नेपाली समाजले सुनाउँदै, देखाउँदै अनि महसुस गराउँदै आएको एउटा कुरा हो श्रीमान र श्रीमतीबीचको अन्योन्याश्रित सम्बन्ध । देवीदेवताले प्रयोग गर्ने रथका दुई पाङ्ग्रालाई श्रीमान र श्रीमतीसँग जोडेर जीवनको यात्राको वर्णन आज पनि हरेक नेपाली घरमा हुन्छ । पाङ्ग्र्रा सही रूपमा गुड्यो भने जीवन सहज हुन्छ र एउटा पाङ्ग्रामा मात्र पनि गडबडी आयो भने अर्कोले सम्हाल्नुपर्छ । तर यो भन्दै गर्दा नेपाली समाजले सम्हाल्ने जिम्मेवारी जहिले पनि श्रीमतीलाई नै दिएको छ ।
सानो छँदा घरमा, टोलछिमेकमा श्रीमान–श्रीमतीबीच विभिन्न खाले झगडाको म साक्षी भएकी छु । ती झगडाहरूको कारण श्रीमती भए भोग्नुपरेको प्रताडना र लान्छना आफ्नै आँखाले देखेकी छु । अनि त्यहीँ श्रीमानको गल्ती छ वा श्रीमान गलत छ भने लोग्ने मान्छे भनेका यस्तै हुन्, यिनीहरूको गल्ती नजरअन्दाज सक्नुपर्छ । किनकि घर बिगार्नु र सम्हाल्नु जहिले पनि केटी मानिसको हातमा हुन्छ भन्ने मान्यतालाई निर्लज्ज भएर आत्मसाथ गर्ने ठूलो जमात पनि देखेकी छु ।
हो, श्रीमान र श्रीमती भनेका रथका दुई सजीव पाङ्ग्रा हुन् । एउटा पाङ्ग्र्रामा मात्र खराबी आयो भने जीवनको गाडी सहज रूपमा अगाडि बढ्न सक्दैन । तर के खराबी आउनु भनेको गलत नै हुनु हो त ? जीवनरूपी यात्रामा खराबी आउनुमा व्यक्तिको दोष हुनैपर्छ र ? अनि कस्तो खराबीलाई प्राविधिक मान्ने र कस्ता खराबीलाई भावनात्मक ? अनि के भयो भने पाङ्ग्रा बनाउने र कुन परिस्थितिमा पाङ्ग्र्रा फेर्ने ? सुन्दा असामान्य लाग्ने यी प्रश्नका उत्तरहरू जबसम्म सामान्य हुँदैनन्, तबसम्म सम्बन्धहरूको बोझमा थिचिएर धेरै जना पिल्सिरहनेछन् ।
एकअर्कालाई माया गर्नु, सम्बन्ध बन्नु, विवाह हुनु, परिवार हुनु प्राकृतिक कुरा हुन् । भविष्य त कसैले देख्न सक्दैन तर जो–कोहीले पनि सम्बन्धको सुरूआत जीवनभरकै साथ र समर्पण, माया अनि भरोसाका लागि नै गरेको हुन्छ । समय बित्दै जान्छ, समयअनुसार सोच पनि बदलिँदै जान्छन् । पहिले सही लागेका कुराहरू, ठीक लागेर गरेका कामहरू पछि गएर गलत लाग्न सक्छन् । मानिसहरू मन नपर्न सक्छन्, उनीहरूसँग विचार नमिल्न सक्छन् । पहिले लिइएका निर्णयहरूमा पछि पछुतो हुन सक्छ ।
यो सबै हुनु सामान्य हो । कोहीप्रति विवाह गरेको दश, पन्ध्र या बीस वर्षपछि मन नमिलेको भान हुन सक्छ, नराम्रो केही नगर्दा नगर्दै एक अर्काप्रति वितृष्णा जाग्न सक्छ । एउटा सम्बन्धको आधार के हो ? माया वा अरू केही ? यदि माया हो भने मायाले जोडिएका सम्बन्धहरू माया नहुँदा पनि टिकाउन खोज्नु सही हो त ? माया बिनाको सम्बन्ध कतिसम्म थेग्ने, कहिलेसम्म त्यो सम्बन्धसँग जोडिएका अरू सम्बन्ध तहसनहस हुने डरले मनको पीर मनभित्रै राखिरहने भन्ने प्रश्नहरूमाथि पनि विचार गर्नुपर्ने बेला भएको छ ।
‘ओहो अब आएर हामीबीचको सम्बन्ध बिग्रिँदा अरूले के भन्लान्, बा–आमाले थाहा पाए भने के हुन्छ, कसरी के भनेर सम्झाउने उनीहरूलाई, छोराछोरीलाई कसले सम्हाल्ने, घर व्यवहार कसरी मिलाउने ?’ यस्ता कुरा सोचेर मनमा राखेर अरूको बारेमा मात्रै सोचेर बस्दाबस्दै मानसिक रूपमा कमजोर हुँदै गएको पत्तै हुँदैन । यसबाट कसरी बाहिर निस्कने भनेर सही दिशामा सोच्न नसकी उल्टो अझ जंजालमा जेलिँदै जाँदा यसको नतिजा के हुने हो, कसैलाई नपरेसम्म थाहा नै हुँदैन ।
हाम्रो वरपर कुनै न कुनै डर या अप्ठ्यारोपनले आफ्नो बिग्रिरहेको सम्बन्धलाई बिना कुनै भावनात्मक सामीप्यता नै तन्काउदै जोगाउँदै अघि बढिरहेका देखिन्छन् कैयौं हाम्रा मानिसहरू । हामीभन्दा पहिलेको पुस्ताहरूले विवाहको बढी मर्यादा गर्थे, सम्बन्ध तोड्नमा भन्दा जोड्नमा विश्वास गर्थे भन्ने एउटा भाष्य पनि छ । संख्याका हिसाबले त्यसलाई केही हदसम्म सही पनि मान्न सकिएला । तर जोगाउनकै लागि माया भएरै ती सम्बन्धहरु नतोडिएका हुन् कि समाजको साथ अनि हिम्मत नपाएर आँट्न नसक्नाले नै ती सम्बन्धहरू जोगिएका हुन् त ?
हाम्रा बुवा–आमा, दाइ–भाउजू, मामा–माइजु, काका–काकीको सम्बन्धमा के यस्ता क्षण आएनन् होला जुनबेला उनीहरूलाई जीवन त बरू एक्लै नै काट्न पाए हुँदो हो भन्ने लागेको होस् ? परिवारमा देखेका, सुनेका, भोगेका झै–झगडा अहिले सम्झिँदा कसरी उहाँहरूले यो कदम चाल्न हिम्मत गर्नुभएन भन्ने सोच पनि आउँछ । तर आफ्नै मनलाई साक्षी राख्दा, आफैंलाई प्रश्न गर्दा हामी कत्तिको इमानदार भएर भन्न सक्छौं कि हाम्रै सम्बन्धमा यस्ता क्षणहरू आउँदा हामीले नै कत्तिको सहजताका साथ निर्णयहरू लिइरहेका छौं ।
सम्बन्धमा एकअर्काबाट टाढा हुन नसक्नुको कारण माया नै हो कि त्यो निर्णयपछिको जीवन कस्तो हुन्छ भन्ने डर र अनिश्चितता ? एउटा श्रीमान र श्रीमतीको बिग्रेको सम्बन्धको भार कस–कसले उठाउने र किन उठाउने भन्ने प्रश्नको उत्तरले धेरै सम्बन्धहरू यथास्थितिमा रहिरहन्छन् । हाम्रो सम्बन्धमा आउने खटपटले जसको कुनै दोष छैन उसले किन अशान्ति खेप्ने? मैले कुरा लुकाएर अरू खुसी हुन्छन् भने मैले कुरा किन नलुकाउने भन्ने सोचेर पनि कति जनाले आफ्नो मनको उकुसमुकुसलाई व्यक्त गर्न सक्दैनन ।
यसमा सायद सबैभन्दा बढी बुझ्नुपर्ने कुरा के होला भने, आफैं नै खुसी नभएको बेलामा उनीहरूले अरूलाई झन् कसरी खुसी बनाउन सक्लान र ? वैवाहिक सम्बन्धमा खटपट आउनुमा आर्थिक, भावनात्मक, व्यवहारिकका साथसाथै अन्य धेरै कारण हुन्छन् । तर उनीहरूमा दूरी चाहे जुनसुकै कारणले आएको होस्, यसको सिधा असर दुवैको स्वास्थ्यमा भने पक्कै पर्छ । कोहीले यस्ता मनमुटाव सजिलै पचाउन सक्छन् भने कोही चाहिँ यो सब कुराहरू सजिलै सहन गर्न सक्ने बलियो मुटुका हुँदैनन् ।
आफ्नो सम्बन्धमाथि बाबुआमा छोराछोरी, साथीभाइ इष्टमित्रले सोध्ने प्रश्नको उत्तर दिनुभन्दा चुपचाप आफैं यो दुनियाँलाई नै त्याग्न सजिलो लाग्न सक्छ उनीहरूलाई । मनोविज्ञान सम्बन्धी विभिन्न अध्ययनका अनुसार एउटै कुरालाई लिएर लामो समयसम्म पति–पत्नीबीच मनमुटाव भइरहँदा खेरी समस्याहरू देखिन थाल्छ । समयमा यी कुराहरूको छिनोफानो नहुँदा विस्तारै ती समस्याले झन् विकराल रूप लिन्छन् ।
‘मलाई मेरो बुढी या बुढाबाट जुन भावनात्मक सपोर्टको खाँचो छ, त्यो पाउँदिन । खाली झगडा मात्रै पर्छ, कुरै मिल्दैन । प्रयास गर्दा पनि हामी एक अर्काको लागि सही हुन सकिरहेका छैनौं । डिभोर्स नै गरिहालम् भने पनि परिवारमा के खैलाबैला मच्चाउनु बरू जे चलिरहेको छ चलिराखोस्,’ भन्ने अनि घरबाहिर सपोर्टको लागि साथी बनाएर हिँड्ने मानिसहरू पनि हाम्रै समाजमा भेटिइरहेका छन् र अझै भेटिन्छन पनि । कोही फेरि घरमा झगडा गर्ने, हल्लाखल्ला गरेर परिवारको सुख शान्ति सखाप पार्ने तर बाहिर सबै राम्रो नै चलिरहेको छ भनेर भान पार्दै हिँड्ने पनि हुन्छन् ।
सबै मानिसको व्यक्त गर्ने तरिका एउटै हुँदैन र सबै मानिसहरूको आफ्नो मनको कुरा अरूसँग भन्ने बानी पनि हुँदैन । मनभित्र कुरा राख्दाराख्दै, सबै ठीक छ भन्दाभन्दै भित्रभित्र खुम्चिएर आफूलाई भएको पीडा दबाउँदा दबाउँदै मानसिक रोगको चपेटामा परियो भने त्यहाँबाट निस्किन निकै गाह्रो हुन्छ । मायाले जोडिएका सम्बन्धहरू जब मिलाउनुपर्ने स्थितिमा आउँछन् तब धेरै कुरा सोच्नुपर्दछ । के कुराहरू मिल्न सक्छन् र के कुराहरू मिल्दैनन् भन्ने कुरा थाहा पाउनु पर्दछ ।
मिल्ने कुरा भए त मिलाउने हो तर नमिल्ने कुरालाई पनि मिलाएजस्तो गरेर सम्बन्ध अघि बढाउन खोजियो भने कालान्तरमा हुने भनेको दुर्घटना नै हो । माया नभएका सम्बन्धको अन्त्य गर्नु नै उत्तम हो जुन त्यो समयमा पीडादायी महसुस भएता पनि पछिको लागि दुवै जनाको हकमा नै हितकारी हुन्छ । मायामा सायद सही र गलत केही हुँदैन, मायाको एउटै मानक हुँदैन र सायद माया छैन भने एउटा सम्बन्धबाट अर्को सम्बन्धमा हामफाल्नु गलत पनि नहोला ।
तर यहाँनेर सबैभन्दा बुझ्नुपर्ने कुराचाहिँ के हो भने तपाईं एउटा सम्बन्धबाट अर्को सम्बन्धमा हाम्फाल्दै गर्दा तपाईंले देखाउनुपर्ने इमानदारिता र तपाईंको दायित्व र त्यो दायित्व सबभन्दा बढी त्यो सम्बन्ध छोडेर अर्को सम्बन्धमा जान चाहने व्यक्तिको नै हुनुपर्दछ । श्रीमानको लागि श्रीमती र श्रीमतीको लागि श्रीमान सबैभन्दा नजिकका साथी हुन् । एक अर्काको लागि सही हुने हो भने उनीहरूको जति सुखी कोही पनि हुँदैन तर दुई जनाबीच मनमुटाव, झगडा बढ्दै जाँदा, त्यसको केही समाधान ननिस्कँदा त्यो जत्तिको हानिकारक केही पनि हुँदैन ।
हरदिन साथ हुने मानिसबीच नै राम्रो सम्बन्ध नभएपछि जीवन कष्टकर पीडादायी हुनु स्वाभाविक नै हो । कारण जेसुकै होस्,आफ्नो मनको कुरा खुलस्त भन्ने वातावरण नपाउनु, कुनै बेला नबोलेरै समस्या बुझ्ने व्यक्तिले समस्याभन्दा पनि समस्या समाधान गर्न नसक्नु , म छु है भनेर आड दिन नसक्नु सजिलो परिस्थिति होइन । आफ्नो जीवनसाथी नै अचानक बिरानो मान्छे बन्दा हतास हुनु स्वाभाविक पनि हो तर यो नै जीवनको अन्त्य होइन । यो नै सम्बन्धको अन्त्य पनि होइन ।
त्यस्तो परिस्थितिमा सम्बन्ध पहिला जस्तो किन रहेन भनेर केलाउने कोसिस गर्नुपर्दछ । सकिन्छ श्रीमान–श्रीमती मिलेर सुल्झाउने अनि सकिएन, भएन भने परिवारसँग मिलेर कुनै उपाय निकाल्ने । भनिन्छ नि समाधान नलिई कुनै पनि समस्याको उत्पत्ति भएको हुँदैन र छलफलले सबै समस्याको हल पक्कै निस्किन्छ । समाधानका लागि आफ्नासँग खुलेर सहयोग माग्न यति धेरै हिच्किचाहट मान्नुभन्दा त नतिजा कति भयावह हुन्छ भनेर सोच्नु आवश्यक छ ।
हो, कसैलाई ठूला लाग्ने समस्या अरूका लागि साना अथवा केही पनि नहुन सक्छन्, घर परिवारलाई भन्न नमिल्ने नसक्ने कुराहरू पनि होलान् कतिपय, हिम्मत गरेर भनिहाले पनि तहसनहस हुने खालका कुराहरू पनि होलान् तर कुनै समस्या मानिसको जीवनभन्दा ठूलो कहिलेबाट हुन थाल्यो ? श्रीमान–श्रीमतीबीच कहिलेकाहीं सानोतिनो झगडा पर्नु, वैचारिक मतभेद हुनु सामान्य हो तर एउटै कुराले महिनौं, वर्षौं मनमुटाव भइरहँदा स्वास्थ्यमा समस्या मात्रै होइन अरू थुप्रै अप्रिय घटनाको साक्षी हुनुपर्छ परिवार अनि समाज ।
एक अर्काबीच माया, सम्मान र विश्वास छ भने त सम्बन्धलाई छलफलबाट फेरि पुरानै स्थितिमा ल्याउन सकिएला । तर सम्बन्धमा माया, विश्वास र सम्मान छैन भने के गर्ने ? ‘आज आएर मलाई छोड्नु थियो भने पहिला मलाई किन जीवनभरको सपना देखाइस्,’ भन्ने प्रश्न गर्नुको खासै अर्थ रहँदैन । मन लाग्दा मलाई माया गर्ने, मन लागेन माया नगर्ने भनेर झगडा गर्नुभन्दा जीवनभर असल साथी भएर एकअर्काको नयाँ बाटोमा सहयोगी बन्ने प्रण गरेर जीवनको अर्को पाटोलाई स्वीकार्न सके जीवन फेरि सही मार्गमा आउन सक्छ ।
एक अर्कालाई मन पराएर जोडिने सम्बन्धलाई जसरी नेपाली समाजले सामान्यीकरण गरेको छ त्यसरी नै दुवै व्यक्ति सही हुँदाहुँदै पनि कति सम्बन्धहरू तोडिन सक्छन् भन्ने कुरालाई पनि सामान्यीकरण गर्नुपर्दछ । हामीमा यो चेतना हुनु जरूरी छ कि कतिपय अवस्थामा सबै कुरा सही हुँदाहुँदै पनि सम्बन्धहरू टिक्दैनन् । सम्बन्धमा विश्वासघात होइन स्पष्टता हुनुपर्दछ । चाहे त्यो स्पष्टताले अर्कोलाई केही समयका लागि पीडा देओस् । माया, विश्वास र सम्मान नहुने सम्बन्ध जोगाउनेभन्दा पनि सहजता र सरलताका साथ तोड्नुमा सबैको भलो हुन्छ ।
डिभोर्स, धेरैको लागि, भावनाले भरिएको शब्द हो, चाहे त्यो डर होस्, राहत, चिन्ता वा आशा । कसैलाई ‘म डिभोर्स चाहन्छु’ भन्ने बिन्दुमा पुग्नको लागि अनेकौं भावना, घटनाहरू र चिन्तनहरूको उथलपुथल यात्रा गर्नुपर्दछ । यद्यपि डिभोर्स जीवनको अन्त्य होइन । डिभोर्सलाई सामान्यीकरण गरेर परिवारका सदस्यले पनि उचित सल्लाह दिई श्रीमान–श्रीमतीको सम्बन्धलाई सही समापन या सही दिशा दिन सक्नुपर्छ । डिभोर्सपछि पनि श्रीमान र श्रीमती एकार्काको जीवनका अभिन्न मित्र बन्न सक्छन् । विशेषगरी बच्चाले मिलेर बच्चाहरूको जिम्मेवारी लिन सक्छन् । एकअर्कालाई आर्थिक वा अन्य सहयोग गर्न सक्छन् ।
हलिउड वा बलिउडमा जस्तो डिभोर्सपछि पनि एक अर्काको सबैभन्दा ठूलो शुभेच्छुक हुनु, एकअर्काको जीवनका महत्वपूर्ण पलमा सहभागी हुनु र एकअर्काले छानेको नयाँ जीवन साथीसँग पनि साथी हुने वातावरणको सिर्जना नेपाली समाजका लागि पक्कै पनि टाढाको विषय हो । तर सोच्नुहोस् त, जब जीवन डिभोर्सपछि पनि सामान्य बन्ने वातावरणको सिर्जना हुन्छ, विवाहको बन्धनलाई जोगाउने प्रयास कसैको लागि गलाको फन्दा बन्दैन । सम्बन्ध भनेको सहज होस्, कुनै कुरा भन्न मन लाग्दा सय पटक सोच्नुपर्ने अवस्था नआओस् । यति गरिदिन सक्यो भने मात्र विवाह जीवनभरको विवाद बन्दैन, भनिने र मानिने जस्तै पवित्र हुन्छ । अनि डिभोर्स जीवनको एउटा सामान्य पक्ष ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सबि अधिकारी । दाङ