सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पविद् भन्छन्

जाजरकोट भूकम्प : ‘सचेत गरायो, अझै महाभूकम्पको जोखिम’

सुदूरपश्चिममा ‘मेगा’ भूकम्पको सम्भावना कायमै

जाजरकोटमा शुक्रबार रातियता भूकम्पका १७५ भन्दा धेरै धक्का मापन गरिएको छ । शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका अनुसार उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मुख्य भूकम्पपछिका धक्का परकम्प हुन् । तीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो । ६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए ।

जोखिम टरेको छैन : भूकम्पविद्

भूकम्पविद्ले पश्चिम नेपालमा महाभूकम्पको जोखिम कायमै रहेको बताएका छन् । पश्चिम नेपाल आसपासमा ठूलो भूकम्पको सम्भावना कायमै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।

शुक्रबार रातिको धक्काले महाभूकम्पको जोखिम कम नभएको उनले उल्लेख गरे । उक्त क्षेत्रमा ५०० वर्षदेखि सञ्चित शक्ति मझौला भूकम्प जाँदैमा क्षय नहुने उनले बताए । गए रातिको भूकम्पले सचेत गराएको उनको भनाइ छ ।

सुदूरपश्चिममा ‘मेगा’ भूकम्पको सम्भावना कायमै

‘ठूलो भूकम्पको जोखिम कम भएको छैन । मझौला भूकम्पले त्यहाँ सञ्चित शक्ति कम गर्दैन,’ उनले भने, ‘सानातिना र मझौला भूकम्प गइरहनु भनेको त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित छ भन्ने हो । गएरातिको भूकम्पले सचेत गराएको छ ।’ ८ म्याग्निच्युडदेखि माथिका धक्कालाई महाभूकम्प भनिन्छ ।

८ म्याग्निच्युडको सञ्चित शक्ति क्षय हुन ६ म्याग्निच्युडका हजारौँ भूकम्प जानुपर्ने उनले बताए । ‘८ को शक्ति सञ्चय भएको ठाउँमा त्यो क्षय हुन ६ को हजारौँ वटा भूकम्प जानुपर्छ,’ उनले भने, ‘साना र मझौला केही भूकम्प जाँदैमा जोखिम कम हुँदैन ।’ उनका अनुसार ६ भन्दा ७ म्याग्निच्युडको भूकम्प ३२ गुणा ठूलो हुन्छ ।

६ भन्दा ८ म्याग्निच्युडको भूकम्प हजार गुणा ठूलो र शक्तिशाली हुन्छ । सोहीअनुसार क्षति पनि बढी हुन्छ । भूकम्पको म्याग्निच्युडसँगै केन्द्रविन्दु, भौगोलिक अवस्था, भौतिक संरचनाको स्थिति लगायत कारणले क्षतिमा प्रभाव पर्ने उनले स्पष्ट पारे । शुक्रबार रातिको भूकम्पले जाजरकोट र रुकम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १७:१०

लोकप्रिय