सूचनाको शक्ति - The Power Of Information

        

पर्यटक कुरिरहेको बेगनास, दैनिक पाँच वटा डुङ्गा चल्न पनि धौधौ

शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !’ पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’

शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए । बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । ‘भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन,’ पाण्डेले सुनाए, ‘अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चार–पाँच वटा चल्न पनि धौधौ छ ।’

स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ । ‘सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ,’ डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, ‘हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।’ आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ थियो ।

कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् । ‘पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ,’ उनले भने, ‘डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।’ तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए ।

उनका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँ लगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ । अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताए ।

‘दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न,’ उनले भने, ‘आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।’ शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाए । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र भएको सुनसान उनको भनाइ थियो ।

भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिए । टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उनले बताए ।

‘पर्यटक आउन छाडेपछि तलब खान पनि धौ–धौ परिरहेको छ । अरु संस्था धान्ने त झन् टाढाको कुरा भयो,’ भुजेलले भने, ‘कोभिड–१९ को बन्दाबन्दीपछि पर्यटक आउने क्रम घटेको घटै भयो । मुख्य पर्यटकीय याममा पनि बेगनास क्षेत्र सुनसान छ ।’ आन्तरिक पर्यटक पनि आउन छोडेपछि बेगनासको पर्यटनलाई लिएर चिन्ता थपिएको उनले उल्लेख गरे ।

पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पोखरा सहर छेउमै भएर पनि बेगनास क्षेत्र ओझेलमा परेको बताए । ‘पर्यटन पूर्वाधार र प्रवद्र्धनका दृष्टिले बेगनास अझै पनि पछाडि छ,’ उनले भने, ‘त्यसमाथि अहिलेको आर्थिक मन्दी, कमसल सडक तथा पूर्वाधार लगायत कारणले यहाँ पर्यटकीय चहलपहल कम भएको छ ।’ वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने धारणा राखे ।

‘सरकार र पर्यटन सम्बन्धी संस्थाको नजर पोखराका अरु तालमा पनि जानुपर्यो । पूर्वाधारमा लगानी बढाउनुपर्यो,’ उनले भने, ‘प्रदेश सरकार र पोखरा महानगरले यसलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ ।’ प्रकृतिको वैभव, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनासलाई चिनारी दिएको वडाध्यक्ष कँडेलले जानकारी दिए ।

‘प्रकृतिले सिँगारेको यो ताल यहाँको मुख्य आकर्षण हो,’ उनले भने, ‘धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ । ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् ।’ सात तालको बाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्ने वडाध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार बेगनास नजिकै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् ।

पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । सहरको कोलाहल र व्यवस्ता छलेर छिनमै पुग्न सकिने प्रकृतिमय गन्तव्य हो बेगनास क्षेत्र । फेवातालको बाराही र बेगनासमा रहेको बराहबीच साइनो रहेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष कँडेलले बताए । ‘बराह क्षेत्रको पुरातात्विक महत्व छ । यो सदियौँ पुरानो धार्मिकस्थल हो,’ उनले भने, ‘यसप्रति अथाह विश्वास र जनआस्था गाँसिएको छ । यहाँ पुजा गरे कुनै दुर्घटना नहुने विश्वास गरिन्छ ।’

बेगनास तालको उत्तरपट्टि रहेको बराह मन्दिरमा पूजापाठ गर्नाले स्थानीय जलारी र डुङ्गा व्यवसायीलाई लाभ पुग्ने, कुनै दुर्घटना नहुने विश्वास रहेको कँडेलको भनाइ थियो । ‘चेतै र बडादसैँमा पञ्जबलीसहित बराह मन्दिरमा विशेष पूजाआजा हुन्छ,’ उनले भने, ‘मन्दिर पुनःनिर्माणसहित बृहत्तर विकासको योजना अगाडि बढाइएका छौँ ।’ बराह क्षेत्रको पूर्वाधार विकासमा गत आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र चालु आवमा रु ३० लाख बजेट दिएको वडाध्यक्ष कँडेलले जानकारी दिए ।

‘विसं २०३४–०३५ सालअघिसम्म बेगनास तालबारे धेरै कमलाई थाहा थियो । यसको खासै चर्चा थिएन,’ उनले भने, ‘विस्तारै पूर्वाधार बने । प्रचारप्रसार पनि भयो तर अझै पनि पर्यटनबाट उल्लेख्य लाभ बेगनासले उठाउन सकेको छैन ।’ उनका अनुसार बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको वडाध्यक्ष कँडेलको भनाइ थियो । ‘ताल वरिपरि फुट ट्रायक, बगैँचा, विश्रामस्थल बनाउन आवश्यक छ,’ उनले भने, ‘स्तरीय होटल, रेष्टुराँसहित सुरक्षाको प्रत्याभूति दिनसके बेगनासमा पर्यटक भित्रिन्छन् ।’

स्रोत : रासस
प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०६:४७