सूचनाको शक्ति - The Power Of Information

        

दशैं विशेष

दशैं नजिँकिएसँगै रित्तिन थाल्यो नेपालगन्ज

नेपालगन्जमा बस्दै आएका अन्य जिल्लाका नागरिकहरू आफ्नो गाउँ फर्किन थालेपछि शहरमा चहलपहल पनि न्यून हुँदै गएको छ ।

मध्य र सुदूरपश्चिमका जिल्लाहरुबाट बसाईसराई गरी नेपालगन्जमा बसोबास गर्दै आएका नागरिकहरु दशैं मनाउन घर फर्केसँगै नेपालगन्ज शहर रित्तो हुन थालेको छ । विभिन्न पेशा व्यवसाय गर्न नेपालगन्जमा बस्दै आएका नागरिकहरु पसल बन्द गरेर आ–आफ्नो घर फर्किएसँगै नेपालगन्ज शहर सुनसान बन्न थालेको छ ।

साविकको मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरु घर फर्किन थालेका छन् । दिनप्रतिदिन बजार सुनसान बन्दै गएको छ । पसल, होटल तथा अन्य व्यवसायहरु बन्द हुन थालेका छन् । यहाँ बस्दै आएका अन्य जिल्लाका नागरिकहरू आफ्नो गाउँ फर्किन थालेपछि शहरमा चहलपहल पनि न्यून हुँदै गएको छ ।

उता, गाउँघरमा भने चहलपहल बढ्नुका साथै निकै रमझम भइरहेको छ । दशैँको नवौं दिनसम्म पनि घर बाहिर रहेका नागरिकहरु गाउँ फर्किइरहेका छन् । विद्यार्थी तथा सरकारी कार्यालयका कर्मचारीहरू पनि गाउँ फर्किसकेका छन् । शहरहरुबाट गाउँ फर्किनेहरूको सङ्ख्या अत्याधिक भएसँगै यातायात व्यवसायीहरूले यातायातका साधन थप गरेका छन् ।

बाँकेको नेपालगन्जबाट बाहिर जाने यात्रुको चाप बढेपछि यहाँका यातायात व्यवसायीहरुले पूर्णिमासम्मका लागि यातायातका साधन थप गरेका हुन् । भेरी यातायात प्रालि, सार्वजनीक भेरी यातायात समिति, बागेश्वरी यातायात समिति लगायतका समितिले यात्रु बस थपेर यात्रुको चापलाई व्यवस्थापन गर्न लागिपरेका छन् ।

विगतमा जस्तो दैनिक आलोपाले सिष्टम हटाएर यातायात व्यवसायीले राजधानी रुट र पहाडी जिल्लामा यात्रु बस थप गरेको जनाएका छन् । दसैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सरकारले यात्रुबाहक बसलाई रुट परमिट निशुल्क गरेको छ । दसैंका लागि घर जाने यात्रुको संख्या अत्याधिक रहेकोले यात्रु बस थपेर रुट परमिट निशुल्क गरिएको छ ।

हरेक यातायत संस्थाले दसैंका लागि दैनिक दोब्बर गाडी थप गरेर चलाएको व्यवसायीहरुले बताएका छन् । दसैं अवधिभर सवारी थपिएको र २४ सैं घण्टा चलाउन सक्ने व्यवस्था समितिले गरेका छन् । यात्रुहरुका लागि सवारी रिजर्वको समेत व्यवस्था गरिएको छ । यात्रुहरुको सुविधाका लागि दसैंमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्य यात्रु बस थप गरिएको समितिहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १०:२४

लोकप्रिय