सूचनाको शक्ति - The Power Of Information

        

सडक सुरक्षा

चाडपर्वका बेला कर्णालीका सडकमा भगवान भरोसे यात्रा !

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाए पनि कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ ।

२०७९ असोज १२ गते बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जीप कपुरकोट गाउँपालिका–६ जलवाङ दुर्घटनामा पर्यो । देशैभर दसैँको रौनक छाएको बेला रा १ ज ५६३ नम्बरको जीप दुर्घटनामा नौं जनाले ज्यान गुमाएपछि जलवाङ गाउँ शोकमा डुब्यो ।

उक्त जीपमा सवार नौं जनामध्ये आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो । जीपमा सवार सबै बाँकेको ढकेरीस्थित आफन्तको बिहेबाट सल्यान फर्किँदै थिए । मृत्यु हुने सबै एकै गाउँका हुन् । सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आइरहेको ट्रक दुर्घटनामा पर्यो ।

जुम्लाको हिमा गाउँपालिका–१, लिहीमा बागमती प्रदेश ०३–००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुरका ट्रक चालक अविनाश लामाको मृत्यु भयो भने उनका सहयोगी हरि न्यौपाने घाइते भए । असोज १५ गते सल्यानकै कुमाख गाउँपालिका–७, डुमकोटमा रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा पर्यो ।

दुर्घटनामा कुमाख गाउँपालिका–७, डुमकोटका दुई जनाको मृत्यु भयो भने १७ जना घाइते भए । ओभर लोडका कारण उकालोमा चढ्न नसकेर जीप दुर्घटनामा परेको थियो । असोज १५ मै जुम्लाको तिला गाउँपालिका–१, कालजेनीमा खंलगाबाट नराकोटतर्फ जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भयो ।

भे १ च १८७३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा इलाका प्रशासन कार्यालय नाराकोटका प्रमुख मधुशंकर उपाध्यायसहित चार जना घाइते भए । उनीहरू दसैँ मान्न घर फर्किंदै थिए । यी घटना चाडपर्वका बेला बर्सेनि कर्णालीका सडकमा ज्यान गुमाउनेहरूका दुःखान्त उदाहरण हुन् ।

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन जस्ता कारणले चाडपर्वका बेला दुर्घटना बढेको देखिन्छ ।

कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको चाडपर्वको बेला २१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दसैँमा ठूलो मानवीय क्षति हुनेगरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हुँदा दैलेखमा चार सवारी दुर्घटनामा सात जना घाइते भएका थिए ।

त्यस्तै सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा एक–एक सवारी दुर्घटना हुँदा, दुई जनाको मृत्यु भयो । चाडपर्वका बेलामा मादक पदार्थ सेवन (मापसे)को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्ने लगायतका कारण दुर्घटना बढेको देखिन्छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी गोपालचन्द्र भट्टराईले दुर्घटना न्यूनीकरणका लागि प्रहरीले भरमग्दुर प्रयास गर्दै आएको बताए । उनले भने, ‘प्रहरीले दुर्घटना न्यूनीकरणमा धेरै प्रयास गरेको छ, हाम्रो प्रयासले मात्रै पुग्दैन । सबै पक्षको सहकार्य भएमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

सरकारले कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना बनाए पनि कार्यान्वयन फितलो हुँदा सडक दुर्घटना घट्नुको साटो बढ्दै गएको छ । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता कारणले हरेक वर्ष चाडपर्वका बेला कर्णालीमा सडक दुर्घटना बढ्दै गएको प्रहरीको तथ्यांक छ ।

कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७६–०७७ को असोज महिनामा कर्णाली प्रदेशमा ३३ वटा सडक दुर्घटना भएका थिए भने आ.व.२०७७–०७८ को असोज महिनामा १८ वटा र २०७८–०७९ मा २३ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।

प्रहरी तथ्यांक अनुसार गत तीन आर्थिक वर्षको असोज महिना अर्थात् चाडपर्वको समयमा मात्र कुल ७४ वटा सडक दुर्घटना भएको देखिन्छ । २०७६–०७७ को कात्तिक महिनामा २०, २०७७–०७८ को कात्तिकमा २९ र २०७८–०७९ को कात्तिकमा ४१ वटा गरी कुल ९० वटा सडक दुर्घटना भएका छन् ।

चाडपर्वका बेला गाउँघर फर्किनेहरूको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्री बोक्ने र तीव्र गतिमा हाँक्ने गर्नाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ । दसैं नजिकिँएसँगै कर्णाली भित्रिने र बाहिरिने नागरिकको संख्या दिनानुदिन वृद्धि भइरहेको छ ।

रोजगारी, अध्ययन तथा व्यापार व्यवसायका लागि प्रदेश बाहिर रहेका कर्णालीका नागरिक चाडबाड नजिकिएसँगै घर फर्कने क्रम सुरु भएको छ । कर्णाली भित्रिने मुख्य मार्ग भनेको स्थलमार्ग नै हो । कर्णालीमा अन्य समयभन्दा चाडपर्वका बेला बढी मात्रामा सडक दुर्घटना हुने गरेका छन् ।

रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका कर्णालीका श्रमिक तथा विद्यार्थीहरूको ठूलो संख्या दसैँतिहार बिदामा घर फर्कने गर्छन् । विभिन्न नाकाबाट दैनिक हजारौँको संख्यामा नागरिक कर्णाली प्रवेश गरिरहेका छन् । कर्णालीमा यात्राका लागि सडक मार्ग निर्विकल्प जस्तै छ ।

कर्णालीका लागि यात्रुहरूले बर्सेनि बाटोमा सास्ती व्यहोर्नुपर्ने बाध्यता मात्र होइन, ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ । साँघुरा र कच्ची सडक तथा सवारीसाधनको क्षमताभन्दा धेरै यात्रु बोक्ने लगायत कारणले कर्णालीका सडकमा भगवान् भरोसामा यात्रा गर्नुपर्ने वर्षौंदेखिको बाध्यता अझै कायम छ ।

के छ सुरक्षा निकायको तयारी ?

सडक सुरक्षाको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले चाडपर्वका समयमा चेकजाँच तथा जनचेतनालाई जोड दिएको छ । अघिल्ला वर्षहरूमा झैँ प्रहरीले चाडपर्वको समयमा हुने सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सबै तयारीहरु गरिरहेको नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीका अनुसार नागरिक सहायता कक्ष, नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही, ट्राफिकसहितको संयुक्त जाँच लगायतका कार्यक्रमहरू अघि सारिएको छ । प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच सञ्चालन गर्नेछ ।

चाडपर्व सुरक्षा कार्य योजना २०८० अनुसार सवारी दुर्घटना हुन नदिन प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच सञ्चालनका साथै ३१ स्थानमा नियमित जाँच, आवश्यकता अनुसार आकस्मिक जाँच, १८ स्थानमा लामो दूरीका सवारी जाँच (दुई जना चालकको व्यवस्था) गर्ने जनाएको छ ।

यसैगरी, प्रदेशका २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवक्ता शाहीले जानकारी दिए । चाडपर्वका समयमा यात्रुसँग बढी असुल्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको कार्ययोजना रहेको शाहीको भनाइ छ ।

शाहीका अनुसार लामो दूरीमा सञ्चालन हुने सवारीसाधनका लागि तीन ठाउँमा यात्रु विश्राम कक्ष निर्माण गरिएको छ । कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका लागि सुर्खेतको बड्डीचौर, प्रदेश बाहिरिने सवारीका लागि सुर्खेतकै छिन्चु र डोल्पा सडक खण्डमा सल्यानको कपुरकोटमा यात्रु विश्राम कक्ष स्थापना गरिएको छ ।

सुरक्षा योजनामा प्रदेशका सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाइल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन गर्नेसम्मका योजना समेटिएका छन् । चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

‘अवैध चोरी निकासी रोक्ने, धार्मिक सद्भाव कायम राख्ने र कुनै पनि साम्प्रदायिक घटना हुन नदिने, दुर्घटना न्यूनीकरण गर्ने र जुतावास खेल्न रोक्ने लगायत चाडबाडको समयमा हुन सक्ने कुनै पनि आपराधिक क्रियाकलाप रोक्ने प्रहरीको योजना छ,’ नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले भनेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी गोपालचन्द्र भट्टराईका अनुसार प्रदेशका १० जिल्लामा ४३०० जना सुरक्षाकर्मी खटाइएको छ । ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं,’ उनले भने, ‘प्रदेशभर क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिनेछ ।’

राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेशका मुख्य बजार क्षेत्रमा चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि गरिने प्रहरीले जनाएको छ । अपराध हुन नदिने वैज्ञानिक उपकरणको समेत प्रयोग गरिएको बताइएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, जिल्ला सदरमुकामका बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी भइरहेको र राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भट्टराईका जानकारी दिए ।

‘बढी भीड हुने ३८ स्थानमा यात्रु सहायता कक्ष तयार गरिएको छ,’ उनले भने, ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाही गछौं ।’ उनका अनुसार सार्वजनिक यातायात साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्न लाइडर स्पीड ‘राडर गन’लगायतका प्रविधिहरुको प्रयोग गरिनेछ ।

के छ सुरक्षा जोखिम ?

प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएर सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सडक दुर्घटना, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, विष्फोटन, तस्करी, र ट्राफिक नियम उल्लंघन लगायतका क्रियाकलाप हुन सक्ने प्रहरीको विश्लेषण छ ।

‘बैंक वित्तिय संस्थाहरुमा चोरी, लुटपाट हुन सक्छ । सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भइ असुविधा हुनसक्छ त्यसतर्फ पनि हामी सचेत छौं । यसका लागि सबै प्रकारका सुरक्षा पद्दतीहरु अपनाइएको छ । चाडपर्वमा कुनै पनि अवान्छित गतिविधि हुँदैनन्,’ सूचना अधिकारी भट्टराईले भने ।

‘चाडपर्वको समयमा नागरिकका घर, सम्पत्ति, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक संस्था जस्ता स्थान सुरक्षा जोखिममा हुन्छन् । त्यस्तै नाकादेखि लिएर होटल, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामीण वस्ती र भीआइपी मुभमेन्ट हुने क्षेत्रलाई पनि विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरेका छौं,’ उनले भने ।

‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौँ’

यातायात व्यवसायी संघ कर्णाली प्रदेशका संयोजक रमेशकुमार सापकोटाले चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित गन्तव्यमा पुर्याउन प्रतिबद्ध रहेको बताए । उनले राज्यको नीति नियममा रहेर यातायात व्यवसायीहरूले यात्रुलाई सहज र सुरक्षित सेवा दिने जिम्मेवारीमा कुनै पनि कमी हुन नदिने उल्लेख गर्दै राज्यका कारण कर्णालीमा यात्रुलाई कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘कर्णालीका अधिकांश सडक समयमा बन्दैनन्, बजेट छुट्याएर सडकको स्तरोन्नति पनि गरिँदैन । जबसम्म सडक राम्रो हुँदैन, तबसम्म यात्रुहरूको यात्रा जहिले पनि कष्टकर नै हुन्छ,’ सापकोटाले भने । राज्यले विशेष गरी चार्डपर्वका समयमा यातायात व्यवसायीलाई सहज र सुरक्षित यातायात सञ्चालनमा रचनात्मक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

उनका अनुसार विशेष गरी प्रदेश राजधानी सुर्खेत भित्रिने र बाहिरिने जिल्लाहरूमा सवारीसाधन थपेर सेवा सुरु गरिएको छ । चाडपर्वको समयमा प्रशासनबाट सवारीचालक र कर्मचारीलाई विभिन्न खाले हैरानी दिने गरिएको उल्लेख गर्दै यस्ता हैरानी बन्द हुनुपर्ने सापकोटाले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १५:५१

लोकप्रिय