सूचनाको शक्ति - The Power Of Information

        

अपराध

आफन्तबाटै महिला असुरक्षित

पाँच वर्षमा जबर्जस्ती करणी र मानव बेचबिखनका १७ हजार मुद्दा ।

पछिल्ला पाँच आर्थिक वर्षमा देशभर मानव बेचबिखन, जबर्जस्ती करणी र उद्योग, अपहरण तथा शरीर बन्धकका १७ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७५–०७६ देखि गत आव २०७९–०८० सम्म १७ हजार १३१ मुद्दा दर्ता भएका छन् ।

यस्तै, पाँच आवमा अपहरण तथा शरीर बन्धकका ८७३ मुद्दा प्रहरीमा दर्ता भएका छन् । आव २०७५–०७६ मा १६३, व्यक्ति अपहरणमा ११५, अपहरण तथा जबर्जस्ती करणीका ४५ र अपहरण वा शरीर बन्धक कसुर उद्योगमा ३ मुद्दा दर्ता भएका थिए । त्यसैगरी आव २०७६–०७७ मा अपहरण तथा शरीर बन्धक कसुरका घटना घटेर १३८ पुगेका छन् ।

सो आवमा अपहरण वा शरीर बन्धकसम्बन्धी १०१, अपहरण तथा जबर्जस्ती करणीका ३५ र अपहरण तथा कर्तव्यका २ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । आव २०७७–०७८ मा आउँदा त्यस्ता घटनामा वृद्धि भयो । सो आवमा कुल १७४ मुद्दा दर्ता भए । जसअन्तर्गत अपहरण वा शरीर बन्धकका १०५, अपहरण तथा जबर्जस्ती करणीका ६५ र अपहरण तथा कर्तव्यका ४ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ ।

यसैगरी, आव २०७५ देखि ०७८ सालसम्मको घटनाक्रम हेर्दा आव २०७८–०७९ मा यस्ता घटना बढेर २०८ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसअन्तर्गत अपहरण वा शरीर बन्धकका १३२, अपहरण तथा जबर्जस्तीका ७२ र अपहरण तथा कर्तव्य मुद्दामा ४ भएका थिए । आव २०७९–०८० मा भने यस्ता प्रकृतिका घटनामा केही कमी देखिएको छ ।

सो आवमा यस्ता मुद्दा १९० पुगेको प्रहरीको तथ्यांंक छ । सो आवमा अपहरण वा शरीर बन्धकमा १२८, अपहरण तथा जबर्जस्तीमा ५९ र अपहरण तथा कर्तव्यमा ३ मुद्दा दर्ता भएका थिए । आव २०७५–०७६ देखि गत आवसम्म देशभर मानव बेचविखन सम्बन्धी ८३० मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, आव २०७५–०७६ मा २५८, २०७६–०७७ मा १३६, २०७७–०७८ मा १३४, २०७८–०७९ मा १४५ र २०७९–०८० मा १५७ मुद्दा दर्ता भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै, पछिल्ला पाँच आवमा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका १५ हजार ४२८ मुद्दा दर्ता भएका थिए ।

यीमध्ये आव २०७५–०७६ मा ३ हजार ९२, २०७६–०७७ मा २ हजार ८६८, २०७७–०७८ मा ३ हजार ३४९ दर्ता भएको तथ्यांकले देखाउँछ । त्यस्तै, २०७८–०७९ मा ३ हजार १४० मुद्दा प्रहरीमा दर्ता भएका थिए । जसअन्तर्गत जबर्जस्ती करणीमा २३८०, मानव बेचबिखन गरी जबर्जस्ती करणीमा २३, अपहरण गरी जबर्जस्ती करणीमा ७२ मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

त्यस्तै जबर्जस्ती करणी गरी कर्तव्य ज्यानमा ९, बालविवाह गरी जबर्जस्ती करणीमा १ र जबर्जस्ती करणी उद्योगमा ६५५ मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले जनाएको छ । आव २०७९–०८० मा पनि जबर्जस्ती करणीका मुद्दामा केही कमी आएको थियो । सो आवमा २ हजार ९७९ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुबेर कडायतका अनुसार चोरी, मानव बेचबिखन, अपहरण शारीरिक बन्धकजस्ता घटना आर्थिक तथा दुस्मनीका कारण हुने गर्छन् । केही व्यक्तिलाई झुटा आश्वासन दिएरै यस्ता गतिविधिमा संलग्न गराइएको छ । त्यस्ता गतिविधि घटना रोकथामका लगि जनचेतना तथा सजकता लागि प्रहरी लागिपरेको उनको भनाइ छ ।

‘जबर्जस्ती करणीमा मायाजालमा फसायो, लिभिङ टुगेदर बस्दा केही सबन्धमा विवाद उत्पन्न भई तथा परिवारको अस्वीकार, जात इत्यादिका कारण पनि यस्ता घटना भएका छन्,’ कडायत भन्छन्, ‘अहिले सोसल मिडिया एक्सेसका कारण पनि जबर्जस्ती करणीका घटना बढेका हुन् ।’

अधिवक्ता पुष्पा पौडेल भने चिनजानकै मान्छेबाट महिला शोषणमा पर्ने गरेका बताउँछिन् । ‘पछिल्लो समय जबर्जस्ती करणीका मुद्दा बढेका छन्,’ पौडल भन्छन्, ‘यस्ता अपराधिक गतिविधिमा शिक्षक, डाक्टर, कलेजका सहायक प्रधानाध्यापक, वार्डेन, तथा नजिकैका आफन्तबाट पनि महिला शोषण हुने गरेका छन् ।’

प्रलोभनमा पारी, नातागोताको विश्वास जितेर त्यसैको फाइदा उठाउने, पढ्न बसेको होस्टेलमा शिक्षक वार्डेन, रिलेसनमा बसेका डाक्टर र कलेज पढ्ने महिलाजस्ता अनेक प्रविधिले यस्ता घटना बढेको अधिवक्ता पौडलेको ठहर छ । यस्ता घटन हुन नदिन आफू पनि सर्तक हुनुपर्ने र घरमा पनि यसबारे शिक्षा दिनुपर्ने पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार १५:२०

लोकप्रिय