उनीहरूको राजनीतिक दर्शन र आर्थिक पाटोसँग जोडिएको द्वन्द्व पनि हो ।
यो द्वन्द्वमा उनीहरूले गरेको निर्णय लोकतान्त्रिक मूल्यमान्यतामा टेकेर गरेका छन् भनेर विश्वास गर्न सकिँदैन । लोकतान्त्रिक देशले गरेका सबै निर्णय लोकतन्त्रको मानक हुन्छन् भन्ने पनि छैन । तसर्थ विभिन्न आयामबाट नागरिकलाई फाइदा पुर्याएको टिकटक बन्द गर्नु सर्वथा गलत निर्णय हो । यसले घृणा भाव फैलाएको र अपराधको लागि प्रयोग भएकोमा दुई मत रहेन । तर यसलाई प्रयोग गरेर मान्छेले राम्रो काम पनि गरेका छन् । मान्छेले आफ्नो व्यापार व्यवसाय प्रवर्द्धन गर्न टिकटकको प्रयोग गरेका छन् । कतिलाई आफ्नो कला र सृजना प्रस्फुटन गर्ने मञ्च भएको छ । उनीहरूले यसबाट नै आफ्नो लागि अवसर सृजना गरेका छन् ।
सूचना प्रवाह गरेर जनचेतना जोगाउनको लागि पनि टिकटक प्रयोग भएको छ । सरकारले टिकटकको यि सकारात्मक पक्षलाई नजर अन्दाज गरेर नकारात्मक पाटोलाई मात्र नियाल्नु न्यायोचित हुँदैन । तसर्थ प्रविधि एक किसिमको उपकरण मात्र हो । कुनै पनि उपकरण मानव जीवनको हितको लागि प्रतिपादन तथा निर्माण गरिएका हुन्छन् । तर मानिसले यसको दुरुपयोग पनि गर्न सक्छन्, जसको परिणाम मानव समाजको लागि स्वीकार्य हुँदैन । तर यसमा दोष उपकरण स्वयंको नभएर मानिसको नियत हो । तसर्थ मानिसको नियतमाथि नियमन गर्ने हो । खराब नियत भएकाले टिकटकको दुरुपयोग गर्दैमा टिकटक नै प्रतिबन्ध गर्ने हैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भानु बोखिम । काठमाडौं